डा पुष्कर काफ्ले
नेपाल तथा विश्वमै चाडपर्वको बेला मासु तथा खानाका विविध परिकारहरु तयार गरी खाने प्रचलन रहिआएको छ। नेपालमा पनि चाडपर्व भित्रिँदा खानाका विविध परिकार खाने सोखिन नेपालीको जमात बढ्दो छ।
कोभिड-१९ को महामारीमा धेरैले मासुजन्य खानेकुरा कम खानुपर्छ भन्ने मान्यता भए पनि चाडपर्वमा भने यसको खपत अरु समयभन्दा बढी नै हुन्छ।
विशेषगरी नेपालीको महान पर्व दसैंमा मुख्य खानाको रुपमा मासुका परिकारलाई लिइने गरिन्छ। फूलपातीदेखि कोजाग्रत पूर्णिमासम्म १ हप्ताको छोटो समयमा सामान्य दिनहरुमा भन्दा बढी नै मानिसहरु मासुका परिकार खाने गर्छन्। जुन परिकारलाई चपाउन दाँतले प्रमुख भूमिका निर्वाह गर्छ।
पर्वहरुमा धेरै बढी पोलेका मासुका परिकार, धूमपान, मद्यपान साथसाथै एकैपटक लगातार खाइरहँदा दाँत, मुख तथा गिजा सामान्य अवस्थामा भन्दा बढी शिथिल तथा सुख्खा बन्न जान्छन्।
प्रायः नेपाली जनमानसमा दाँत तथा मुखको हेरचाह सम्बन्धी सामान्य जानकारी पनि नभएको हामी पाउँछौं। दाँतमा लामो समयसम्म रेसादार विशेषत: पोलेका तथा सेकुवाको रुपमा खाइने मासुका परिकार राम्रोसँग नपाक्दा एक किसिमले कोच्चिएर दुई दाँतको बीचमा रहिरहने अवस्था पनि धेरै पीडादायी हुन्छ।
मासु तथा खाना लामो समय अड्किरहँदा त्यसले एक किसिमको एसिड (अम्ल) पैदा गर्छ। सो एसिडले दाँतमा क्याल्सियमलाई गलाइदिने र दाँतमा एक किसिमको झन्झनाहट पैदा गरिदिन्छ। अझ यो समस्या लामो समयसम्म भइदिँदा दाँतको पीडा बढ्दै गई दाँत नै उखल्नुपर्ने परिस्थिति निम्तिन सक्छ।
समस्याबाट बच्न के गर्ने?
१) मासुका परिकारलाई राम्रोसँग पकाएर तथा गलाएर मात्र खाने।
२) यदि खाने कुरा अड्किहालेमा त्यसलाई तुरुन्तै निकाल्नको लागि एक किसिमको धागो (डेन्टल फ्लस) को सहायता लिने।
३) दसैंमा धेरै नै टुथ पिकको प्रयोग हुने हुँदा त्यसले गिजा तथा दाँतमा समस्या निम्त्याउने हुनाले सकभर त्यसको प्रयोग नगर्ने।
४) धेरै तातो खानेकुराले मुख भित्रका नरम छालाहरुमा असर गर्ने भएकोले सेलाएर मात्र खाने।
५) चाडपर्वको बेला धेरै मात्रामा धूमपान, मद्यपान सेवन गर्दा मुख सुख्खा हुने हुँदा झोलिलो तथा पानीको अधिक प्रयोग गर्ने।
६) चिसो पेय पदार्थमा एसिडको मात्रा हुने हुनाले त्यसको प्रयोगमा कमी ल्याउने।
७) रातिको खानापछि सधैं ब्रस गर्ने र दिउँसोको हल्का खानापछि कुल्ला गर्ने।
८) ६/६ महिनामा दाँत तथा मुखको नियमित परीक्षण गराउने।