नेपालीको महान पर्व दसैंको प्रमुख दिन अर्थात् विजयादशमी। यतिबेला दसैं मनाउन धेरै नेपाली जन्मथलो गएका छन्। विगतजस्तो आफन्तहरु जम्मा भएर गाउँमा रमाइलो गरी दसैं मनाउने अवस्था छैन तर पनि घरभित्र परिवारका सदस्यहरुबीच दसैं मनाउन घरबाट टाढा गएकाहरु फर्किएका छन्। सबै जना दसैंमा झुम्मिरहेका बेला धेरैजसो स्वास्थ्यकर्मी र सुरक्षाकर्मीहरुले घर जान पाएका छैनन्। कोरोना महामारीका कारण स्वास्थ्यकर्मीहरु उपचारमा खटिनुपर्ने जिम्मेवारीमा छन्। सधैंका वर्ष घरपरिवारसँग हासीखुसी दसैं मनाउने अधिकांश स्वास्थ्यकर्मीहरु यो पटक भने अस्पतालमा संक्रमितको उपचारमा खटिइरहेका छन्। हामीले दसैंमा घर जान नपाएर कोरोना संक्रमितको उपचारमा खटिएका एपिएफ अस्पतालका प्रहरी निरीक्षक डा कमल नेपालसँग कुराकानी गरेका छौं। प्रस्तुत छ, स्वास्थ्यखबरकी सिर्जना खत्री ले गरेको कुराकानी उनकै शब्दमा:
मेरो घर स्याङ्जा हो। म प्रायः दसैंमा घर जाने गर्छु। आमाबुबाको हातबाट टीका–जमरा र आर्शिवाद थाप्न सकेसम्म छुटाउदिनँ। त्यसमा पनि दसैंमा लामो समय भेट नभएका आफन्तसँग भेट हुने र सबैजना सँगै बसेर मिठो खाएर दसैं मनाउनुको आनन्द नै बेग्लै हुन्छ। त्यसैले सबै जना सँगै बसेर रमाइलो गर्ने अवसर पनि हो दसैं।
बाल्यकालको दसैंको मज्जा नै बेग्लै हुन्छ। साथीहरुसँग भेट्ने अनि रमाइलो गर्ने। दसैंमा लामो विद्यालय बिदा हुने भएकाले पनि अझै रमाइलो हुन्छ। जागिरे जीवन सुरु गरिसकेपछि पहिलाजस्तो कहाँ हुन्छ र? जागिरे जीवनका आफ्नै बाध्यता छन्। कहिले बिदा नमिल्ने त कहिले कामकै व्यस्तता। अघिल्ला वर्षहरुमा ड्युटी सिध्याएपछि टीका थाप्न जान घर गइन्थ्यो। यस पटक भने अवस्था फरक छ।
मुलुक कोरोना भाइरस संक्रमणको चपेटामा छ। स्वास्थ्यकर्मीको नाताले जिम्मेवारी झनै बढेको छ। कोरोना विरुद्धको अग्रमोर्चामा लड्नुपर्ने स्वास्थ्यकर्मी र सुरक्षाकर्मीलाई यस पटक विगतजस्तो सजिलो छैन। कोरोना संक्रमितको उपचारमै खटिनुपर्ने जिम्मेवारी हामीलाई छ।
म घटस्थापनाको दिनदेखि १४ दिनसम्म कोरोना संक्रमितको उपचारमा खटिएको छु। योसँगै तीन पटक भइसक्यो संक्रमितको उपचारमा खटिएको। यस पटक मेरो दसैं संक्रमितहरुकै सेवामा समर्पित भएको छ। कोरोनाले गर्दा आफ्नो परिवारसँग बसेर दसैं मनाउन सकिनँ। बाँचियो भने दसैं त अर्को वर्ष पनि आउँछ। तर अहिलेको महत्वपूर्ण कुरा भनेको यो रोगलाई सबै मिलेर पराजित गर्नु हो।
अहिले हामी स्वास्थ्यकर्मीहरु कोरोना संक्रमितको सेवामा खटिएपछि तिथिमिति नै बिर्सने अवस्था भइसक्यो। निरन्तर दिनरात उपचारमा खटिनुपर्ने भएकाले कुन बार कुन दिन भन्ने पनि याद हुँदैन। म घटस्थापनाको दिनमा ड्युटीमा खटिएको हो। दसैंको दसैंको टीकाको दिन आइसकेछ पत्तै भएन।
दैनिक ५/६ घन्टा पिपिई लगाएर बस्नुपर्छ। दैनिक ६ जना चिकित्सक सहित ४० जनाको टिमले पालोपालो ड्युटी गर्छौँ। बिहान ६ बजे वार्डमा छिरेको एकै पटक १२ बजे निस्कनुपर्छ। राति पनि संक्रमितलाई सिसिटिभीबाट निगरानी गरिराख्नु पर्छ। अहिले अस्पतालमा २ सय भन्दा बढी संक्रमित भर्ना भएका छन्। जसमध्ये ५० भन्दा बढी अक्सिजन दिएर उपचाररत छन्।
म स्वास्थ्यकर्मी मात्र नभएर सुरक्षाकर्मी पनि भएकाले जिम्मेवारी पनि दोब्बर नै छ। स्वास्थ्यकर्मी र सुरक्षाकर्मी दुवैको जिम्मेवारी यो महामारीमा महत्वपूर्ण छ। त्यसैले म महामारीका बेला चाडबाडभन्दा पनि मुलुक र नागरिकको सेवामा आफूलाई समर्पित गर्न पाउँदा खुसी छु।
यो हाम्रो जिम्मेवारी हो। यो जिम्मेवारीवोध गर्दै दसैंमा आमाबुबाको हातबाट टीका र आशिर्वाद थाप्न नपाए पनि कुनै गुनासो छैन। त्यसमा पनि हामी स्वास्थ्यकर्मी कोरोना संक्रमितको उपचारमा खटिएका हुन्छौं। यस्तो बेला घरपरिवारलाई भेट्दा कोरोना संक्रमणको जोखिम पनि उत्तिकै हुन्छ। हामी सबै सचेत हुनुपर्ने बेला छ। अझै स्वास्थ्यकर्मीहरु त झनै सचेत हुनुपर्ने समय हो। स्वास्थ्यकर्मीहरु संक्रमणबाट जोगिँदै संक्रमितको उपचारमा खटिनुपर्ने महत्वपूर्ण जिम्मेवारी छ। त्यसैले मैले यस पटकको दसैंमा प्रत्यक्ष परिवारसँगै भेटेर रमाइलो गर्न नपाए पनि फोनबाटै भए पनि आमाबुबाको आशिर्वाद लिनेछु। र, संक्रमितको उपचारमै खटिने छु।
यसरी संक्रमितको उपचारमा खटिँदा जब संक्रमित निको भएर घर जाने बेलामा धन्यवाद दिन्छन् र घर पुगेपछि पनि बेला बेलामा फोन गर्छनन् त्यो बेलामा मनमा आनन्द लाग्छ।
स्वास्थ्यकर्मी होउन् वा सुरक्षाकर्मी, अहिले जोखिमपूर्ण अवस्थामा काम गरिरहेका छौं। दिनरात र घरपरिवार सेवामा खटिरहेका छौं तर सरकारले सुरुमै घोषणा गरेको प्रोत्साहन भत्ता अझै पाएका छैनौं। आफूलाई जोखिममा राखेर काम गरिरहँदा सरकार आफैंले घोषणा गरेको प्रोत्साहन भत्ता नपाउँदा खिन्नता हुँदो रहेछ। यसले काम गर्नेको मनोबल पनि कमजोर हुन्छ। सरकारले यसतर्फ ध्यान दिनु जरुरी छ। तर पनि स्वास्थ्यकर्मी होउन् वा सुरक्षाकर्मी, सबैल आफ्नो जिम्मेवारी इमान्दारितापूर्वक निर्वाह गरिरहेका छन्। आशा गरौं, सरकारले जोखिमपूर्ण अवस्थामा काम गरिरहेका हामीहरुको मिहिनेतको कदर गर्नेछ
स्वास्थ्यकर्मीको एकल प्रयासले मात्रै कोरोना संक्रमण घट्दैन। यसका लागि आमनागरिक बढी जिम्मेवार बन्नु जरुरी छ। म स्वास्थ्यकर्मीको नाताले सबै नागरिकलाई आग्रह गर्छु कि मास्क अनिवार्य प्रयोग गरौं। सरकारले तोकेका स्वास्थ्य मापदण्डको पालना गरौं।