काठमाडौं- राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको मापदण्डअनुसार नै आफूहरूले परीक्षण गरेका पिसिआरका नमुना स्टोर गरिएको स्टार अस्पतालले बताएको छ। आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निर्देशनअनुसार नमुना स्टोर नगरेको भन्दै स्टार अस्पतालसहित ४ प्रयोगशालालाई २४ घण्टे स्पष्टीकरण सोधेपछि अस्पतालले यस्तो बताएको हो।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले जारी गरेको निर्देशिकाअनुसार आफूहरूले सबै नमुना सुरक्षित राखेको प्रबन्ध निर्देशक रुपाखेतीको दाबी छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको निर्देशनअनुसार नोबल कोरोना भाइरस पोजिटिभ देखिएका नमुना एक महिनासम्म र नेगेटिभ देखिएका नमुना ४८ घन्टासम्म भण्डारण गर्ने गरिएको उनको भनाइ छ।
मन्त्रालयले २४ घण्टे स्पष्टीकरण सोधेको सञ्चारमाध्यमबाट जानकारी पाएको भएपनि आधिकारिक पत्र भने आइनसकको अस्पतालका प्रबन्ध निर्देशक शैल रुपाखेतीले जानकारी दिए। मन्त्रालयका प्रवक्ता जागेश्वर गौतममले नेगेटिभ रिपोर्ट आएमा नमुना एक महिनासम्म र पोजेटिभ आएमा ३ महिनासम्म भण्डारण गरेर राख्न निर्देशन दिइएको र सो निर्देशन उल्लंघन गरेको भन्दै स्टारसहित ४ ल्याबलाई २४ घण्टे स्पष्टीकारण सोधिएको बताएका थिए। प्रवक्ता गौतमले २४ घण्टे स्पष्टीकरण सोधिएको जानकारी गराएको नै २७ घण्टाभन्दा बढी भइसकेको छ। तर स्टार ल्याबले भने सरकारले स्पष्टीकरण सोधेको पत्र नै नपाएको बताएको हो।
पिसिआर परीक्षण नै नगरी कोरोना नेगेटिभ भएको रिपोर्ट दिएको भन्ने आरोपसमेत गलत भएको स्टार अस्पतालको भनाइ छ। अस्पतालले नमुना संकलन, परीक्षण सफ्टवेयरमार्फत् हुने भएकोले नमुना परीक्षण नै नगरी रिपोर्ट दिने कुनै सम्भावना नै नरहेको बताएको हो।
अस्पतालमा परीक्षण गरेका नमुना भ्यालिडेसनका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गर्दासमेत उस्तै रिपोर्ट आएको रुपखेतीको भनाइ छ। ‘संसारभर २ देखि ३७ प्रतिशत फल्स रिपोर्ट आउने गरेको विभिन्न अध्यानले देखाएको छ। हामीले दैनिक १० वटा स्याम्पल राष्ट्रिय प्रयोगशाला टेकुमा पठाउँने गरेका छौँ,' रुपाखेती भन्छन्, 'त्यहाँ पनि हाम्रो ल्याबमा देखिएको जस्तै पिसिआर रिपोर्ट आउँछ।’