काठमाडौं- बेलायतमा अवस्थित यूनिभर्सिटी अफ अक्सफोर्डले बायोफर्मास्युटिकल कम्पनी एस्ट्राजेनेकासँगको समन्वयमा निर्माण गरेको भ्याक्सिन निकै प्रभावकारी देखिएको दाबी गरिएको छ। साथै यो भ्याक्सिन विश्वको जुनसुकै स्थानमा पनि स्टोर गर्न सकिने बिबिसीले उल्लेख गरेको छ।
अक्सफोर्ड तथा एस्ट्राजेनेकाले तेस्रो चरणमा गरिएको बृहत् परीक्षणको नतिजाअनुसार उक्त खोप ७० प्रतिशत प्रभावकारी भएको जनाएका छन्। तर परीक्षणको नतिजाले खोपको मात्रामा फेरबदल गरेपछि यसको सफलता ९० प्रतिशतसम्म हुने अनुसन्धानकर्ताहरूले दाबी छ।
यसभन्दा अघि अमेरिकन कम्पनी फाइजर र मोडेर्नाद्वारा निर्मित खोप ९५ प्रतिशत प्रभावकारी देखिएको दाबी गरिएको छ।
फाइजर र मोडेर्नाद्वारा निर्मित भ्याक्सिनलाई राख्नका लागि विशेष स्थान चाहिने र त्यसका लागि सबै ठाउँ उपयुक्त नहुने तर अक्सफोर्डद्वारा बनाइएको यो भ्याक्सिनलाई विश्वको जुनसुकै ठाउँमा राखेर पनि प्रयोग गर्न सकिने कम्पनीले बताएको छ।
अक्सफोर्डले भ्याक्सिन निर्माण गर्नका लागि अन्यको तुलनामा ज्यादा समय लगाएको बिबिसीले जनाएको छ। अक्सफोर्डको खोप केवल ३ पाउन्डमा उपलब्ध हुने बताइएको छ। फाइजरको मूल्य करिब १५ पाउन्ड र मोडेर्नाको २५ पाउन्ड पर्ने बताइएको छ।
अक्सफोर्डको खोप बेलायत र ब्राजिलका २० हजारभन्दा बढी स्वयंसेवकहरूमा परीक्षण गरिएको थियो। कोभिड भएका ३० जनालाई दुई डोज खोप र १ सय १ जनालाई ‘डमी इन्जेक्सन’ दिँदा ७० प्रतिशत काम गरेको अनुसन्धानकर्ताहरूको भनाइ छ।
बेलायती सरकारले १० करोड डोजका लागि पहिले नै माग गरिसकेको छ। कम्पनीले सन् २०२१ भित्र करिब ३ अर्ब डोज खोप उत्पादन गर्ने लक्ष्य राखेको छ।
बेलायतका स्वास्थ्य सचिव म्याट हान्कोकले भने‚ ‘हामी यो समरसम्ममा सामान्यतर्फ फर्कन सक्छौं‚ हामी सबैसँग कोरोनाविरूद्धको भ्याक्सिन प्राप्त नहुन्जेल एकअर्कामा ध्यान दिइरहनुपर्छ।’
‘आजको यो घोषणाले कोरोना भाइरसका कारणबाट हुने सम्भावित जोखिमलाई अन्त्य गर्ने कार्यमा अझ नजिक पुर्यायएको छ‚’ भ्याक्सिन निर्माणकर्ता प्रोफेसर साहा गल्बर्टले भने।
यो भ्याक्सिनले कसरी काम गर्छ?
यूनिभर्सिटी अफ अक्सफोर्डले निर्माण गरेको यस भ्याक्सिनलाई भाइरल भेक्टर भ्याक्सिनका रूपमा पनि बुझिएको छ। यो भ्याक्सिनले मानव शरीरभित्र इस्पाइक प्रोटिनले इम्युन सिस्टम बलियो बनाउन सहयोग गर्ने किसिमको हुन्छ।