काठमाडौं- कोभिड–१९ को सङ्क्रमणबाट अहिलेसम्म पाँच जना केन्द्रीय मन्त्री प्रभावित भएका छन्। स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालका अनुसार एक प्रदेश प्रमुख र दुई प्रदेश मुख्यमन्त्री कोरोना संक्रमणबाट निको भएका छन्।
कोभिड–१९ बाट हालसम्म ३० जनाभन्दा बढी सङ्घीय सांसद तथा केही प्रदेशमन्त्री, प्रदेशसभा सदस्य, नगर तथा गाउँपालिकाका प्रमुखसहितका जनप्रतिनिधि पनि कोरोनाबाट प्रभावित भइसकेका छन्।
संवैधानिक अङ्गका पदाधिकारी मात्र होइन नेपाल सरकारका मुख्यसचिव समेतले कोभिड–१९ को सङ्क्रमणको जोखिम व्यहोरिसकेका छन्।
नेपाली सेनामा उपरथि र प्रहरीमा प्रहरी नायब महानिरीक्षकसम्म सङ्क्रमित भइसकेका छन्।
सङ्क्रमितमध्ये ८० प्रतिशतभन्दा बढीलाई रोगको लक्षण नदेखिने चिकित्सको भनाइ छ। सङ्क्रमितमध्ये १५ प्रतिशतमा केही कडा लक्षण देखिने गरेको छ भने पाँच प्रतिशतले आइसीयू तथा भेन्टिलेटर प्रयोग गर्नपर्ने हुनसक्ने अनुमान गरिएको छ।
तुलनात्मकरूपमा गर्मीको तुलनामा चिसो मौसममा कोभिड–१९ को सङ्क्रमण बढ्छ भन्ने केहीमा मनोविज्ञान रहे पनि त्यो सही नभएको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताए।
अहिले देखिरहेको प्रभावका आधारमा आगामी चार महिनामा बढीमा एक लाख ४५ हजार व्यक्ति थप सङ्क्रमण हुनसक्छन् भन्ने अनुमान गरी सुझबुझका साथ तयारीलाई व्यवस्थित गरिएको मन्त्रालयले जनाएको छ।
मन्त्री ढकालले भने, 'कुनै राजनीतिक दल, लिङ्ग, जाति, तहतप्का, भूगोल र समुदाय विशेष भनेर नछुट्याउने साझा शत्रुका रूपमा रहेकाले कोरोनाविरुद्ध साझा मोर्चा निर्माण गरी यसमाथि विजय प्राप्त गर्नु आजको आवश्यकता हो।' रासस