काठमाडौं- देशभर लक्षण भएका कोरोना संक्रमितको संख्या बढेसँगै आइसियुमा र भेन्टिलेटरमा उपचार गर्नेको संख्या पनि बढ्न थालेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ३ सय ६८ जना कोरोना संक्रमित विभिन्न अस्पतालको आइसियु÷र भेन्टिलेटरमा उपचाररत छन्।
मन्त्रालयको तथ्यांक अनुसार ५५ जना भेन्टिलेटरमा र ३ सय १३ जना संक्रमित आइसियुमा उपचाररत रहेका छन्।
आइसियुमा रहेका संक्रमितको संख्या सबैभन्दा बढी बागमती प्रदेशमा १२५ जना आइसियु र ३१ जना भेन्टिलेटर, लुम्बिनी प्रदेशमा ६४ जना आइसियु र ५ जना भेन्टिलेटरमा, प्रदेश १ मा २६ जना आइसियु र ६ जना भेन्टिलेटरमा र प्रदेश २ मा ९ आइसियु र ३ जना भेन्टिलेटरमा उपचाररत रहेको मन्त्रालयले जनाएको छ।
त्यस्तै सुदुरपश्चिममा ७ आइसियु र २ जना भेन्टिलेटरमा, गण्डकी प्रदेशमा ७२ आइसियु र ८ जना भेन्टिलेटरमा र कर्णाली प्रदेशमा १० आइसियु उपचाररत रहेका छन्।
यसअघि शनिबार ३ सय ५७ जना संक्रमित आइसियु÷भेन्टिलेटरमा उपचाररत रहेका थिए।
नेपालमा २ लाख ४० हजार ९ सय ८१ जना मानिस कोरोना भाइरसबाट संक्रमित भएका छन्। जसमध्ये २ लाख २५ हजार ८ सय ५ जना निको भएर घर फर्किसकेका छन् भने १ हजार ५ सय ९४ जनाको मृत्यु भएको छ।