- केपी शर्मा ओली
विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड १९ को संक्रमणले मानव अधिकारको उपभोगमा चुनौती थपिदिएको छ। यसले बाँच्न पाउने हक पहिलो हक हो भन्ने कुरा पुन पुष्टि गरेको छ।
नेपाल सरकार प्रदेश सरकार र स्थानीय तहले आफ्नो स्रोत साधन र क्षमताको अधिकतम उपयोग गरि यसको रोकथाम नियन्त्रण र उपचारमा दत्तचित्च रही कार्य गरिरहेको कुरा सबै नेपाली दाजुभाई तथा दिदीबहिनीहरुमा अवगत नै छ। पूरै अनुभव शून्यताको अवस्थाबाट हामीले यसको रोकथाम नियन्त्रण र उपचारको काम सुरु गरेका हौं।
एउटा पनि परीक्षण नगर्ने अवस्थाबाट आज हामी एकैदिन हजारौंको संख्यामा परीक्षण गर्न सक्ने अवस्थामा आइपुगेका छौं। स्वास्थ्य पूर्वाधारमा ऐतिहासिक बढोत्तरी गरिएको छ। सबै स्थानीय तहमा अस्पताल निर्माण गर्ने काम प्रारम्भ भइसकेको छ।
नेपाल सरकारले यो वर्ष ३९६ स्थानीय तहमा ५ १० र १५ शय्याका आधारभुत अस्पताल र सातवटै प्रदेशमा सरुवा रोग अस्पतालको निर्माण प्रारम्भ गर्ने लक्ष्य अनुरुप एकै दिन ३०९ स्थानीय तहमा आधारभुत अस्पताल र तीन वटा प्रदेशमा सरुवा रोग अस्पताल निर्माणको काम प्रारम्भ भइसकेको छ।
यी सबै प्रयासहरुबाट नेपालमा कोभिड १९ को महामारीलाई नियन्त्रणभन्दा बाहिर जानबाट रोक्न हामी सफल भएका छौं। यसमा लकडाउन देखिनै आम जनसमुदायको असाधारण सहयोग रहि आएको छ।
यस महामारीको जोखिम यसको खोपको उपलब्धता नभएसम्म कायमै रहने भएकाले यसअवसरमा सबै दिदीबहिनी तथा दाजुभाईहरुमा स्वास्थ्य सुरक्षाका मापदण्ड अनुशासित रुपमा पालना गर्न हार्दिक अपिल गर्दछु। कोभिड १९ को खोपको शिघ्र उपलब्धता सुनिश्चित गर्न र सबै नागरिकको पहुँचमा पुर्याउन नेपाल सरकारले आवश्यक गृहकार्य गरिरहेको छ।
-(विश्व मानव अधिकार दिवसका अवसरमा बिहीबार प्रधानमन्त्री ओलीले व्यक्त गरेको धारणा)