काठमाडौं- एक वर्षअघि चीनको वुहानमा कोरोना भाइरसको संक्रमण देखिँदा बाँकी विश्व आफ्नै धुनमा थियो। कोरोनाले चीनको सीमा नाघ्दै विश्वव्यापी महामारीको रुप लिन्छ भन्ने अनुमान पनि धेरैको थिएन। हुन पनि चीनमा डिसेम्बरसम्म कोरोनाले महामारीको रुप लिइसक्दा बाँकी विश्व यसबाट टाढै थियो। तर यो अवस्था लामो समय रहेन।
नयाँ वर्ष सन् २०२० को सुरुवातसँगै कोरोना संक्रमण विभिन्न देशमा देखिन थाल्यो। केही समयमै कोरोनाले विश्व नै आक्रान्त हुन पुग्यो। कोरोना विश्वव्यापी महामारीको रुप लिइसकेपछि पनि धेरैको बुझाइ थियो, यसको प्रभाव लामो समय रहँदैन। त्यसैले कोरोना फैलिन नदिन विश्वका अधिकांश देशले महिनौं लामो कडा लकडाउन गरे। पटकपटक लकडाउन गरिए पनि कोरोना अझै नियन्त्रणमा आइसकेको छैन।
यसको ज्वलन्त उदाहरण नेपाल पनि हो। चैत ११ गतेदेखि कडा लकडाउन गरिए पनि नेपालमा संक्रमितको संख्या कम हुनुको साटो निरन्तर उकालो लाग्दै गएको छ। अहिले लकडाउन हटेसँगै कोरोना संक्रमणको दर बढ्दै गएको छ। कोरोनाको संक्रमण कहिलेसम्म रहन्छ, अहिले नै अनुमान लगाउन सहज छैन।
नेपाल सशस्त्र प्रहरी बल अस्पतालकी नर्सिङ इन्चार्ज प्रहरी निरीक्षक सुमित्रा थापालाई पनि कोरोना भाइरस सार्सजस्तै केही महिनामा हराएर जान्छ भन्ने लागेको थियो।
‘चीनको वुहानबाट सुरु भएको कोरोना सार्स जस्तै केही महिनामा हराउँछ जस्तो लागेको थियो,’ उनी भन्छिन्, ‘तर विस्तारै विश्वव्यापी महामारीको रुप लिँदै गएपछि भने यसले सबैतिर त्रास उत्पन्न गरायो।’
विश्वभर नै संक्रमण फैलिँदै गएपछि सबैजसो देशले कोरोना नियन्त्रणका लागि तयारी सुरु गरे। नेपाल सरकारले पनि कोरोना नियन्त्रण गर्न भन्दै सम्पूर्ण सरकारी अस्पताल तयारी अवस्थामा राख्न आदेश दियो भने नेपाल प्रवेश गर्ने सबै नाकामा आवतजावतमा कडाइ गर्यो।
कोरोना संक्रमितको उपचारका लागि तयारी अवस्थामा रहेका सरकारी अस्पतालमध्येको एक हो, बलम्बुस्थित एपिएफ अस्पताल। एपिएफ अस्पतालले वैशाख महिनाबाटै कोरोना संक्रमितको उपचारका लागि तयारी सुरु गरेको थियो। अस्पतालले छुट्टै आइसोलेसन वार्ड बनाउनुका साथै कोरोनाबाट कसरी सुरक्षित रहेर संक्रमितको उपचार गर्ने भन्नेबारे आफ्ना कर्मचारीलाई तालिम दिएको थियो। र, सोही अनुसार कर्मचारीलाई जिम्मेवारी पनि दिइयो।
अस्पतालकी नर्सिङ इन्चार्ज सुमित्राले कोभिड वार्डको जिम्मेवारी पाइन्। सुमित्रालाई ड्युटीमा खटिनुको चिन्ताभन्दा आफ्नो ९ वर्षीय छोराको चिन्ता लाग्यो। ‘विश्वमा थुप्रै स्वास्थ्यकर्मीको कोरोना संक्रमणबाट मृत्यु भएको सुनेकी थिएँ। कोरोनाको उपचारमा खटिएकी मलाई केही भयो भने सानो छोरोलाई के होला भन्ने चिन्ता हुन थाल्यो,’ उनले सुरुवाती दिन सम्झिइन्।
कोरोना संक्रमितको उपचारमा खटिएका स्वास्थ्यकर्मी, कर्मचारीलाई १४ दिनसम्म निरन्तर ड्युटी गर्नुपर्ने समय निर्धारण गरिएको थियो। त्यसैले लामो समय अस्पतालमै बसेर काम गर्दा उनले छोरोलाई निकै ‘मिस’ गरिन्। ‘छोरोलाई माइत छोडेर काममा आएँ। म आउँदा छोरो रोयो। पहिलो पटक छोरोलाई छोडेर आउँदा मलाई पनि निकै गाह्रो महसुस भयो। मेरा आँखा रसाए,’ उनले भनिन्, ‘छोराले मेरो खोजी नगरोस् भनेर अस्पतालबाटै काम गरेको भिडियो बनाएर पठाउँथे।’
हुन त अस्पतालले कोरोनाबाट जोगिएर उपचार गर्नेबारे तालिम नै दिएको थियो। तर नयाँ रोग अनि विश्वमा ठूलो संख्यामा संक्रमणबाट मृत्युका खबरले सुमित्राको मनमा पनि डरले डेरा जमायो। तर उनले डरलाई भित्रै लुकाइन् र आफ्नो टिमलाई काम गर्न निरन्तर प्रोत्साहन गरिरहिन्।
‘म आफैं इन्चार्जको भूमिकामा अनि म नै डराएपछि अरुलाई कसरी काम लगाउनु ?,’ उनले कोरोना संक्रमितको उपचारमा खटिँदाको अनुभव सुनाइन्, ‘भित्रभित्रै निकै डर लागे पनि बाहिर देखाइनँ। र, टिमलाई पनि निःस्वार्थ सेवा गर्ने मानिसलाई भगवानले हेर्छन्, डराउनुपर्दैन भनेर ढाडस दिएँ।’
किनभने, त्यो बेलामा आफ्नो मनोबल उच्च बनाएर सम्पूर्ण टिमको मनोबल बढाउने जिम्मा सुमित्राको काँधमा थियो। ‘सुरुवाती चरणमा लक्षण नभएका संक्रमितहरु भर्ना भएका थिए। उहाँहरुको स्वास्थ्य अवस्था सामान्य नै हुन्थ्यो तर नयाँ रोग भएकोले निकै डर लाग्थ्यो। इन्चार्ज भएको नाताले सबैलाई हौसला प्रदान गर्न आफैं अगाडि वार्डमा छिर्थें,’ पहिलो पटक कोरोना वार्डको अनुभव सुनाइन् उनले।
कोरोना संक्रमितको उपचारमा खटिएको पनि महिनौं बितिसकेको छ। पछिल्ला दिनमा लक्षण भएका संक्रमित भर्ना हुन थालेका छन्। र, स्वास्थ्यकर्मीहरु भित्रको डर पनि हट्दै गएको छ। तर अधिकांश संक्रमितलाई अक्सिजन दिनुपर्ने र बेलाबेलामा श्वास फेर्न गाह्रो हुने, खोकी लागेर संक्रमितहरु छटपटाएको देख्दा भने उनलाई पीडा महसुस हुन्छ। उनी भन्छिन्, ‘यति गाह्रो कसैलाई पनि नभए पनि हुन्थ्यो जस्तो लाग्छ।’
टिमको हौसला बढाइराख्न उनी सबै जनालाई सँगै राखेर अर्काे दिन के गर्ने ? को–को ड्युटीमा जाने भनेर छलफल गर्थिन्। १४ दिन ड्युटीमा खटिएपछि ७ दिन क्वारेन्टाइनमा बसेर घर जान पाउने व्यवस्था गरिएको थियो। दसैंको बेलामा पनि सुमित्राले १४ दिनसम्म अस्पतालमा बसेर कोभिड संक्रमितको सेवा गरिन्। अहिलेसम्म उनी तीन पटक संक्रमितको सेवामा खटिइसकेकी छन्।
सुरुमा संक्रमितको उपचार गर्न डराएकी सुमित्रालाई अहिले भने आफूले पुण्य कमाएको महसुस हुन्छ। विषम परिस्थितिमा बिरामीको सेवा गर्न पाउनुलाई उनी आफ्नो ठूलो धर्म ठान्छिन्। ‘मन्दिरको पुजारीजस्तै नर्सहरु पनि अस्पतालका पुजारी हुन्। आफ्नो जीवनलाई दाउमा राखेर उपचारमा खटिने नर्सहरु पुण्य कमाउन मन्दिर धाउनु पर्छ जस्तो लाग्दैन मलाई अचेल।’
मान्छेहरु सामान्य स्वास्थ्य सजगता नपनाउँदा कोरोना संक्रमण बढ्दै गएको उनको बुझाइ छ। कोरोनालाई सामान्य सम्झिने र मास्क समेत नलगाउने प्रवृत्तिले घरमा बसेका वृद्धवृद्धाहरु पनि संक्रमित हुन पुगेको उनी बताउँछिन्। ‘बाहिर ननिस्कने वृद्धहरु संक्रमण भएर अस्पतालमा भर्ना भएर छटपटाएको देख्दा निकै दुःख लाग्छ,’ उनी भन्छिन्, ‘घरका अरु सदस्यहरुको हेलचेक्र्याइँले घरमै बस्नेहरु पनि संक्रमित हुन पुगेका छन्।’
सरकारी तथ्यांक अनुसार नेपालमै कोरोना संक्रमणबाट एक हजारभन्दा बढीको ज्यान गइसकेको छ। तर पनि कोरोनालाई सामान्य रुपमा लिने प्रवृत्ति बढ्दै गएकै कारण संक्रमित पनि बढ्दै गएको उनी दावी गर्छिन्। ‘जसलाई कोरोना लागेको छ। जसले आफन्त गुमाएका छन्, उनीहरु मात्रै कोरोना कति खतरनाक छ भनेर अनुमान गर्न सक्छन्। अन्य मानिसले कोरोनालाई बेवास्ता गरेर हिँडिरहेका छन्।’
भक्तपुर नलिन्चोकमा जन्मिएकी सुमित्रालाई सानैदेखि अरुलाई सहयोग गर्न पाउँदा खुसी अनुभूति हुन्थ्यो। छोरीको सहयोगी भाव देखेर नै उनका बुबाले नर्स पढ्ने सल्लाह दिएका थिए।
उनले हिमालयन नर्सिङ क्याम्पसमा २०६२ सालमा ३ वर्षे नर्सिङको पढाइ पूरा गरिन्। पढाइ सकिएकै वर्ष उनले सशस्त्र प्रहरी बल अस्पतालमा काम सुरु गरिन्। सिकिस्त बिरामीलाई उपचारपछि निको भएर घर पठाउन पाउँदा निकै खुसी लाग्ने उनी बताउँछिन्। ‘त्यो बेलामा आफ्नो पेसाप्रति गर्व लाग्छ। उहाँहरुले खुसी हुँदै घर जाने बेलामा धन्यवाद भन्नुभयो भने त मन नै हर्षित हुन्छ,’ उनले खुसी हुँदै भनिन्।
तर, कुनै बेला बिरामीका आफन्तको किचकिच गर्ने शैली र जति सेवा गर्दा पनि नदेख्ने बानीले भने उनको मन दुख्छ।
सशस्त्र प्रहरी बलबाट लाइबेरियामा शान्ति स्थापना कार्यमा सहभागी भइसकेकी सुमित्रा आफ्नो पीडा लुकाएर अरुको पीडामा मल्हम लगाउने पेसा भएकाले नर्सिङ पेसामा निकै रमाएकी छिन्।