सामान्यतया हिडिरहेको मानिस वा सामान्य अवस्थामा रहेको मानिस अचानक बेहोस भयो, एउटा पाटो नचल्ने भयो, बेस्सरी टाउको दुख्ने भयो भने उसलाई ब्रेन हेमरेज भएको हुन सक्छ। ब्रेन हेमरेजलाई अर्को शब्दमा ब्रेन एट्याक पनि भनिन्छ। यसको प्रमुख कारण ब्रेनको आर्टरी नसा फुटेर मष्तिस्कमा रक्तश्राव हुनु हो। यस्तो रक्तश्रावले ब्रेनको कोषहरुलाई नष्ट गर्ने गर्दछ। ग्रिक भाषामा रगतलाई हेमो भनिन्छ। ब्रेन हेमरेजलाई सेरेव्रल हेमरेज, इन्ट्राक्रानिएल हेमरेज वा इन्ट्रासेरेव्रल हेमरेज पनि भनिन्छ। ब्रेन हेमरेजले पुरा स्ट्रोक अर्थात ‘ब्रेन एट्याक’को २३ प्रतिशत ओगट्छ। तर हाम्रो देशमा यसको प्रतिशत बढी छ।
ब्रेन हेमरेज हुँदा ५० प्रतिशत मानिसको मृत्यु तुरून्तै हुन्छ भने ५० प्रतिशत अस्पताल आइपुग्छन् र अस्पताल आइपुगेका मध्ये ५० प्रतिशतलाई बचाउँन सकिन्छ। यो संख्या कूल बे्रन हेमरेज हुने सख्याको २५ प्रतिशत हो। बाँच्न सफल भएकहरूको पनि ५० प्रतिशत कुनै भाग वा पाटो प्यारालाइसिस (पक्षघात) हुन्छ।
ब्रेन हेमरेजको कारणमा अस्वस्थकर जीवनशैली नै मानिन्छ। जसमा धुम्रपान, मोटोपन, मधुमेह, उच्चरक्तचाप, कोलेस्टेरल, मानसिक तनाव, बढी चिल्लो नुनिलो र तारेको खानेकुराको प्रयोग, व्यायामको अभाव आदि पर्दछन्। यि मध्येमा नेपालमा सबैभन्दा बढी देखिने उच्च रक्तचापको कारण हो। उच्च रक्तचापको औषधि सेबन गरेर बिचमै छाड्नेहरुमा ९० प्रतिशत ब्रेन हेमरेज भएको देखिन्छ। आजभोलि यसलाई गरीव देशमा देखिने रोग भन्न थालिएको छ। विकसित देशमा रक्तचापको औषधि नियमित खान्छन र प्रेसरलाई कन्ट्रोलमा राख्छन। तर हाम्रो जस्तो अविकसित देशका जनताले चिकित्सकको सल्लाह विनै आफुखुसी औषधि पसलमा गई औषधि लिने र खाने चलन छ। उच्च रक्तचापको औषधि एक पटक खान शुरु गरेपछि जीवनभर नै खानु पर्छ तर कन्ट्रोल भयो भनेर बिचमै छाड्नाले ब्रेन हेमरेज हुने सम्भावना बढी हुन्छ।
उच्च रक्तचापको औषधि अचानक विचमै छाड्नाले आर्टरीमा हुने रगतको बहावमा असर गर्छ र नसा फुट्छ। उच्च रक्तचापको औषधि शुरु गर्नुभन्दा अगाडि एकै समयमा एकै व्यक्तिले एउटै मेसिनवाट तीन पटक नाप्दा पनि उच्च रक्तचाप देखिएमा मात्र औषधि खाने निर्णमा पुग्नु पर्छ। उच्च रक्तचाप नाप्ने उपयुक्त समय विहानको हो। सामान्यतया प्रेसर १४०/९० भन्दा बढी भएमा उच्च रक्तचाप भएको मानिन्छ।
ब्रेन हेमरेजका अरु कारणहरु पनि छन्। जसमा मष्तिस्क भित्रको नसाको खराविको कारणले नसा फुट्नु हो। अर्को कारण एन्युरिजम हो। यसमा नसाको कुनै स्थान फुलेर फुट्ने गर्दछ। अर्को एभिएम अर्थात ‘आर्टेरीयो भेनस माल्फरमेसन’ हुन्छ। यो भनेको सिधा जानु पर्ने नसा कुनै स्थानमा जेलिएर वस्छ र त्यही स्थान कमजोर हुने भएकाले फुट्न पुग्छ।
ब्रेन हेमरेज हृदयाघात भन्दा पनि खतरा हुन्छ। तर नेपालमा ब्रेन हेमरेजको चर्चा सुनिदैन। हृदयाघातमा मानिस की बाँच्छ कि मर्छ तर ब्रेन हेमरेजमा बाँच्यो भने एउटा न एउटा खोट रहने सम्भावना बडी हुन्छ। जसमा पक्षघात हुने, वोल्न नसक्ने, लाटो हुने, आँखाको ज्योति गुम्ने, स्मरणशक्ति हराउने, सुस्तमनस्थिति हुने जस्ता गम्भिर समस्या हुन्छ। र त्यसै समस्यालाई झेलेर बिरामी र उसका परीवारले जीवन विताउनु पर्ने हुन्छ। बिरामी धेरै जसो अरुमा आस्रित जीवन बिताउनु पर्ने वा पुरानो काममा फर्कन नसक्ने हुन्छ। त्यसैले यसबारेमा समयमा नै सचेत रहनु पर्छ। हृदयघात गराउँने कारणहरू नै ब्रेन हेमरेजका कारण पनि हुन्।
ब्रेन हेमरेजको लक्षण
अकस्मत अत्याधिक टाउको दुख्ने
पाखुरा र खुट्टा कमजोर हुनु (चलाउन पनि नसक्नु)
आँखाको दृष्टिमा परीवर्तन आउनु
अकस्मत वान्ता हुनु
वोल्न नसक्नु वा अरुले वोलेको नबुझ्नु
निल्नलाई समस्या
पढ्न, लेख्न गाह्रो हुनु
सवारी साधन चलाउन नसक्नु
अचेत हुनु, मुर्छा पर्नु
असामान्य वन्नु
ब्रेनमा रक्तश्राव हुने कारण
टाउकोको चोटपटक
उच्च रक्तचाप
एन्युरिजम (रगतको नसा फुलेर फुट्ने)
नसा कमजोर हुनु
कलेजो रोग
ब्रेन ट्युमर
अनियन्त्रित रक्तश्राव
कारण
उच्चरक्तचाप
डायवेटिज
मेनोपोज (रजनोवृत्ति)
धुम्रपान
मद्यपान
नेपालमा ब्रेन हेमरेजको पहिचान दर बढी रहेको छ। पहिला पहिला प्यारालाइसिस भयो भन्थे चुप लाग्दथे। तर आजकाल जनचेतनाका कारण अस्पताल आउनेको संख्यामा वृद्धि भैरहेको छ। जसका कारण मृत्युदरमा कमी आइरहेको छ। ब्रेन हेमरेज भैसकेपछि मष्तिस्कमा भएको रगतलाई अप्रेसन गरेर निकालिन्छ। सामान्यतया ३० एमएल भन्दा बढी रगत भएमा अप्रेसन गरी निकालिन्छ। रगत निकाल्ने काम अत्याधुनिक प्रविधिको सहयोगमा सानो प्वालपारी तान्ने गरिन्छ। अथवा पुरै टाउको खोलेर पनि गरीन्छ। एनोरीजम हेमरेजमा फुलेको नसामा क्लिप गरीन्छ। एभिएममा जेलिएका नसा नै झिकेर फालिन्छ।
सामान्यतया यो रोग ५० वर्ष माथिका मानिसलाई हुने सम्भावान बढी हुन्छ। तर अहिले त्यो भन्दा कम उमेरकालाई पनि यो समस्या देखिन थालेको छ। समयमै परीक्षण गर्नाले विकसित देशमा यो रोगको दर घटेको छ। जापानमा ५० वर्ष माथिकालाई सरकारले नै दिमागको एमआर एन्जियोग्राफी गर्नुपर्छ भनेको छ। जापानले अभियाननै चलाएर एमआरए गर्न पर्छ भन्ने जानकारी दियो। एमआरए भनेको दिमागको सवै नसा हेर्ने प्रविधि हो। त्यसो गर्दा हेमरेज हुनो सम्भाना पहिले नै पत्ता लाग्छ र रोक्न सकिन्छ। जापानले गरेको कामलाई अहिले अमेरीकाले पनि फलो गरिरहेको छ। त्यसकारण अब नेपालमा पनि एक पटक ब्रेन चेकअप गर्ने कार्यको शुरुवात गर्नुपर्छ। ५० वर्ष माथिका सबै मानिसलाई एक पटक ब्रेनको एमआरए गर्न आग्रह गर्दछु। यसो गर्नाले ब्रेन हेमरेजवाट हुने मृत्युदर कम गर्न सकिन्छ।
डा.वसन्त पन्त, बरिष्ठ न्यूरो सर्जन, अन्नपूर्ण न्यूरो अस्पताल