गर्भमै शिशुको मृत्यु हुने घटनामा वृद्धि भएको कुरा धेरै बाहिर आउन थालेका छन्। यो गर्भावस्थामा हुनसक्ने घटना हो। तर कतिपय अवस्थामा गर्भवती महिला एवं तीनका आफन्त तथा गर्भ जाँचमा सहभागी स्वास्थ्यकर्मीले समयमै सजगता देखाउन सके मृत्युमा कमी ल्याउन सकिन्छ। दुई वर्षअघि म इमर्जेन्सी अर्थात् चौबीस घण्टे रात्रीकालीन ड्युटीमा थिएँ। त्यो दिन साँझ राउण्ड लिने बेलामा पहिलो पटक गर्भवती भएकी महिला गर्भ भित्र शिशुको मृत्यु भएको समस्या लिएर भर्ना भएकी रहिछन्। पुराना सबै रिपोर्टहरु हेरेपछि आवश्यक रगत जाँच गर्न लगाएँ।
बच्चा आउने बाटो ठिक लागेको कारण व्यथा शुरु हुने औषधि राख्नको लागि भनें। म सुत्केरी कक्षबाट निस्केको आधा घण्टा पछि विरामीको आफन्तले अस्पतालको हेलचक्रयाईंले यस्तो समस्या उब्जिएको भनेर गुनासो गर्न लागेछन्। म सुत्केरी कक्षमा फेरि गएँ। लामो समय लगाएर सबै कुरा बुझाएँ। तर पनि विरामीका आफन्तले उक्त दिन अस्पताल आईपुगेर पनि ओपिडीबाट भर्ना राख्न डेढ घण्टा जति ढिलो गर्यो भन्ने नयाँ बखेडा झिके। राउण्डको बेला सोधपुछका क्रममा उक्त गर्भवती महिलाले अघिल्लो दिनदेखि नै बच्चा नचलेको कुरा मलाई भनिसकेकी थिइन्। आफन्तले गाली गर्ला की भनेर उनले यो कुरा गोप्य राखेकी थिईन्। यसै कुराको आधारमा मानेर उक्त शिशुको मृत्यु भएको २४ घण्टा भन्दा बढी भैसकेको छ भनेर मैले विरामी पक्षलाई चुनौती नै दिनुपर्यो। उनीहरुले चाहेमा मृत शिशु जन्मेपछि पोष्टमार्टम गराएर शिशु मृत्यु भएको मोटामोटी अवधि निकाल्न सकिन्छ भनें।
एकाध घण्टामै जन्मिएको उक्त मृत शिशुको छाला ठाउँ ठाउँमा ताछिएको जस्तो देखिन्थ्यो। यसबाट उक्त शिशुको मृत्यु भएको २४ घण्टा भन्दा बढी भएको प्रमाणित हुन्थ्यो। पछि विरामीको आफन्तले केही भन्ने ठाउँ रहेन। यो घटनाको मूल आशय के हो भने, स्वास्थ्यकर्मीबाट वा अस्पतालबाट नियमित गर्भ जाँच गराउँदैमा सधैंभरी स्वस्थ बच्चा जन्मन्छ नै भन्ने पूर्ण ग्यारेण्टी हुँदैन र माथि उल्लेखित अप्रिय घटनाबाट बच्न हरेक गर्भवती महिलाले गर्भावस्थाको ६, ७ महिनादेखि नै गर्भे शिशु राम्ररी चलेको छ छैन हेक्का राख्नु पर्दछ। शंका लाग्ने बित्तिकै स्वास्थ्यकर्मीको सल्लाह लिन जानु पर्दछ।
गर्भ भित्रै शिशुको मृत्यु हुने यस्तै खाले समस्यालाई मध्यनजरगरी केही वर्ष अगाडिदेखि धुलिखेल अस्पतालमा छुट्टै प्रोटोकल अपनाइरहेका छौं। यस प्रोटोकल अनुसार कुनैपनि गर्भवती महिलालाई गर्भावस्थाको ७ महिनापछि बच्चा कम चलेको भान भएमा भिडियो एक्सरे, रगतको जाँच एवं बच्चाको स्वास्थ्य अवस्थिति सम्बन्धी परीक्षण गरिन्छ।
सबै रिपोर्ट सामान्य छ भने त्यस्तो महिलालाई बच्चा पाउने तिथिसम्म नपर्खी अर्थात् गर्भावस्थाको ३८ हप्ता पुग्नासाथ योनीद्वारमा व्यथा लाग्ने औषधि राखी सुत्केरी गराइन्छ। सुत्केरी व्यथा बढ्दै जाँदा कतिपय गर्भे शिशुको मुटुको चाल तल माथि हुनसक्छ भने कतिपय गर्भवती महिलाको पाठेघरको मुख नखुल्ने समस्या देखिन्छ। यस्तो अवस्थामा तुरुन्तै सिजेरियन अपरेशन गर्नुपर्छ। समग्रमा यस प्रोटोकल अपनाएर धुलिखेल अस्पतालले राम्रो नतिजा देखाएको छ।
गर्भे शिशुको मृत्यु किन?
गर्भावस्थामा वा प्रसुती व्यथाको दौरान मृत अवस्थामा रहेको शिशुलाई मृत शिशु मानिन्छ। विकासोन्मुख देशमा २८ हप्ता भन्दा पछिको अवधिमा जन्मिने यस्तै खाले शिशुलाई मृत शिशु मानिन्छ। किनकि २८ हप्ता भन्दा अगाडिको यस्तो समस्यालाई गर्भ तुहिएको मानिन्छ। गर्भे शिशुको मृत्यु गर्भवती महिला, साल तथा गर्भे शिशुसँग सम्बन्धित हुनसक्छ। कुनै कारणवश सालमा वा सालबाट रगत प्रवाह नपुगे अप्रत्याशित रुपमा गर्भे शिशुको मृत्यु हुन्छ। तर २५ देखि ३५ प्रतिशत महिलामा बिना कारण पनि यस्तो समस्या देखिन्छ।
गर्भवती महिलामा उच्च रक्तचापजन्य समस्या, अनियन्त्रित मधुमेह, गम्भीर खालको रक्तअल्पता, उच्च ज्वरो, तराई क्षेत्रमा औलो, इन्सेफलाइटिसका कारण गर्भे शिशुको मृत्युको मृत्यु हुन्छ। यसैगरी पाठेघरमा साल ठाउँमा नबसेर वा समय अगावै साल छुट्टिएर सुत्केरीपूर्व योनीद्वारबाट रगत देखा पर्यो भने पनि गर्भे शिशुको मृत्यु हुनसक्छ। गर्भवती महिलामा हेपाटाइटिस, पोलियो, हर्पिस, इन्फ्लुएञ्जा, हाँडेज्वरो, टोक्सोप्लाज्मोसिस लगायतका विभिन्न खाले संक्रमण तथा रगतजन्य विकार छ भने पनि गर्भे शिशुको मृत्युको कारण हो। दम्पत्तिबीच रगत समूह नमिल्दा पनि दोश्रो पटकको गर्भदेखि यस्तो समस्या उब्जिन्छ।
गर्भे शिशुमा वंशाणुअंश (क्रोमोजोम) मा खराबी, रूवेला, साइटोमेगालोभाइरस तथा पार्वोभाइरस नामका भाइरलजन्य संक्रमणबाट अकालमा गर्भे शिशुको मृत्यु हुनसक्छ। यस बाहेक स्वास्थ्यकर्मीले पेट बाहिरबाटै पाठेघरमा गर्भे शिशुको बसाई परिवर्तन गर्न खोज्दा, बच्चा पाउनु पर्ने समय सीमा नाघ्दा र कतिपय औषधी सेवनले पनि गर्भे शिशुको मृत्यु हुनसक्छ। करिब ८ प्रतिशत महिलामा भने यो समस्या दोहोरिन सक्छ। दम्पती बीच अमिल्दो रगत समूह, गर्भवती महिलामा मधुमेह, भिरिङ्गी, रगतजन्य विकार, जीर्ण खालको मृर्गौलाको समस्या तथा गर्भे शिशुमा वंशाणुअंशमा खराबी छ भने यस्तो समस्या दोहोरिन सक्छ।
गर्भे शिशुको मृत्यु भएको कसरी थाहा पाउने ?
गर्भे शिशुको मृत्युपूर्व गर्भवती महिलाले थाहा पाउने मुख्य लक्षण बच्चा कम चल्ने हो। अर्थात गर्भमै शिशु मृत्यु भएका धेरैजसो गर्भवती महिलाले यहि शिकायत गर्ने गरेको पाइएको छ। त्यसैले पनि यसलाई हेलचक्रयाईंको रुपमा लिनु हुँदैन। गर्भ भित्रको शिशु मृत्यु भएको निकै समय भैसकेको छ भने गर्भावस्थाका लक्षण चिन्हहरु बिस्तारै हराउँदै जान्छ। जाँचको क्रममा गर्भे शिशुको मुटुको ढुकढुकी सुनिँदैन। जुन कुरा अल्ट्रासाउण्ड अर्थात् भिडियो एक्सरेबाट मात्र निक्र्यौल गर्न सकिन्छ।
भिडियो एक्सरेमा गर्भे शिशुको मुटुको ढुकढुकी नदेखिनुको साथै बच्चाको टाउकोको हड्डी खप्टिएको देखिन्छ, ढाड निकै कुप्रिएको हुन्छ, करङको हड्डी बाक्लिएको हुन्छ, मुटु तथा ठूलो रक्तनलीमा हावाको फोका देखिन थाल्छ। मृत शिशु जन्मेपछि जाँचको क्रममा छालामा फोका फोका देखिन्छ वा आलुको बोक्रा जस्तै सजिलै उप्किन्छ भने गर्भे शिशुको मृत्यु २४ घण्टा भन्दा बढी भैसकेको बुझ्नु पर्दछ।
गर्भे शिशुको मृत्यु भएको हो होइन भन्ने कुरा भिडियो एक्सरेबाट खुट्याएपनि गर्भे शिशुको मृत्यु हुनाको कारण रगत तथा पिसाबको विभिन्न जाँच एवं सुत्केरीपछि सालको जाँचको आवश्यकता पर्दछ। यसका साथै उक्त महिलाको रगत जम्ने प्रक्रिया ठिक छ, छैन जाँच गर्नु पर्दछ। अस्पतालमा वा स्वास्थ्यकर्मीले औषधि राखेर मृत बच्चा निकाल्ने व्यथा गराउँछ। बच्चा तेर्सो बसेको छ, पुट्ठाको हड्डी सानो छ, साल पाठेघरको तल्लो भागमा छ, पहिले २ पटक भन्दा बढी सिजेरियन अपरेशनबाट बच्चा पाएको छ वा पाठेघरको मुख खुल्दै खुलेन भने यो पटक सिजेरियन गरेरै मृत बच्चा निकाल्नु पर्ने हुन्छ।
गर्भे शिशु मृत्युको व्यवस्थापन कसरी ?
यस्तो अवस्थामा गर्भ भित्रै शिशु भएको गर्भवती महिलालाई यसको दोषारोपण गरेर गाली गर्नु भन्दा मानसिक ढाडस दिने, मन हल्का हुने सल्लाह दिनु पर्दछ। मृत शिशु पाएपछि दुध सुक्ने औषधिको अलावा अवस्था हेरिकन एन्टिबायोटिक औषधिको जरुरत पर्दछ। सुत्केरीको छ हप्तापछि चेकअपमा जानु पर्दछ। कम्तिमा ३ महिना अर्को बच्चा नपाउनु राम्रो हुन्छ। जन्मान्तरको लागि उपयुक्त परिवार नियोजनका साधन प्रयोग गर्नु पर्दछ। अर्को बच्चा पाउनु (गर्भ आउनु) पूर्व फेरि चिकित्सकको सल्लाह लिनु पर्दछ। त्यसबखत उच्च रक्तचाप, मधुमेह, रगतको विकार तथा अन्य कुनै संक्रमण छ भने त्यो निराकरण एवं नियन्त्रणमा ल्याउनु पर्दछ। साथै चिकित्सकको सल्लाहमा दैनिक रुपमा फोलिक एसिड नामको भिटामिन सेवन गर्नु पर्दछ।