विश्व स्वास्थ्य संगठनका अनुसार वायु प्रदूषण भन्नाले कुनै पनि रासायनिक, भौतिक वा जैविक वस्तुद्वारा वातावरणमा वायुको प्राकृतिक विशेषताहरूलाई नकारात्मक रुपमा परिवर्तन गर्नु हो। वायु प्रदूषणका स्रोतहरू प्राकृतिक वा कृत्रिम हुन सक्छन्। जस्तै: ज्वालामुखी विस्फोट, वनजंगलमा लाग्ने डडेलो, रेडियोधर्मी सामग्री वा उद्योग, कलकारखाना, सवारी साधनबाट निस्कने धुवाँ, घरेलु धुवाँ-धुलो, निर्माण व्यवसाय, कृषि उद्योग जस्ता गतिविधि हुन्।
वायु प्रदूषणको सबैभन्दा प्रमुख प्रदूषकहरूमा कार्बन मोनोअक्साइड, ओजोन, नाइट्रोजन डाइअक्साइड र सल्फर डाइअक्साइड र अन्य कणपदार्थ पर्छन् । श्वासप्रश्वास सम्बन्धी समस्या र मुटु रोगहरुमा वायु प्रदूषणका प्रभावहरू राम्रोसँग स्थापित भए पनि तर छालामा प्रदूषणको प्रभाव त्यति उल्लेख गरिएको पाइँदैन। स्वास्थ्य सम्बन्धित धेरै समस्याको ठूलो अनुपातको लागि वायु प्रदूषण जिम्मेवार छ र यसले छालामा झनै विशेष समस्या निम्त्याउँछ।
वायु प्रदूषकहरूले छाला कसरी बिगार्छन्?
वायु प्रदूषक पदार्थहरू ठोस, तरल, ग्याँस र कण पदार्थको रूपमा हुन सक्छन्। छालालाई असर गर्ने प्रमुख वायु प्रदूषकहरूमा परावैजनी विकिरण, पोलिसाइक्लिक हाइड्रोकार्बन, कार्बन कम्पाउण्ड, नाइट्रोजन अक्साइड, धुलो, सिगरेट वा चुलोको धुवाँ, हेभिमेटल र आर्सेनिक आदि हुन्। छाला, शरीरको सबैभन्दा ठूलो र बाहिरी भागको अंग हो। यी प्रदूषकहरु छालाको सतह, रौं र ग्रन्थीहरुबाट छालाभित्र प्रवेश गर्छन् र शारीरिक, रासायनिक र वातावरणीय कारकहरू विरूद्ध प्रतिरोधात्मक रूपमा काम गर्छन् र छाला प्रतिरोधात्मक नास गर्छन्; विभिन्न रोग निम्त्याउँछन्।
वायु प्रदूषकहरूले छालामा हुने एन्टिआक्सिडेन्ट प्रतिरक्षा प्रणाली (जस्तै: Glutathione peroxidase, Glutathione reductase, Superoxide dismutase, catalase, भिटामिन ई, भिटामिन सी) प्रभावमा पारेर अक्सिडेटिभ स्ट्रेसलाई बढाउँछन्। यसले गर्दा फ्री रेडिकल र रिएक्टिव अक्सिजनहरु उत्पन्न हुन्छन् जसले शरीरको कोसको हरेक तत्वमा प्रतिकुल आसर गर्छन्। यसले छालाको बाहिरीदेखि भित्री भाग Epidermis, Dermis, Subcutaneous, तीनै वटामा नकारात्मक प्रभाव पार्छन्। यसले छालामा बुढो मान्छेको जस्तो देखिने, चाउरी पर्ने, दागधब्बाहरु देखिने, एलर्जी हुने लगायात सोरायसिस, डण्डिफोर र छालाको क्यान्सर जस्ता रोगहरु समेत गराउन सक्छ।
वायु प्रदूषकहरू र छाला रोगहरूमा तिनीहरूको भूमिका
सूर्यबाट निस्कने परावैजनी विकिरणहरुलाई वायुमण्डलको ओजोन तह र अक्सिजनले धेरै मात्रामा अवशोषित गर्छ र UV-A UV-B मात्र पृथ्वीको सतहमा पुग्छन्। जब वातावरणीय प्रदूषकहरूले ओजोन तहको ह्रास गर्छन्, तब धेरै परावैजनी विकिरणहरु सतहमा पुग्छन्। ती विकिरणहरुले मानव छालामा भएका तन्तुहरुमा गम्भीर असर पार्न सक्छन्।
फोटोजिंग
फोटोजिंग मुख्यतया: परावैजनी विकिरण एद्वारा विशेषगरी छालाको केरेटिनोसाइट्स, फाइब्रोब्लास्ट र कोलेजेनको प्रतिकुल असर गर्छन्।
पराबैजनी विकिरण बीले छालालाई जलाउँछ।
पराबैजनी विकिरणहरु ए र बी दुवैले छालाको रोगसँग लड्ने क्षमता घटाउँछ। ओजोन तहको ह्रासले पृथ्वीको सतहमा परावैजनी विकिरणहरुको प्रवेशलाई बढाउँछ, जसले छालामा क्यान्सरको प्रकोप बढाउँछ। यी दुवै UV A,B मिलेर छालाको क्यान्सर जस्तै मेलेनोमा, बेसल सेल कार्सिनोमा र स्क्वामस सेल कार्सिनोमा बढाउन सक्छ ।
चुरोटबाट निस्कने धुवाँमा रिएक्टिभ अक्सिज, कार्बन मोनोअक्साइड, नाइट्रोजन, एल्डिहाइड्स लगायत हजारौं रासायनिक पदार्थहरू हुन्छन्। यिनीहरुले पनि छालाका सबै तन्तुलाई प्रतिकुल असर गर्छन्। धूमपान गर्ने व्यक्ति छिट्टै बुढो देखिन्छ। छाला धेरै चाउरी पर्छ, ओठमुखमा नराम्रो खैरो दाग निस्किन्छ। फरक किसिमका डण्डिफोर आउने हुन्छ, नङ तथा कपालको रङ परिवर्तन आँउछ। यसले पनि छालाको क्यान्सरलाई बढाउन मद्दत गर्छ। अध्ययनहरुले धुमपान गर्नेहरूमा सोरायसिस, छालाको बाथरोगको जोखिममा उल्लेखनीय रुपमा वृद्धि भएको बताउँछन्। सक्रिय रुपमा धुमपान नगर्ने व्यक्तिहरुमा समेत यस्तो असर देखिन सक्छ।
वायुमण्डलीय पोलिसाइक्लिक हाइड्रोकार्बन
पोलिसाइक्लिक हाइड्रोकार्बन सबैभन्दा व्यापक र खतरनाक जैविक प्रदूषक हो। यो सहरी क्षेत्रको हावामा सतहमा हुन्छन्। यिनीहरुले पनि प्रतिक्रियाशील अक्सिजन उत्पादन गर्छन्। यसको मुख्य स्रोतहरु डिजेल वा पेट्रोल गाडीको धुवाँ, उद्योग, कलकारखाना, प्लास्टिक उद्योग, किटनासक, सिगरेटको धुवाँ आदि हुन्। यसले समेत छाला बुढो देखाउने, रङ परिवर्तन गर्ने, क्यान्सर ल्याउन सक्छन्। हाइड्रोकार्बनहरुले डिएनए तथा आरएनएमा असर गरेर क्यान्सर गराउन सक्छन्।
विभिन्न वायु प्रदूषकले एलर्जी समेत गराउँछन् । यसले atopic dermatitis वा कन्ट्याक एक्जिमा पनि निम्त्याउँन सक्छ। भारी धातुहरू क्याडमियम, सिसा र पाराहरु पनि वायुमा असर गर्ने प्रदूषकहरू हुन्। यसका मुख्य स्रोतहरू ज्वालामुखी विष्फोट, फोहोर जलाउँदा, सिमेन्ट, फलाम र इस्पात उत्पादन र लिड पेट्रोल उत्पादन आदि हुन्। यिनीहरुले पनि एलर्जिक इक्जिमा गराउँछन्।
रोकथाम रणनीति
वायु प्रदूषण नियन्त्रण गर्न सकियो भने छालामा हुने प्रतिकुल प्रभाव नियन्त्रण गर्न सकिन्छ। वायु प्रदूषणका कारण छाला रोगको रोकथाम दुई चरणमा गर्न सकिन्छ। पहिलो, वायु प्रदूषण कम गर्नु र दोस्रो प्रदूषकबाट आफूलाई जोगाउन रणनीति प्रयोग गर्नु। यसको लागि घरभित्र र बाहिर दुवैतर्फ प्रदूषण नियन्त्रण हुनु जरुरी हुन्छ।
वायु प्रदूषणको नियन्त्रण गर्न मानव निर्मित स्रोत नियन्त्रण गर्न सकिन्छ। जस्तै: डिजेल र पेट्रोल सवारीको कम प्रयोग, इलेक्ट्रिक गाडीमा प्रोत्साहन, निजी सवारीभन्दा सार्वजनिक यातायातको प्रयोग, सहरहरुबाट टाढाका क्षेत्रहरुमा उद्योग सार्ने, वातावरणमैत्री औद्योगिक मेसिनहरुको विकास, खुला ठाउँमा फोहोर नजलाउने, धुमपानबाट जोगिने र खाना पकाउन इलेक्ट्रिक वा गोबर ग्यास चुल्हो प्रयोग गर्ने गर्न सकिन्छ। यातायातबाट हुने प्रदूषण कम गर्न प्राकृतिक ग्यासको प्रयोग, पुरानो डिजेल गाडीहरू विस्तारै हटाउनु पर्छ।
व्यक्तिगत सुरक्षाको लागि परावैजनी किरणबाट जोगिने, छाताको प्रयोग गर्ने, सनस्क्रिनको उचित प्रयोग गर्ने; सक्रिय वा निस्क्रिय धूमपान नगर्ने वा जोगिने, एन्टिआक्सिडन्ट (भिटामिन सी र ई) प्रयोग गर्ने, मास्कको प्रयोग गर्ने वा सकिन्छ भने घरभित्र हावाको फिल्टर र भेंटिलेटरहरूको प्रयोग गर्ने।
निष्कर्ष
छाला मानव शरीरको सबैभन्दा ठूलो र महत्वपूर्ण अङ्ग हो। तसर्थ छालाको स्वास्थ्यलाई असर गर्ने कुनै पनि कारकले सम्पूर्ण रूपमा शरीरलाई असर पार्छ। छालामा हानिकारक प्रभाव पार्ने परावैजनी विकिरण, पोलिसाइक्लिक हाइड्रोकार्बन, नाइट्रोजन अक्साइड, धुलो, सिगरेटको धुवाँले छालालाई बुढो बनाउने, चाउरी बढाउनुका साथै छालाको क्यान्सर, सोरायसिस, डण्डिफोर, अर्टिकेरिया, एक्जिमा बढाउँछ। पोलियोरोमेटिक हाइड्रोकार्बनले छालाको क्यान्सर, बाह्य छालाको उमेर, पिग्मेन्टेसन, बच्चाहरूमा एटोपिक डर्मेटाइटिस बढाउँछ।
तसर्थ व्यक्तिगत सुरक्षाको लागि परावैजनी किरणबाट जोगिने, धुवाँ, धुलोबाट जोगिने, सनस्क्रिनको उचित प्रयोग गर्ने, धूम्रपान नगर्ने वा जोगिने र वायु प्रदूषण कम गर्ने जस्ता सावधानीहरु अपनाउनु जरुरी हुन्छ।
(डा पौडेल चर्मरोग विशेषज्ञ हुन्।)