काठमाडौं- कोभिडका बिरामीको उपचारमा खटाएर जोखिम भत्ता नदिएको भन्दै बाराको कलैया अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मी आन्दोलित भएका छन्। जोखिम मोलेर कोरोना संक्रमितको उपचार गरेको तर कोभिड भत्ता भने नपाएको भन्दै उनीहरू आन्दोलित भएका हुन्।
स्वास्थ्यकर्मीहरूले मंगलबारदेखि अस्पतालका आकस्मिकबाहेकका सेवा बन्द गरी अस्पतालमै धर्ना सुरु गरेका छन्।
आइसोलेसन वार्ड व्यवस्थापन गरी कोरोना संक्रमितको उपचार गर्न स्वास्थ्य मन्त्रालयले निर्देशन दिएको भएपनि स्वास्थ्यकर्मीहरूलाई जोखिम भत्ता भने उपलब्ध नगराएको अस्पतालका आइसोलेसन वार्ड व्यवस्थापक सत्यन्द्र कुमार यादवले गुनासो गरे।
उनले गत वर्ष चैत महिनादेखि कात्तिक मसान्तसम्मको जोखिम भत्ता पाउनुपर्ने माग समेत गरे।
जोखिम भत्ता उपलब्ध गराउन पटक-पटक मौखिक र लिखित आग्रह गर्दा पनि कुनै सुनुवाई नभएपछि आफूहरू आन्दोलन गर्न बाध्य भएको यादवको भनाइ छ।
‘स्वास्थ्य मन्त्रालयकै निर्देशनअनुसार सय बेडको आइसोलेसन सञ्चालन गरेर हामी रातदिन कोरोना संक्रमतिको उपचारमा खटियौं,’ यादवले भने, ‘तर हामीलाई अहिलेसम्म जोखिम भत्ता दिइएको छैन। मौखिक र लिखित रुपमा धेरै पटक गुनासो गरीसक्यौँ। तर अहिलेसम्म भत्ता पाएनौं, त्यसैले शान्तिपूर्ण आन्दोलन सुरु गरेका छौं।’
मन्त्रालयको निर्देशनमा स्थानीय प्रशासन र स्वास्थ्य कार्यालयको सहयोगमा कलैया अस्पतालमा एक सय बेडको आइसोलेसन वार्ड व्यवस्थापन गरिएको यादवको भनाइ छ। चैतयता तीन सय जनाभन्दा बढी कोरोना संक्रमतिलाई उपचार गरिएको यादवले जानकारी दिए।