काठमाडौं– अतिरिक्त शुल्क नतिरेको भन्दै वार्षिक परीक्षा दिनबाट बञ्चित भएका रामजी राम र पंकजकुमार रामले बाँकी परीक्षा दिन पाएका छन्।
नेसनल मेडिकल कलेजले पुस २७ गतेदेखि सुरु भएको एमबिबिएस चौथो वर्षको परीक्षा दिनबाट उनीहरुलाई बञ्चित गराएको थियो। परीक्षामा सहभागी गराउन चिकित्सा शिक्षा आयोगले नै निर्देशन दिएको भएपनि उक्त निर्णयलाई समेत अटेर गरी कलेजले उनीहरुलाई परीक्षा हलबाटै निकालेको थियो।
उनीहरुले परीक्षा दिन नपाएको विषय सञ्चारमाध्यम मार्फत बाहिर आएपछि परीक्षामा सहभागी गराउनुपर्ने भन्दै चौतर्फी विरोध भएको थियो।
आइओएमकी डिन डाक्टर दिव्या सिंह शाहले परीक्षा दिने वातावरण बनाइने बताएकी थिइन्।
आइओएमकी डिन डा शाहले रामजी र पंकजलाई परीक्षामा सहभागी गराउन नेसनल मेडिकल कलेजलाई निर्देशन दिएपछि कलेजले आफूलाई बाँकी परीक्षामा सहभागी गराएको परीक्षार्थी रामले स्वास्थ्यखबरलाई बताए।
‘परीक्षा दिन नपाएको कुरा मिडियामा बाहिर आएपछि डिन कार्यालयबाट दिव्या म्यामले कलेजलाई परीक्षामा सहभागी गराउनु भनेर अर्को पत्र पठाउनुभयो,’ रामले भने, ‘त्यसपछि कलेजबाटै परीक्षा फारम भर्न आउनु भनेर फोन गरेर बोलाउनु भयो, फर्म भरेर पुस २९ गते र माघ २ गतेको परीक्षा दिन पाएँ।’
बाँकी परीक्षामा सहभागी हुन पाएपनि पुस २७ गतेको परीक्षा कलेज सञ्चालकको कारण छुटेको भन्दै उनले सो परीक्षा पनि दिन पाउनुपर्ने माग गरे।
‘कलेजकै कारण २७ गतेको परीक्षा दिन पाइन, त्यो परीक्षा के हुन्छ भनेर कलेजलाई सोध्दा परीक्षा दिन पाउने वा नपाउने कुरा डिन कार्यालयको निर्देशनमा भर पर्छ भन्नुभयो,’ रामले भने, ‘त्यो छुटेको परीक्षा पनि दिन पाए, खुसी हुने थिएँ।’
उनले अन्य लिखित परीक्षा सकिएको र अब पाँचदिनपछि प्रयोगात्मक परीक्षा हुने भएकाले यो बीचमा छुटेको परीक्षा दिने व्यवस्था गरिदिन आग्रह गरे।
यो पनि
नेसनल मेडिकल कलेजले छात्रवृत्तिमा एमबिबिएस अध्ययनरत रामजीलाई परीक्षा दिन रोक्यो