काठमाडौं– नेसनल मेडिकल कलेजले छात्रवृत्तिमा अध्ययनरत एक विद्यार्थीलाई अतिरिक्त शुल्क नतिरेको भन्दै एमबिबिएस चौथो वर्षको वार्षिक परीक्षाबाट बञ्चित गराएको छ।
सोमबारदेखि सुरु भएको वार्षिक परीक्षामा रौतहटका रामजी रामलाई अतिरिक्त शुल्क नबुझाएको भन्दै परीक्षा हलबाटै निकालिदिएको हो।
चिकित्सा शिक्षा आयोग र इस्टिच्युट अफ मेडिसिन (आइओएम)ले रामलाई परीक्षामा सहभागी गराउन निर्देशन दिएको भएपनि नेसनल मेडिकल कलेजले अतिरिक्त शुल्क नबुझाएको भन्दै परीक्षा हलबाटै निकालिदिएको पीडित विद्यार्थी रामले स्वास्थ्यखबरलाई बताए।
‘म त सरकारले पैसा तिरेर पढ्दै आएको थिएँ, तर नेसनल मेडिकल कलेजले मसँग अतिरिक्त शुल्क माग्यो,’ रामले भने, ‘मेरो पढाइ खर्च त सरकारले आफ्नो नियम अनुसार तिरेको छ, तर कलेजले मलाई अतिरिक्त शुल्क मागेर परीक्षामा सहभागी हुन दिएन।’
छात्रवृत्तिमा पढेका उनीसँग नेसनल मेडिकल कलेजले ७ लाख ५० हजार १३१ रुपैयाँ अतिरिक्त शुल्क मागेको छ।
२०७२ सालमा सरकारले नै खर्च दिएर रामले नेसनल मेडिकल कलेजमा एमबिबिएस अध्ययन गर्दै आएका थिए।
तर कलेजले होस्टलमा अनिवार्य बस्नुपर्ने र त्यसको खर्च वेहोर्नुुपर्ने भन्दै दवाव दिन थाल्यो। रामले यसअघि ८ लाख ११ हजार रुपैयाँ अतिरिक्त शुल्क समेत बुझाएका छन्।
तर उनलाई कलेजले फेरी ७ लाख ५० हजार १ सय ३१ रुपैयाँ अतिरिक्त शुल्क बुझाउनुपर्ने भन्दै परीक्षा दिनै बञ्चित गरेको हो।
यसअघि पनि साथीहरु र मेडिकल विद्यार्थीको सहयोगमा होस्टलको खर्च बुझाएका उनले आफूसँग कलेजलाई तिर्न पैसा नभएको पनि बताए।
‘पहिला पनि होस्टेल खर्च बुझाउनै पर्ने भनेर ८ लाख ११ हजार बुझाए,’ रामले भने, ‘अहिले फेरी वार्षिक शुल्क भन्दै ७ ला भन्दा बढी मागेको छ, यति धेरै शुल्क तिर्नसक्ने अवस्था नै छैन, कहाँबाट शुल्क ल्याएर पैसा तिर्नु।’
आइओएमकी डिन डा दिव्या सिंह शाले उक्त घटनाका विषयमा छानबिन गर्ने जानकारी दिइन्। 'मेडिकल कलेजले उनलाई किन परीक्षाबाट बञ्चित गरेको हो भन्ने विषयमा सत्यतथ्य छानबिन गर्छौं', उनले भनिन्, 'भोलिदेखि हुने परीक्षामा सहभागी गराउन पनि भनेका छौं।'