काठमाडौँ– स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले दुर्घटनामा परेका नागरिकलाई समयमै उपचार उपलब्ध गराउने उद्देश्यले देशका विभिन्न ठाउँमा ट्रमा सेन्टर विस्तार गरिरहेको बताएकी छन्। यसैगरी उपचारपछिका लागि रिह्याबिलिटेसन सेन्टर समेत बनाइरहेको बताएकी छिन्।
ट्रमा दिवसका अवसरमा आयोजित कार्यक्रममा मन्तव्य राख्दै मन्त्री मेहताले राजधानीमा मात्र नभई देशका विभिन्न ठाउँमा बसोबास गर्ने नागरिकले समयमै आवश्यक उपचार पाउने व्यवस्था गर्न ट्रमा सेन्टर विस्तार भइरहेको बताएकी हुन्।
उनले सडक दुर्घटना, प्राकृतिक विपद् तथा अन्य आकस्मिक घटनाबाट हुने मानवीय क्षति न्यूनीकरण गर्नु राज्य, स्वास्थ्य क्षेत्र र समग्र समाजको साझा जिम्मेवारी भएको बताइन्।
मन्त्री मेहताका अनुसार दुर्घटनापछि घाइतेको जीवन बचाउन समयमै उद्धार, घटनास्थलमै प्राथमिक उपचार, शीघ्र अस्पताल पुर्याउने व्यवस्था र गुणस्तरीय आकस्मिक उपचार महत्त्वपूर्ण हुन्छ। गम्भीर घाइतेको उपचारमा केही मिनेटको ढिलाइले समेत जीवन र मृत्युबीचको अन्तर सिर्जना गर्न सक्ने भएकाले आकस्मिक उपचार प्रणालीलाई थप सुदृढ बनाउनुपर्ने उनको भनाइ छ।
उनले एम्बुलेन्स सेवालाई प्रभावकारी बनाउने, स्वास्थ्य संस्थाबीच समन्वय बढाउने तथा दक्ष जनशक्ति र आवश्यक उपकरणको उपलब्धता सुनिश्चित गर्नुपर्नेमा जोड दिइन्।
दुर्घटना रोकथाममा पनि ध्यान दिनुपर्छ
मन्त्री मेहताले दुर्घटनापछि उपचार गर्नु जति आवश्यक छ, दुर्घटना हुनै नदिनु पनि उत्तिकै महत्त्वपूर्ण रहेको बताइन्। सडक सुरक्षा, ट्राफिक नियमको पालना, हेल्मेट तथा सिट बेल्टको अनिवार्य प्रयोग र मादक पदार्थ सेवन गरेर सवारी नचलाउने व्यवहारबारे जनचेतना बढाउनुपर्ने उनको भनाइ छ।
उनले दुर्घटनास्थलमै प्राथमिक उपचार दिन सक्ने जनशक्ति विकास गर्न तथा समुदायस्तरमा प्राथमिक उपचारसम्बन्धी ज्ञान विस्तार गर्न आवश्यक रहेको बताइन्। घाइतेलाई सुरक्षित रूपमा स्वास्थ्य संस्थासम्म पुर्याउने प्रणाली विकास गर्न सके दुर्घटनापछिका जटिलता र मानवीय क्षति कम गर्न सकिने उनले उल्लेख गरिन्।
राष्ट्रिय ट्रमा सेन्टरले दुर्घटनामा परेका तथा गम्भीर चोटपटक लागेका बिरामीलाई उपचार सेवा उपलब्ध गराउँदै महत्त्वपूर्ण भूमिका निर्वाह गरिरहेको उल्लेख गर्दै मन्त्री मेहताले संस्थाको सेवा, दक्ष जनशक्ति, उपचार प्रविधि र पूर्वाधार विकासमा जोड दिइन्।
उनले ट्रमा सेन्टरमा कार्यरत चिकित्सक, नर्स, स्वास्थ्यकर्मी तथा कर्मचारीलाई धन्यवाद दिँदै गम्भीर अवस्थाका बिरामीको उपचारमा उनीहरूले पुर्याएको योगदानको प्रशंसा गरिन्।
मन्त्री मेहताले नागरिकलाई गुणस्तरीय, सर्वसुलभ र समयमै स्वास्थ्य सेवा उपलब्ध गराउनु मन्त्रालयको प्राथमिकता रहेको बताउँदै आकस्मिक स्वास्थ्य सेवालाई व्यवस्थित बनाउन सम्बन्धित निकायबीच प्रभावकारी समन्वय आवश्यक रहेको उल्लेख गरिन्।