काठमाडौं– मिठाई उत्पादन तथा बिक्री वितरण गर्ने व्यवसायीले मिठाईमा प्रयोग भएका मुख्य कच्चा पदार्थ, तेल वा घिउको प्रकार, उपभोग्य मिति र मूल्य अनिवार्य रूपमा खुलाउनुपर्ने भएको छ।
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयअन्तर्गतको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले शुक्रबार सूचना जारी गर्दै मिठाई बिक्री गर्ने व्यवसायीलाई उपभोक्ताले स्पष्ट देख्ने गरी सोकेस वा काउन्टरमा आवश्यक विवरण राख्न निर्देशन दिएको हो।
विभागका अनुसार उपभोक्ताको स्वास्थ्य सुरक्षा तथा हित संरक्षणका लागि मिठाईलगायत खाद्य पदार्थमा प्रयोग भएका सामग्रीबारे उपभोक्तालाई सुसूचित गराउन यस्तो व्यवस्था गरिएको हो।
निर्देशनअनुसार मिठाईमा प्रयोग भएका मुख्य कच्चा पदार्थको मिश्रण, प्रयोग गरिएको तेल वा घिउको प्रकार, मिठाई उपभोग गर्न सकिने अन्तिम मिति र प्रतिकिलो मूल्य स्पष्ट रूपमा उल्लेख गर्नुपर्नेछ। यो व्यवस्था होटल, मिठाई पसल, मिठाई भण्डारलगायत मिठाई उत्पादन तथा बिक्री वितरण गर्ने व्यवसायीमा लागू हुनेछ।
विभागले निर्देशन पालना नगर्ने व्यवसायीमाथि खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ बमोजिम कारबाही हुने जनाएको छ।
त्यसैगरी, विभाग वा मातहतका कार्यालयबाट खाद्य स्वच्छताका आधारमा आफ्नो व्यवसायको स्तरीकरण गराई ‘खाद्य स्वच्छता लोगो’ लिएर व्यवसाय सञ्चालन गर्नसमेत विभागले आग्रह गरेको छ।
