काठमाडौँ - अमेरिकन सोसाइटी अफ क्लिनिकल अन्कोलोजी (एस्को)को एसिया प्यासिफिक क्षेत्रीय काउन्सिलमा नेपाल पहिलोपटक समावेश भएको छ। काउन्सिल सदस्यका रुपमा पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा. अरुण शाही मनोनित भएका छन्।
एस्को अध्यक्ष डा. एलिजाबेथ ए. मिटेनडोर्फले जारी गरेको पत्रअनुसार डा. शाहीको कार्यकाल १ अक्टोबर २०२६ देखि ३० सेप्टेम्बर २०२९ सम्म तीन वर्षको हुनेछ।
विश्वभर क्यान्सर उपचार, अनुसन्धान र नीतिगत सुधारमा काम गर्दै आएको एस्कोको एसिया प्यासिफिक क्षेत्रीय काउन्सिलमा नेपालसहित १३ नयाँ राष्ट्र समावेश छन्।
मनोनयनपछि डा. शाहीले यसलाई आफ्नो व्यक्तिगत उपलब्धिभन्दा नेपाली क्यान्सर उपचार क्षेत्रकै गौरवका रूपमा लिएको बताएका छन्। उनले काउन्सिलमार्फत नेपालमा क्यान्सर उपचारको पहुँच विस्तार, अनुसन्धान, प्रविधि हस्तान्तरण र नीतिगत सुधारका लागि क्षेत्रीय विज्ञहरूसँग सहकार्य गर्ने बताएका छन्।