काठमाडौँ- काठमाडौँ महानगरपालिकाले आजदेखि बाइक एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको छ। ट्राफिक जामका कारण चारपाङ्ग्रे एम्बुलेन्स समयमै पुग्न नसक्ने अवस्थामा आकस्मिक स्वास्थ्य सेवाका लागि दक्ष स्वास्थ्यकर्मीलाई बिरामी भएको स्थानमा छिटो पुर्याउने उद्देश्यले महानगरले यो सेवा सुरु गरेको हो।
काठमाडौँ प्लाजाबाट महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले बाइक एम्बुलेन्स नेपाल एम्बुलेन्स सेवालाई हस्तान्तरण गर्दै सेवाको शुभारम्भ गरेकी हुन्।
सेवा शुभारम्भका क्रममा कार्यवाहक प्रमुख डंगोलले बाइक एम्बुलेन्सको उद्देश्य बिरामीलाई अस्पताल पुर्याउनु नभई बिरामी भएको स्थानमा आकस्मिक स्वास्थ्य सेवाको तालिम प्राप्त स्वास्थ्यकर्मीलाई छिटो पुर्याउनु रहेको बताइन्।
‘ट्राफिक जामका कारण चारपाङ्ग्रे एम्बुलेन्स सोचेको समयमा नपुग्न सक्छन्। यस्तो अवस्थामा जीवन बचाउन महत्त्वपूर्ण हुने गोल्डेन आवरमा दक्ष जनशक्तिलाई बिरामी भएको ठाउँमा छिटो पुर्याउन यो सेवा सुरु गरेका हौँ,’ उनले भनिन्।
बिरामी भएको ठाउँमै पुगेर प्राथमिक उपचार
बाइक एम्बुलेन्समा आकस्मिक स्वास्थ्य सेवाका तालिम प्राप्त इमर्जेन्सी मेडिकल टेक्निसियन (ईएमटी) परिचालन हुनेछन्। उनीहरूले बिरामी भएको स्थान वा घटनास्थलमा पुगेर प्राथमिक उपचार गर्ने र बिरामीको अवस्था थप बिग्रिन नदिन आवश्यक सेवा प्रदान गर्नेछन्।
स्वास्थ्यकर्मीले प्राथमिक उपचार गरिरहँदा चारपाङ्ग्रे एम्बुलेन्स घटनास्थलमा पुग्नेछ। त्यसपछि बिरामीलाई थप उपचारका लागि अस्पताल लगिनेछ।
महानगरपालिकाका अनुसार बाइक एम्बुलेन्स चारपाङ्ग्रे एम्बुलेन्सको विकल्प होइन। यसले बिरामीलाई अस्पतालसम्म लैजाने काम गर्दैन। बरु, आकस्मिक अवस्थामा बिरामीको जीवन बचाउन आवश्यक स्वास्थ्यकर्मीलाई घटनास्थलमा छिटो पुर्याउने माध्यमका रूपमा काम गर्नेछ।
कार्यवाहक प्रमुख डंगोलले यो सेवाले घरमै वा घटनास्थलमै हुने मृत्युको दर घटाउन सहयोग पुग्ने अपेक्षा व्यक्त गरिन्।
रेड ब्यागसहित परिचालन हुने स्वास्थ्यकर्मी
बाइक एम्बुलेन्समा परिचालित हुने ईएमटीसँग प्राथमिक तथा आकस्मिक उपचारका लागि आवश्यक सामग्री, साधन र उपकरण राखिएको ‘रेड ब्याग’ हुनेछ। उक्त झोलामा बिरामीलाई तत्काल आवश्यक पर्ने प्राथमिक उपचारका सामग्री रहनेछन्।
बाइक एम्बुलेन्स सेवा लिन १०२ नम्बरमा फोन गर्नुपर्नेछ।

नेपाल एम्बुलेन्स सेवाका अध्यक्ष डा. अनिल श्रेष्ठले महानगरपालिकाको लगानीमा सञ्चालन हुने आकस्मिक स्वास्थ्य सेवाबाट नागरिकले जीवनरक्षा पाउन सक्ने बताए। उनले बाइक एम्बुलेन्सको प्रयोग, प्रभावकारिता र लाभसम्बन्धी विवरण तथा तथ्याङ्क संकलन गरी महानगरपालिकालाई उपलब्ध गराउने जानकारी दिए।
महानगरपालिकाको स्वास्थ्य विभागका प्रमुख दीपककुमार केसीले बाइक एम्बुलेन्स सञ्चालनको अवधारणा कार्यवाहक प्रमुख डंगोलको सिर्जनात्मक सोचबाट आएको बताए। उनले यसबाट नागरिकले प्रत्यक्ष लाभ पाउने अपेक्षा व्यक्त गर्दै परीक्षण अवधिको समीक्षा गरेर सेवाको विकास र विस्तारसम्बन्धी योजना बनाइने जानकारी दिए।
बाइक एम्बुलेन्स सेवा सञ्चालनका लागि काठमाडौँ महानगरपालिका र नेपाल एम्बुलेन्स सेवाबीच आजै द्विपक्षीय सम्झौतासमेत भएको छ।