काठमाडौं– त्रिवि शिक्षण अस्पताल (टिचिङ) मा स्वास्थ्य उपचारका लागि आउने बिरामीहरुले मोबाइल तथा अनलाइनबाटै टिकट लिन सकिने व्यवस्था गरिएको छ।
कोरोना संक्रमणको अवस्थापछि अस्पतालले बिरामीको सहजताका लागि मोबाइल एप र अनलाइन प्रणालीबाट टिकट लिन सक्ने व्यवस्थाको सुरु गरेको अस्पतालका प्रवक्ता राम विक्रम अधिकारीले जानकारी दिए ।
उनका अनुसार यो सेवा परीक्षणका रुपमा मंसिर महिनादेखि शुरु भएको हो। केही समयको परीक्षणपछि अस्पतालले नियमित रुपमा उक्त सेवा सुरु गरेको छ।
मोबाइल मार्फत टिकट काट्नका लागि बिरामी तथा बिरामीका आफन्तले त्रिवि शिक्षण अस्पतालको ‘टिचिङ हस्पिटल’ नामक एप आफ्नो मोबाइलमा डाउनलोड गर्नुपर्ने हुन्छ। उक्त एप खोलेर ‘इटिकटिङ’मा क्लिक गरी टिकट काट्ने तरीकाबारे जानकारी लिन सकिने छ।
अनलाइन मार्फत टिकट काट्न अनलाइन टिकटमा क्लिक गरी विभाग वा रोगको लक्षणमा क्लिक गर्नुपर्ने हुन्छ। आफुलाई देखिएको समस्याहरुमा क्लिक गर्दै गएपछि ओपिडि वा पेइङ सेवा छनौट गर्न सकिन्छ ।
सेवाको प्रकार छनौट गरी जनरल ओपिडीमा, डाक्टर वा मिति अनुसार युनिट छनौट गर्नुपर्ने हुन्छ।
त्यसपछि बिरामीले पात्रोमा गएर मितिमा क्लिक गरी आफ्नो व्यक्तिगत डेटा फारम भरी भुक्तानी गर्ने मध्यम छनौट गरी विवरणहरु निश्चित गर्नुपर्ने हुन्छ।
अनलाइन सिस्टमले व्यक्तिले दिएको विवरण प्रमाणिकरण गरी टिकट बुक भएको पुष्टिसहितको विवरण पिडिएफमा देखाउने छ । उक्त पिडिएफ फाइललाई सम्भव भए आफैंले प्रिन्ट गर्ने र सम्भाव नभए ओपिडिमा ल्याएर चिकित्सकलाई दिने वा ओपिडिमा भएका स्टाफलाई देखाउन सक्नेछन्।
यसरी अनलाइन मार्फत टिकट काटेर आएका बिरामीहरुले अस्पतालमा पुगेर टिकटको लागि टोकन लिनु पर्दैन। अस्पतालले ओपिडि सेवाका लागि एक जना अस्पतालमै टिकट काट्ने व्यक्तिपछि अर्को अनलाइन टिकट काट्ने व्यक्तिको पालो पाउने गरी व्यवस्थापन गरेको छ।
अस्पतालका प्रवक्ता अधिकारीका अनुसार यसरी अनलाइनबाटै टिकट लिन चाहने व्यक्तिले इसेवा, प्रभु पे, आइएमी र खल्ती एपको माध्यमबाट पैसा तिर्न सकिने व्यवस्था गरिएको छ।
अस्पतालमा जनरल टिकटको नयाँ बिरामीका लागि ६० रुपैयाँ, पुराना बिरामीका लागि ३० रुपैयाँ तिर्नुपर्ने व्यवस्था गरिएको छ भने पेइङ क्लिनिकबाट सेवा लिन चाहनेले ४०० रुपैयाँ अनलाइन मार्फत तिर्नुपर्ने हुन्छ।
मोबाइल एपबाट टिकटको व्यवस्था गरेपनि धेरै मानिसहरुमा यो विषयमा जानकारी नहुँदा अहिले एप मार्फत टिकट लिनेको संख्या भने न्यून रहेको अस्पतालका प्रवक्ता अधिकारीको भनाइ छ ।
‘अनलाइन टिकटको व्यवस्था गरिएपनि धेरैलाई यो विषयमा जानकारी नहुँदा सोचेजस्तो प्रभावकारी भएको त छैन,’ प्रवक्ता अधिकारीले भने, ‘यो विषयमा जानकारी बढ्दै जाँदा प्रभावकारी रुपमा सेवा अगाडि बढ्न सक्छ। यसका साथै दुर्गम क्षेत्रबाट आउने बिरामीहरुलाई टेक्नोलोजीबारे ज्ञान नहुँदा पनि उनीहरु अस्पतालमै आएर टिकट लिने गरेको देखिन्छ। दैनिक ७, ८ जनाले मात्र अनलाइनबाट टिकट लिइरहेको पाएका छौं।’
अनलाइन टिकटबारे जानकारी बढ्दै गएमा यसको प्रभावकारीता पनि बढ्दै जाने प्रवक्ता अधिकारीको विश्वास छ।
अस्पतालमा टिकट काट्नका लागि बिहान ६ बजेदेखि टोकन वितरण सुरु हुन्छ। अस्पतालमै पुगेर टिकट काट्ने बिरामीले बिरामीको चाप अनुसार पालो कुरेर टोकन लिएपछि टोकन नम्बर अनुसार टिकट लिएर ओपिडि सेवा लिन जानुपर्ने हुन्छ। तर, मोबाइल एपबाटै टिकट काट्ने बिरामीले भने आफ्नो पालो आउने समयमा अस्पतालमा आएर सिधै ओपिडिमा सेवा लिन पाउनेछन्।
‘६ बजे नै अस्पताल आइपुगेर टोकन लिएर टिकट खुल्ने समय कुरेर बस्नुभन्दा अनलाइनबाटै टिकट काटेर सिधै ओपिडिमा आउन सहज हुन्छ,’ प्रवक्ता अधिकारीले भने, ‘त्यसैले पनि अनलाइन सिस्टम प्रभावकारी छ।’
अस्पतालमा दैनिक एक हजारभन्दा बढीले ओपिडी सेवा लिने गरेका छन्।