काठमाडौं - सरकारले यस वर्ष पनि किशोरीहरुलाई आइरन फोलिक एसिड चक्की खुवाउन सुरु गरेको छ। दोस्रो चरण अन्तर्गत यही माघबाट किशोरीहरुलाई आइरन फोलिक एसिड चक्की खुवाउन सुरु गरेको स्वास्थ्य सेवा विभागले जनाएको छ।
पहिलो चरण अन्तर्गत साउन, भदौ र असोज अनि दोस्रो चरणमा माघ, फागुन र चैतमा किशोरीहरुलाई आइरन फोलिक एसिड चक्की खुवाइने गरेको पोषण महाशाखा प्रमुख केदार पराजुलीले बताए।
१० देखि १९ वर्ष उमेर समूहका करिब ३० लाख किशोरीहरुलाई यो चक्की खुवाइने गरेको उनले बताए। सरकारले २६/२६ हप्ताको फरकमा यो किशोरीहरुलाई औषधि खुवाउने गरेको छ।
उनले भने, ‘देशैभरका १० देखि १९ वर्ष उमेर समूहका किशोरीहरुलाई हामीले हरेक वर्ष यो चक्की खुवाउँदै आएका छौं। २६/२६ हप्ताको फरकमा यो चक्की खुवाइन्छ।’
आइरन फोलिक एसिड चक्कीले किशोरीहरुमा हुने रक्त अल्पता र जन्म दोषको समस्याबाट बचाउन सहयोग गर्ने उनले बताए।
नेपालको २२ प्रतिशत किशोरीहरुमा अझै पनि रक्त अल्पताको समस्या रहेको उनले बताए। बौद्धिक क्षमता बढाउन पनि यी औषधिको भूमिका महत्वपूर्ण हुने उनले बताए।