दोलखाका एक जना ४५ वर्षीय बिरामीलाई गत डेढ वर्षदेखि दिसामा रगत मिसिएर समस्या थियो। पाइल्सले गर्दा दिसाबाट रगत आएको होला भनेर डेढ वर्ष उपचार गराउँदा पनि उनको समस्या समाधान भएन।
अन्तत: उनी एक महिना अगाडि वीर अस्पताल आए। धेरै रगत बगेका कारण उनलाई रगत चढाइयो। विभिन्न जाँच गर्दा अल्सरेटिव कोलाइटिस रोगका कारण समस्या उत्पन्न भएको देखियो। सोही रोगको उपचार सुरु गरेपछि अहिले उनलाई सन्चो भइरहेको छ।
रगत मिसिएर दिसा आउने समस्याका विभिन्न कारण हुन्छन्। दिसा गर्ने ठाउँमा रगतको नसा फुटेर रगत बग्नु (पाइल्स), चिरिएर रगत बग्नु (फिसर), मासु पलाउनु (पोलिप वा क्यान्सर) र ठूलो आन्द्रामा घाउ हुनु (अल्सरेटिव कोलाइटिस) केही प्रमुख कारण हुन्।
ठूलो आन्द्राको भित्री भागमा सुन्निएर अल्सर बन्ने रोगलाई अल्सरेटिव कोलाइटिस भानिन्छ। लगभग १५० सेमी लम्बाई भएको ठूलो आन्द्राको अन्तिमतिरको भाग (रेक्टम) लाई यस रोगले असर गर्छ। समयमै निदान र उपचार नपाएको अवस्थामा भने यसले पूरै ठूलो आन्द्रामा असर गर्छ।
अल्सरेटिव कोलाइटिसले प्राय: ११ देखि ३० वर्ष समूहका व्यक्तिलाई असर गर्छ। बेलाबेलामा दिसा मिसिएको रगत आउने अनि अरु बेला केही समस्या नगराउने भएकाले पनि यो रोगको निदान गर्न ढिलाइ हुने गर्छ।
अल्सरेटिव कोलाइटिस हुँदा दिसामा रगत देखिने बाहेक अरु पनि लक्षण देखिन्छन्- पातलो दिसा जाने, पेट दुख्ने र छिटोछिटो दिसा जान मन लाग्ने। ठूलो आन्द्रा धेरै सुन्निएको अवस्थामा भने अत्यधिक पेट दुख्ने, खान नरुच्ने र दुब्लाउँदै जाने यसका अन्य लक्षण हुन्।
यो रोग पत्ता लगाउन चिकित्सकले विभिन्न किसिमका रगत जाँच गर्छन्। भिडियो एक्स-रे र सिटी स्क्यानबाट यो रोग पत्ता लगाउन सकिँदैन। तर अरु रोगबाट छुट्याउनका लागि गरिन्छ। अल्सरेटिव कोलाइटिसको निदान गर्न चिकित्सकले दिसा गर्ने ठाउँबाट दूरबिन जोडिएको पाइपले हेर्ने (कोलोनोस्कोपी) र सुन्निएको भागबाट मासुको टुक्रा निकाली जाँच (बयोप्सी) गर्छन्।
अल्सरेटिव कोलाइटिस सरुवा रोग होइन। यो रोग महिला र पुरुषमा उत्तिकै मात्रामा देखिन्छ। परिवारमा कसैलाई अल्सरेटिव कोलाइटिस छ भने अरु सदस्यलाई हुने जोखिम बढ्छ। लगभग १० प्रतिशत अल्सरेटिव कोलाइटिसका बिरामीको परिवारका अरु सदस्यलाई पनि यही रोग हुन्छ।
अल्सरेटिव कोलाइटिस भएकालाई ठूलो आन्द्राको क्यान्सर हुने जोखिम हुन्छ। लामो समयसम्म यो रोग भएका र ठूलो आन्द्राको धेरै भागमा घाउ भएकालाई जोखिम बढी हुन्छ। अल्सरेटिव कोलाइटिस लागेको लगभग ८ वर्षपछि क्यान्सर हुने जोखिम धेरै हुने भएकै कारणले हरेक १-२ वर्षमा कोलोनोस्क्पी गर्नुपर्छ। यो रोग लागेका व्यक्तिलाई कलेजो, छाला, आँखा, मुख र जोर्नीका समस्या पनि देखिन्छन्।
यो रोगको उपचार दुई चरणमा हुन्छ। पहिलो चरणमा औषधि दिई सुन्निएको कम गर्ने र रगत बग्ने समस्यालाई रोकिन्छ। दोस्रो चरणमा फेरिफेरि रगत बग्ने समस्या नहोस् भनेर, औषधि लामो समयसम्म चलाइन्छ।
उपचारका लागि प्रयोग गरिने औषधि निम्न प्रकारका छन्:
- एमिनो सालिसेलेट
- स्टेरोइड
- येजाथयोप्रिन
- बयोलोजिकल्स
खाने औषधिले काम नगरेको खण्डमा, औषधिको साइड इफेक्ट भएमा, ठूलो आन्द्रा धेरै नै सुन्निएमा वा क्यान्सर देखिएमा अपरेसन गरेर ठूलो आन्द्रा काट्नुपर्ने हुन्छ।
खानेकुरा बारेर अथवा अरु घरायसी औषधिको सेवनले यो रोगमा फाइदा हुँदैन। यो रोगसँग फुड एलर्जीको पनि कुनै सम्बध हुँदैन। बिरामीले सन्तुलित आहारको सेवन गर्नुपर्छ।
लामो समयसम्म रहने रोग भएकाले यस रोगसम्बन्धी निदान र उपचारको अनुभव भएका ग्यास्ट्रोइन्टेरोलोजिस्टको नियमित सम्पर्कमा रहनुपर्छ। उपचारका लागि प्रयोग गरिने औषधिले पनि साइड इफेक्ट गर्ने भएकाले रगत जाँच गर्नुपर्ने हुन्छ। ठूलो आन्द्राको क्यान्सरको पनि जाँच गर्नुपर्छ।
ग्यास्ट्रोइन्टेरोलोजिस्टलाई भेट्न जाँदा यी कुरा ध्यान राख्नुहोस् :
- लक्षण सबै बताउनुहोस्
- मनमा केहफ प्रश्न भएमा निर्धक्क सोध्नुहोस्
- केही कुरा नबुझेमा वा स्पष्ट नभएमा पटकपटक सोध्नुहोस्
- आफूसँगै कोही साथी वा नातेदार लिएर जानुहोस्।