काठमाडौं- विपन्नका लागि स्वास्थ्य नेपालले सञ्चालन गरेको बृहत स्वास्थ्य शिविरमा ३८५ जनाले स्वास्थ्य सेवा लिएका छन् सेवा लिनेमा ६२ जना बालबालिका,१४६ जना पुरुष र १७७ जना महिला गरी ३८५ जना थिए।
निर्मल बाल विकास विद्यालय भीमसेनगोलामा भएको स्वास्थ्य शिविरमा कानको समस्या,पाठेघरको समस्या,मुटु सम्बन्धी समस्या भएका व्यक्तिहरुको उपचार गरिएको थियो।
स्वास्थ्यका लागि विपन्न नेपालका मेडिकल संयोजक तथा बालरोग विशेषज्ञ डा दिनेश कोइरालाले अपाङ्गता भएका व्यक्तिहरुको पनि उपचार गरिएको जानकारी दिँदै ती बालबालिकामा अधिकांशलाई डाउन सिन्ड्रोम देखिएको बताए।
उनले डाउन सेन्ड्रोम भएका बालबालिकाका लागि सरकारले विशेष ध्यान दिनुपर्ने समेत बताए।
डा कोइरालाले बालबालिकामा डाउन सेन्ड्रोम सहित कतिपयलाई मुटुको समस्या रहेको जानकारी दिए। स्त्रीरोग, बालबालिका,नाक,कान,घाँटी,अर्थोपेडिक,मुटु लगायतका समस्या भएका मानिसहरुले स्वास्थ्य सेवा लिएका थिए।
स्वास्थ्यका लागि विपन्न नेपालका अध्यक्ष रत्न थापाले उक्त शिविरबाट २१३ जनाको इसिजी,१०३ जनाको इको गरिएको जानकारी दिए।
उनले स्वास्थ्य शिविरमा नि:शुल्क औषधि समेत वितरण गरेको बताए। स्वास्थ्य शिविरलाई नेपाल प्रहरी अस्पतालले प्राविधिक सहयोग गरेको थियो।
शिविरमा ६ जना महिलाको पाठेघरको शल्यक्रिया गर्नुपर्ने, १८ जनालाई हाडजोर्नीको समस्या देखिएको थियो।
उक्त स्वास्थ्य शिविरमा वरिष्ठ मुटुरोग विशेषज्ञ डा अनिल भट्टराई, प्रसूति रोग विशेषज्ञ डा रोजिना मानन्धर, डा प्रकाश खनाल, डा निरजकुमार सिंह, डा श्याम पुजारीले विशेषज्ञ सेवा दिएका थिए।
यसैगरी डा सरोज कार्की ,विशाल गुरुङ, गणेश गिरी, डा कृपेश लामिछाने, डा दीपशिखा शाह, ममता भट्टराई, डा गृष्मा उप्रेती र अर्जुन बाँनियाले स्वास्थ्य सेवा दिएका थिए। नर्सिङ तर्फबाट स्वास्थ्य शिविरको नेतृत्व कोपिला श्रेष्ठ पालिखेले गरेकी थिइन्।