काठमाडौं– वीर अस्पतालमा इन्डोस्कोपी मेसिन बिग्रिएपछि उपचार सेवा प्रभावित भएको छ। देशभरका बिरामी स्वास्थ्य उपचारका लागि आउने वीर अस्पतालमा इन्डोस्कोपी मेसिन नै बिग्रिएपछि सेवा प्रभावित भएको हो।
अस्पतालमा संचालित एउटा मात्र इन्डोस्कोपी मेसिन फागुन ३ गतेदेखि बिग्रिएपछि सेवा नै प्रभावित भएको वीर अस्पतालको ग्यास्ट्रोइन्टेरोलोजी विभागका प्रमुख कन्सलटेन्ट डाक्टर विधाननिधि पौडेलले जानकारी दिए।
डा पौडेलका अनुसार धेरै लामो समयसम्म पेट दुखिरहने, वान्ता हुने, क्यान्सरको शंका लागेका व्यक्ति, वान्तामा रगत देखिने, खाना निल्न गाह्रो हुने, दिशा कालो हुने लगायतका पेटसँग सम्बन्धित समस्याका बिरामी र ५० वर्षभन्दा माथिका बिरामीहरु इन्डोस्कोपी गराउनुपर्ने अवस्थामा आइपुगेका हुन्छन्। यस्ता बिरामी वीर अस्पतालमा मात्र दैनिक ५० जना हुने डा पौडेलको भनाइ छ।
तर हाल इन्डोस्कोपी मेसिन बिग्रिएपछि पेटसँग सम्बन्धित समस्या लिएर आउने बिरामीको उपचार सेवा प्रभावित भएको डा पौडेलले जानकारी दिए।
‘इन्डोस्कोपी मेसिन बिग्रिएको दुई साता भइसक्यो,’ डा पौडेलले भने, ‘इन्डोस्कोपी मेसिन बिग्रिएपछि बिरामीले सेवा पाएका छैनन्। बिरामीलाई अन्तै पठाउनुपर्ने बाध्यता छ।’
डा पौडेलका अनुसार ४ वर्षअघि वीर अस्पतालमा ५ वटा इन्डोस्कोपी मेसिन संचालनमा थियो। तर हाल एउटा मात्र मेसिन रहेकोमा त्यो पनि दुईसाता अघि विग्रिएपछि वीर अस्पताल इन्डोस्कोपी मेसिन विहिन बनेको छ।
‘चारवर्ष अघि ५ वटा इन्डोस्कोपी मेसिन संचालनमा थियो, अहिले सबै बिग्रियो, बिग्रिएको मेसिन बनाउने कुरा गर्दा खरिद मुल्य भन्दा मर्मत खर्च २० प्रतिशतभन्दा बढी भएको भन्दै बनाइएको छैन,’ डा पौडेलले भने, ‘न त नयाँ मेसिन नै खरिद भएको छ। जसले गर्दा अहिले सेवा नै प्रभावित भइरहेको छ।’
इन्डोस्कोपी गराउनुपर्ने बिरामीहरु दैनिक ५० जनाभन्दा बढी हुने भएकाले एउटा मेसिनले मात्र धान्न सक्ने अवस्था नरहेको पनि डा पौडेलको भनाइ छ।
उनले भने, ‘बिरामीको चाप अनुसार त दिनमा कम्तिमा पनि १० वटा इन्डोस्कोपी मेसिन आवश्यक छ।’
इन्डोस्कोपी मेसिन थप गर्न अघिल्लो वर्ष नै प्रस्ताव गरिएको भएपनप अहिलेसम्म नआएको डा पौडेलले बताए।
‘बिग्रिएको मेसिन बनाउन संस्थाले चाहने हो भने ठूलो कुरा होइन,’ डा पौडेलले भने, ‘तर खै किन बन्दैन? सेवा बन्द हुँदा जनताले दुःख पाइरहेका छन्।’
वीर अस्पतालका निर्देशक डाक्टर केदार सेञ्चुरीले भने इन्डोस्कोपी मेसिन मर्मतका लागि प्रक्रिया अघि बढाइसकेको जानकारी दिए।
उनले भने, ‘केही दिनअघि देखि मेसिन बिग्रिएको कुरा आएपछि हामीले मेसिन सप्लाइ गर्ने कम्पनीलाई बनाइदिनु भनेर सम्पर्क गरेका छौं।’
वीर अस्पतालका लागि नयाँ इन्डोस्कोपी मेसिन थप गर्ने विषय कोरोना संक्रमणको कारण स्थगित भएको पनि डा सेञ्चुरीले बताए।
‘अघिल्लो वर्ष खरिद गर्ने कुरा थियो, तर कोरोना संक्रमणले गर्दा सबै ध्यान कोरोना संक्रमणमा मात्र गयो,’ डा सेञ्चुरीले भने, ‘चालु आर्थिक वर्षको लागि बजेट परेको छैन, अब अर्को वर्षको लागि प्रस्ताव गर्छौं।’