काठमाडौं– कोरोना भाइरसविरुद्धको खोप अभियानको दोस्रो प्राथमिकतामा परेकाहरुलाई दुई चरणमा खोप लगाइने भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले फागुन २३ गतेदेखि शुरु हुने दोस्रो प्राथमिकताको खोप अभियान दुई चरणमा हुने बताएका हुन्।
डा गौतमका अनुसार फागुन २३ गतेदेखि दोस्रो प्राथमिकतामा परेकालाई सुरु गरिने खोप अभियान चैत २० दिनसम्म चल्नेछ।
फागुन २३ गतेदेखि १० दिनसम्म ६५ वर्ष माथिका व्यक्तिहरुलाई खोप लगाइनेछ भने १० दिनपछि ५५ देखि ६४ वर्ष उमेर समुहका व्यक्तिहरुलाई खोप लगाइने डा गौतमको भनाइ छ।
खोप लगाउने व्यक्तिहरुले उमेर खुल्ने परिचयपत्र तथा स्थानीय निकायको सिफारिस लिएर खोप केन्द्रमा जानुपर्ने डा गौतमले जानकारी दिए।
उनले कोरोना भाइरस विरुद्धको खोप विश्व स्वास्थ्य संगठनले पनि प्रयोगका लागि अनुमति दिइसकेको भन्दै कोभिसिल्ड खोप सुरक्षित भएको बताए।
प्रवक्ता डा गौतमले कोरोना संक्रमणबाट बच्न कोभिसिल्ड खोपको दुई मात्रा लगाउनुपर्ने पनि बताए। खोपको पहिलो डोज लगाइसकेका व्यक्तिले पहिलो डोज लगाएको ८ देखि १२ हप्तामा दोस्रो डोज लगाउनुपर्ने डा गौतमको भनाइ छ।
उनले खोप लगाउदा खोप लगाएको ठाउँमा दुख्ने, शरीर दुख्ने, थकाइ लाग्ने जस्ता सामान्य लक्षण देखिने र यस्ता लक्षण केही समयमा ठिक भएर जाने भन्दै ढुक्क भएर खोप लगाउन सबैलाई आग्रह गरे।