काठमाडौं– चीनबाट अनुदानमा प्राप्त कोरोनाविरुद्धको खोप (भेरोसेल) लगाउन थालिएको छ। बुधबार बिहान नयाँ बानेश्वरस्थित सिभिल अस्पतालमा नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीको सहभागितामा खोप कार्यक्रमको सुरुवात गरिएको हो।
चीन सरकारले अनुदानमा दिएको ८ लाख डोज खोप बुधबारदेखि २३ वटा खोप केन्द्रबाट दिइँदै छ ।
मन्त्रालयका अनुसार चीन सरकारबाट अनुदानमा आएको ८ लाख डोज खोप लगाउने व्यक्तिहरुको प्राथमिकीकरणसँगै काठमाडौं उपत्यकासहित रसुवा, सिन्धुपाल्चोक, काभ्रे र नुवाकोटमा गरी २३ वटा खोप केन्द्र तोकेको छ।
उक्त खोप पहिलो चरणमा १८ देखि ५९ वर्ष उमेर समूहका प्राध्यापक, चीनमा छात्रवृत्तिमा अध्ययन गर्ने नेपाली विद्यार्थी र नेपाली व्यापारीलाई लगाइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
खोप शाखा प्रमुख डा झलक शर्मा गौतमका अनुसार मन्त्रालयले १८ देखि ५९ वर्ष उमेर समूहका प्राध्यापक, चीनमा छात्रवृत्तिमा अध्ययन गर्ने विद्यार्थी, चीनमा अध्ययनमा जाने तयारीमा रहेका व्यक्ति, हिमालय पार व्यापार गर्ने नेपाली व्यापारी, अत्यावश्यक सेवामा काम गर्ने कर्मचारीरव्यक्ति, होटल, ट्रेकिंग, विज्ञापन र इन्टरनेट क्षेत्रमा काम गर्ने, औषधि फलफुल तरकारी लगायतका व्यापारीलाई खोप लगाउने निर्णय गरेको छ।
त्यस्तै यसअघि खोप लगाउन छुटेका अग्रपंक्तिमा खटिने जनशक्ति, अत्यावश्यक सेवामा काम गर्ने कर्मचारी, होटल, ट्रेकिङ, विज्ञापन, इन्टरनेट, औषधि, फलफुल र तरकारी व्यवसाय गर्ने व्यक्तिहरुलाई पनि खोप दिइने मन्त्रालयले जनाएको छ।