काठमाडौं– स्वास्थ्य बिमा बोर्डले थप ६ जिल्लामा स्वास्थ्य बिमा कार्यक्रम सञ्चालन गर्ने घोषणा गरको छ। बोर्डले बुधवार पाँचौं स्वास्थ्य दिवसको अवसरमा काठमाडौंमा आयोजना गरेको कार्यक्रममा थप ६ जिल्लामा बिमा कार्यक्रम विस्तार गर्ने घोषणा गरेको हो।
कार्यक्रमका अवसरमा स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले ताप्लेजुङ, बारा, सर्लाही, दोलखा, मनाङ र मुस्ताङमा भर्चुुअल माध्यमबाट स्वास्थ्य बिमा कार्यक्रमको थालनी गरेका हुन्।
यीसहित स्वास्थ्य बिमाको पहुँच अब देशभरका ७५ जिल्लामा पुगेको छ। काठमाडौं र ललितपुरमा भने यो सेवा सुरु भएको छैन।
यही आर्थिक वर्षभित्र बाँकी दुई जिल्लामा पनि कार्यक्रम सुरु गर्ने तयारी गरिएको बोर्डका कार्यकारी निर्देशक दामोदर बसौलाको भनाइ छ।
कार्यक्रमको थालनी गर्दै स्वास्थ्यमन्त्री त्रिपाठीले स्वास्थ्य प्रणाली सुधारमा सरकार गम्भीर भएर लागेको बताए । कार्यक्रमलाई प्रभावकारी बनाउन सबै कर्मचारी गम्भीर भएर लाग्नुपर्नेमा उनले जोड दिए। बिमा गरेपछि कतिपय बिमितले अहिले पनि सहज सुविधा पाउन नसकेको गुनासो हुने गरेकोमा मन्त्री त्रिपाठीले बिमितलाई दिने सुविधा सहज बनाउन निर्देशन दिए।
साथै बुधवारदेखि नै बोर्डले स्वास्थ्य बिमा कार्यक्रम नागरिक एपमा पनि हेर्न र डाउनलोड गर्न सकिने बनाएको छ। रासस