काठमाडौं - देशभर हाल १ सय ३८ जना कोरोना संक्रमित अस्पतालको आइसियु र भेन्टिलेटरमा छन्। गत २४ घण्टामा भेटिएका ९ सय संक्रमितमध्ये १ सय ३८ जना संक्रमित आइसियु र भेन्टिलेटरमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
१ सय जना आइसियु र ३८ जना भेन्टिलेटरमा छन्। यसअघि बिहीबार १ सय २६ जना संक्रमित आइसियु र भेन्टिलेटरमा थिए।
आइसियु र भेन्टिलेटरमा रहने संक्रमितको संख्या सबैभन्दा धेरै बागमती प्रदेशमा छ। बागमती प्रदेशमा ४६ जना आइसियु र २१ जना भेन्टिलेटरमा छन्। प्रदेश १ मा २ आइसियु र १ जना भेन्टिलेटरमा, प्रदेश २ मा २ जना आइसियुमा, गण्डकी प्रदेशमा ८ जना आइसियु र १ जना भेन्टिलेटरमा छन्।
लुम्बिनी प्रदेशमा ३६ जना आइसियु र १२ जना भेन्टिलेटरमा, कर्णालीमा ४ जना आइसियु र सुदूरपश्चिम प्रदेशमा २ जना आइसियु र ३ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ।
कोरोनाको उपचार हुने काठमाडौं उपत्यकाको आठ वटा अस्पतालमा गरी ५५ जना संक्रमित आइसियु र भेन्टिलेटरमा छन्। १ सय ६० जना आइसोलेसनमा छन्। यसअघि ५१ काठमाडौं उपत्यकामा मात्र ५५ जना कोरोना संक्रमित आइसियु र भेन्टिेलेटरमा थिए।
शसस्त्र प्रहरी बल अस्पताल बलम्बुमा ८ आइसियु, २ भेन्टिलेटर र ३१ जना आइसोलेसनमा छन्। वीर अस्पतालमा ४ आइसियु, २ भेन्टिलेटर र १३ जना आइसोलेसनमा, नेपाल प्रहरी अस्पतालमा २ जना आइसियु र ६ जना आइसोलेसनमा छन्।
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा ४ जना आइसियु, ७ भेन्टिलेटरमा २२ जना आइसोलेसनमा, त्रिवि शिक्षण अस्पतालमा ५ आइसियु, ३ भेन्टिलेटर र २० जना आइसोलेसनमा, पाटन अस्पतालमा ६ आइसियु, ५ भेन्टिलेटर र ४८ जना आइसोलेसनमा छन्।
यस्तै ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा २ जना आइसियु र १० जना संक्रमित आइसोलेसनमा छन्। ह्याम्स अस्पतालमा ४ आइसियु, १ जना भेन्टिलेटर र १० जना आइसोलेशनमा रहेको मन्त्रालयले जनाएको छ।