काठमाडौं- कोहलपुरस्थित नेपालगञ्ज मेडिकल कलेजको शिक्षण अस्पतालमा कोभिड-१९ का बिरामीका लागि पुनः कोभिड आइसियु तथा आइसोलेसन वार्ड सञ्चालनमा ल्याएको छ।
पछिल्लो समय कोरोना संक्रमितको संख्या बढ्दै गएपछि अस्पतालले पुनः कोभिड आइसियु र आइसोलेसन वार्ड सञ्चालउनमा ल्याउने निर्णय गरेको नेपालगञ्ज मेडिकल कलेजका सहायक निर्देशक डा नितेश कुमार कानोडियाले जानकारी दिए।
केही समयअघि कोरोना संक्रमितको संख्यामा कमी आएपछि अस्पतालले कोभिड आइसियु र आइसोलेसन वार्डको सेवा बन्द गरेको थियो।
‘संक्रमितको संख्यामा कमी आएपछि सरकारले कोभिड–१९ का बिरामीहरुको उपचार भेरी अस्पतालमा गर्ने नीति ल्याएकोले केहि समय उक्त सेवा बन्द गरेका थियौं,’ डा कनोडियाले भने, ‘हाल पुनः कोभिड–१९ का बिरामीहरुको संख्या दिन प्रतिदिन बढदै गइरहेको र भेरी प्रादेशिक अस्पतालले बिरामीहरुको चापलाई थेग्न नसक्ने अवस्था सृजना भएकोले पुनः सेवा सुरु गरेका हौँ।’
उनका अनुसार अस्पतालले आज शुक्रबारदेखि शिक्षण अस्पताल कोहलपुरमा १५ बेडको कोभिड–१९ आइसियु र ३० बेडको आइसोलेसन वार्ड संचालनमा ल्याएको हो।
अस्पतालले दिने गरेको अन्य सेवाहरु समेत सुचारुनै रहेको उनले जानकारी दिए।
लर्ड बुद्ध एजुकेशनल एकेडेमी लि नेपालगञ्जद्वारा संचालित नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरले कोभिड–१९ को महामारी सुरु भए पश्चात कोभिड–१९ का बिरामीहरुको शल्यक्रिया लगाएतको स्वास्थ्य सेवा प्रदान गर्दै आइरहेको छ। महामारीको समयमा अस्पतालले सरकारसँग सहमती र सहकार्य गरी ४८६ जना बिरामीहरुको उपचार गरेको छ।