नेपालगन्ज– बाँकेमा एकै दिन ३२२ जनामा कोरोना संक्रमण पोजिटिभ देखिएको छ। यो अहिलेसम्मकै धेरै संख्या हो। यसअघि २०० जनामा कोरोना संक्रमण देखिएको थियो।
पछिल्लो समय बाँकेमा कोरोना संक्रमितको संख्याले नयाँ रेर्कड बनाइरहेको छ। भेरी अस्पताल कोरोना संक्रमितले भरिएको छ भने पिसिआर परीक्षणका लागि समेत चाप बढेको छ।
आइतबारदेखि नेपालगन्ज मेडिकल कलेजले समेत कोभिड युनिट संचालनमा ल्याइसकेको छ।
जिल्ला कोभिड–१९ संकट व्यवस्थापन समिति (डिसिसिएमसी)ले सोमबार राती १० बजे दिएको जानकारी अनुसार भेरी अस्पताल र बागेश्वरी ल्याबमा गरिएको परीक्षणमा ११० महिला र १४६ पुरुषमा कोरोना संक्रमण देखिएको हो।
यस्तै नेपालगञ्ज मेडिकल कलेजको ल्याबमा ६६ जनामा संक्रमण देखिएको हो।
डिसिसिएमसी बाँकेका फोकल पर्सन तेजबहादुर वलीका अनुुसार भेरी अस्पताल, बागेश्वर र नेपालगञ्ज मेडिकल कलेजको ल्याबमा गरी ३२२ जनामा संक्रमण पुष्टि भएको हो।