काठमाडाैं- बाँकेमा कोरोना भाइरस संक्रमणको दोस्रो लहर तीव्र गतिमा फैलिएको छ। सीमा नाका रहेको जिल्ला भएकाले पनि त्यहाँ कोरोना संक्रमण तीव्र बनेको हो।
संक्रमण बढ्ने देखिएसँगै संघ र प्रदेश सरकारसँग गुहार मागे पनि सहयोग नपाएको नेपालगञ्ज उपमहानगरपालिकाकी उपप्रमुख उमा थापामगरले गुनासो गरिन्। उनका अनुसार अस्पतालमा बेड अभाव भएको छ। थप बिरामी आए भर्ना गर्नसक्ने अवस्थामा अस्पताल छैनन्।
‘अवस्था विजोग छ। अक्सिजन आवश्यक पर्ने सिकिस्त बिरामी आए पनि राख्ने ठाउँ नै छैन,’ उपप्रमुख थापामगरले भनिन्, ‘उपचाररत सबै बिरामीलाई अक्सिजन दिएर राख्नुपर्ने खालका छन्।’ भेरी अस्पतालमा अक्सिजन, भेन्टिलेटर, आईसीयू गरी १४२ बेड छन्। त्यसमध्ये ८० बेड स्थानीय सरकारले बनाएको हो।
दैनिक ३०० को दरमा संक्रमित अस्पतालमा आइरहेका छन्। पछिल्लो समय संक्रमित दर बढ्दै गएकाले बिरामी पनि थपिँदै गएका छन्। कूल परीक्षण गरिएकामा ६० प्रतिशतलाई संक्रमण देखिएको उनले बताइन्। अहिले लक्षण देखिएकालाई मात्रै परीक्षण गरिएको छ।
सीमानाका खुला भएकाले दैनिक चारदेखि पाँच हजार जना स्वदेश फर्किरहेका छन्। जानेलाई रोक्न सक्ने तर स्वदेश फर्कनेलाई भारततिर पठाउन उपमहानगरले नसक्ने उपप्रमुख थापामगरले बताइन्। स्वदेश फर्कन चाहनेका लागि जमुनाह नाकानजिक ‘होल्डिङ सेन्टर’ सञ्चालनमा ल्याइएको छ। बिहान ६ बजेदेखि राति ८ बजेसम्म होल्डिङ सेन्टरमा उपमहानगरले स्वास्थ्यकर्मी खटाएको हुन्छ। ज्वरो, रुघाखोकी र अन्य बिरामीको चेकजाँच हुन्छ। एन्टिबडी पनि परीक्षण हुन्छ। कोरोना परीक्षण देखिएकालाई आइसोलेसन सेन्टरमा राख्ने व्यवस्था मिलाइएको छ। स्वदेश फर्केका तर संक्रमण नदेखिएकालाई आ-आफ्नो घर पठाइएको छ।
उपमहानगरभरिमा १२० बेड क्षमता आइसोलेसन छ। उक्त आइसोलेसनमा संक्रमित बिरामी ४५ जना पुगिसकेका छन्। कोरोना संक्रमण नियन्त्रण तथा रोकथामका लागि गत वर्ष बनाइएको आइसोलेसनलाई नै पुनः सञ्चालनमा ल्याइएको छ। छुट्टै आइसोलेसन सेन्टर थप्ने प्रयास भइरहेको उपप्रमुख थापामगरले जानकारी दिइन्।
बिरामीले अक्सिजनसहितको उपचार पाउन कठिन अवस्था बन्दै गएको छ। संकट बढ्दै गएपछि उपमहानगरले अक्सिजनसहितको आइसोलेसन बनाउन सुरु गरेको हो। अक्सिजनसहितको आइसोलेसन बेड क्षमता ५० जनाको हुने थापामगरले जानकारी दिइन्। ‘अक्सिजन सिलिण्डर नै नपाएर गाह्रो भइरहेको छ,' थापामगरले भनिन्, ‘सिलिण्डर नै महँगो पर्ने रहेछ। प्रजिअलाई पनि गुहारिरहेका छौं।’
उनका अनुसार १० दिनअघि उपमहानगरको बैठक बसेर संक्रमण फेरि बढ्नसक्ने देखिएकाले जनशक्ति र बजेटको आशा गरेको थियो। स्थानीय स्रोत साधनले संक्रमण नियन्त्रण गर्न सम्भव नभएकाले बजेट र जनशक्तिको माग गरी संघ र प्रदेशमा पठाइएको थियो। उपमहानगरले गरेको मागको सुनुवाइ शुक्रबारसम्म भएको छैन। उनले भनिन्, ‘हामीले भनेको माथिल्लो सरकारले सुनेन। २/४ दिन देखि नेपालगञ्जमा संंक्रमणले विष्फोटको रुप लिएको छ।’
पछिल्लो समय धेरै संक्रमित 'होम आइसोलेसन'मा बसेका छन्। सरकारले तोकेबमोजिम आइसोलेसनको मापदण्ड घरमै व्यवस्था गर्नसक्नेहरु आफ्नै निवासमा बसेका छन्। नगरपालिकाभित्र करिब ३०० जना होम आइसोलेसनमा छन्। ‘होम आइसोलेसनमा रहेकालाई आवश्यक सहयोगका लागि स्वास्थ्यकर्मीलाई खटाएको छौं,’ उपप्रमुख थापामगरले भनिन्।
स्वास्थ्यकर्मीले होम आइसोलेसनको मापदण्ड पुगे/नपुगेको हेरिसकेपछि मात्रै आफ्नै निवासमा बस्न स्वीकृति दिने गरिएको उनले बताइन्। २३ वटै वडामा उपमहानगरमा कार्यरत स्वास्थ्यकर्मीलाई नै संक्रमण नियन्त्रणका लागि खटाइएको छ।
वैशाख १५ को मध्यरातसम्म उपमहानगर क्षेत्रभित्र लकडाउन गरिएको छ। लकडाउनलाई प्रभावकारी बनाउन सुरक्षा संयन्त्र परिचालित भएको छ। माइकिङमार्फत् बाहिर हिँडडुल नगर्न आग्रह गरिएको छ।
लकडाउनको समयमा कालोबजारी प्रश्रय नपाओस् भनी बजार अनुगमन सुरु गरिएको छ। उपमहानगरको कार्यलाई सुरक्षा निकायले पनि सहयोग पुर्याएको छ। कालोबजारी गर्ने दुईजना व्यापारीलाई २०/२० हजार रुपैयाँसहित शुक्रबार बिहान जरिवाना गरिएको छ।
कोरोना संक्रमण दर वृद्धि भए पनि त्यसलाई नियन्त्रणका लागि संघीय सरकारले कुनै सहयोग नगरेको उपप्रमुख थापामगरले गुनासो गरिन्। ‘न केन्द्रको सरकारले सहयोग गरेको छ, न प्रदेशले। पहिले त प्रदेशले पनि बोल्थ्यो,’ उपप्रमुख थापाले भनिन्, ‘यसपटक त माथिल्लो दुवै सरकारको सहयोग शून्य छ।’
हवाई सेवा सूचारु रहेकाले लकडाउन रहे पनि हिँडडुल पूर्णरुपमा रोकिएको छैन। लकडाउन महानगरभित्र मात्रै भएकाले पनि अन्य क्षेत्रका नागरिक त्यही बाटो भई हिँड्नेलाई पूर्णप्रतिबन्ध लगाउन नसकेको महानगरले जनाएको छ।
कोरोना संक्रमण नियन्त्रणका लागि यसअघि बनाइएको क्वारेन्टिन हाल सञ्चालनमा छैनन्।