काठमाडौं- पूर्वप्रधानमन्त्री तथा जसपा संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईको न्युरो–इन्डोक्राइनको ट्युमरको शल्यक्रिया हुने भएको छ। काठमाडौंस्थित वीर अस्पतालमा डा सुबोध अधिकारी नेतृत्वको टिमले उनको शल्यक्रिया गर्न लागेको हो।
नेता भट्टराई आजै अस्पताल भर्ना हुने र भोलि (वैशाख १७)गते नै शल्यक्रिया हुने उनको सचिवालयले जनाएको छ।
पेटमा समस्या देखिएपछि लामो समयदेखि काठमाडौंको निदान अस्पतालमा परीक्षण तथा उपचार गराउँदै आएका भट्टराईलाई चिकित्सकहरुले न्युरो–इन्डोक्राइनको ट्युमर भएको आशंका गरेपछि उनी गत फागुन ९ गते भारत गएका थिए।
दिल्लीमा उनको उपचार ’इन्स्टिच्युट अफ लिभर एण्ड बिलिअरी साइन्सेस’मा उपचार भएकाे थियाे। त्यहाँ वायोप्सी, डोटा नोक परीक्षण, इन्डोस्कपी अल्ट्रासाउन्ड, पीइटी सिटी स्क्यानसहित अन्य परीक्षणपछि चिकित्सकहरुले ट्युमरमा क्यान्सर नभएको प्रमाणित गरेका थिए।
देखिएको ट्युमरलाई भने बेलैमा नै ढिला नगरी दुई/तीन महिनाभित्रै शल्यक्रियाद्वारा फाल्नुपर्ने चिकित्सकको सुझाव अनुसार भट्टराईले शल्यक्रिया गर्न लागेका हुन्।