काठमाडौं- थापाथलीस्थित नर्भिक इन्टरनेशनल अस्पतालले कोरोना संक्रमितको संखया बढ्दै गएपछि अस्पताललाई ‘कोभिड अस्पताल’को रुपमा रुपान्तरण गरेको छ।
नर्भिक अस्पतालका कार्यकारी निर्देशक राजेन्द्रबहादुर सिंहले नर्भिकले आफ्नो सेवालाई कोभिड केन्द्रीत गरेको र त्यसलाई थप परिस्कृत गर्दै लगिएको बताए। उनले बिरामीहरुको अनुरोधलाई मध्यनजर गरी नर्भिकले आफूलाई कोभिड अस्पतालमा रुपान्तरण गरेको समेत प्रष्ट पारे।
प्रधानमन्त्री केपी शर्मा ओलीले सबै ठूला अस्पताललाई कोभिड अस्पतालको रुपमा रुपान्तरणका लागि गरेको घोषणाको सिंहले स्वागत समेत गरे। नर्भिकले कोभिड संक्रमणको दोस्रो लहर सुरु भएसँगै यो अवस्थाको आकलन गरी अस्पताललाई कोभिड अस्पतालमा रुपान्तरण गरिसकेको थियो।
‘सरकारले समेत सोहीअनुसारको घोषणा गरेकोमा हामी खुशी छौं। अब अरुले पनि आफ्नो सेवालाई कोभिड केन्द्रीत गर्नुपर्ने देखिएको छ,’ उनले भने।
कार्यकारी निर्देशक सिंहका अनुसार हाल नर्भिक अस्पतालमा उपलब्ध १३५ शय्यामध्ये ९० शय्या कोभिड शय्याको रुपमा रुपान्तरित भइसकेका छन्। ती ९० शय्या कोभिडका बिरामीले भरिएका छन्।
नर्भिकमा रहेका ३५ आइसियू बेडमा पनि कोभिडकै सिकिस्त बिरामीलाई राखिएको छ।
‘हाम्रो अस्पतालमा उपलब्ध बेडहरु अहिले भरिभराउ छन्,’ सिंहले भने, ‘हामीले सरकारको नीति निर्देशनभित्र रहेर बेड संख्या थप गर्ने विषयमा समेत गृहकार्य गरिरहेका छौं।’