धरान- धरानस्थितबिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा एक कोरोना संक्रमित पुरुषको जटिल किसिमको शल्यक्रिया भएको छ।
कल्याणपुर, सिराहाका ४० बर्षीय पुरुषको आज बिहान २:३० बजे आकस्मिक शल्यक्रिया भएको प्रतिष्ठानले जनाएको छ। बिरामीलाई पेट फुलेर ज्यादै दुख्नुका साथै ज्वराे, खोकी, वान्ता र स्वाश्प्रश्वासको समस्या देखिएकाे थियाे।
सिराहाको कर्जनास्थित फुलकुमारी महतो मेमोरियल अस्पतालमा उपचारको लागि भर्ना भएका उनकाे पिसिआर पोजेटिव रिपोर्ट आएपछि थप उपचारका लागि बिपी प्रतिष्ठानमा रिफर गरिएकाे थियाे।
कोभिड अस्पतालमा थप जाँच गर्दा सानो आन्द्रामा छिद्र देखा परेको र पेटमा संक्रमण फैलिएको पत्ता लागेको थियो। जेनेरल सर्जरी विभागका डाक्टर निर्मल प्रसाद शाहको नेतृत्वमा आकस्मिक शल्यक्रिया गर्ने निर्णय गरेर सफलतापुर्वक सम्पन्न भएको सहप्रवक्ता डाक्टर चुडामणी पोखरेलले जानकारी दिए।
उनका अनुसार कोरोनाको दोस्रो लहर शुरु भएयता पुर्णरुपमा बेहोस बनाइ कोभिड अस्पतालमा शल्यक्रिया भएको यो पहिलो हो।
यो शल्यक्रियामा सर्जरी विभागका डाक्टर विजय श्रेष्ठ, डाक्टर संदिप खनाल, डाक्टर सुनिल जैसवाल, डाक्टर राजन सुवेदी तथा एनेस्थेसियाका डाक्टर विशाल देव, डाक्टर राजेश प्रजापती सहभागी थिए। यस्तै, नर्स सुरभी राई, मनिला मगर, हेल्पर सरोज कार्की पनि शल्यक्रियामा सहभागी थिए।
कोभिड अस्पतालमा कोरोनाको पहिलो लहरको बेला पनि पोजेटिभ ५ जना बिरामीहरुको शल्यक्रिया भएको थियो। सो शल्यक्रिया गाइने विभागका डाक्टरहरुबाट गरिएको थियो।
डाक्टर मनोज शाहको नेतृत्वमा दुई वटा, डाक्टर दिप्ती दासको नेतृत्वमा दुई वटा तथा डाक्टर दिपा शाहको नेतृत्वमा एउटा शल्यक्रिया सफलतापूर्वक सम्पन्न भएको थियो। यस्तै, डाक्टर सुर्य प्रसाद रिमालको नेतृत्वमा दुई जना कोरोना पोजेटिभ महिलाको नर्मल डेलिभरी गरिएको प्रतिष्ठानले जनाएको छ।