काठमाडौं - ‘कुनै बेला म मरिसके जस्तो लागेको थियो। मैले दोस्रो जीवन पाएको हुँ।’
गम्भीर अवस्थामा पुगेर पनि कोरोनालाई जितेकी उषाको भनाई हो यो।
नेपालगञ्जकी ४० वर्षीया उषा छिनाललाई आफूले दोस्रो जीवन पाए जस्तो लाग्छ। उनलाई मात्र होइन, उनका श्रीमानलाई पनि यही लाग्छ।
उषालाई केही दिनदेखि लगातार सुख्खा खोकी लागिरहेको थियो। खोकी बढ्दै गएपछि उनी वैशाख १२ गते नजिकैको क्लिनीकमा पुगिन्। त्यहाँ उनलाई कोरोनाको परीक्षण गर्न सुझाव दिइयो।
सुरुमा त उनले कोरोना परीक्षण गर्न मानिनन्। खोकी मात्र लागेको त हो नी भन्ने उनलाई लागेको थियो। तर जोखिम किन लिने ? परीक्षण गरेपछि पोजिटिभ देखिए समयमा नै उपचार गर्न पाइन्छ नेगेटिभ भए ढुक्क हुन्छ भन्ने लागेपछि उनले कोरोना परीक्षण गराइन्। रिपोर्टको प्रतिक्षामा त्यो रात कटाउन पनि उनलाई निकै मुश्किल भयो।
परीक्षणको स्वाब दिएपछि भने रिपोर्ट कुर्ने समयसम्म नतिजा के आउने हो? पोजिटिभ आयो भने भन्ने डरले उनलाई सताइरह्यो।
उनलाई जे कुराको डर थियो, त्यही भयो। नभन्दै पिसिआर रिपोर्टमा उनलाई कोरोना पोजिटिभ पुष्टि भयो।
सुरुमा त उनी निकै आत्तिइन्। मन चिसो भयो। त्यो बेला उनको श्रीमान पनि साथमा थिएनन्। कामको शिलशिलामा नेपालगञ्ज बाहिर गएका थिए।
उनी भन्छिन्, ‘जब म कोरोना पोजिटिभ भएँ। के गरौँ। कसो गरौँ भन्ने भयो। मन धेरै आत्तियो। मैले हत्तपत्त श्रीमानलाई फोन गरेर बोलाए।’
श्रीमतीलाई कोरोना भएको थाहा पाएपछि उनका श्रीमान पनि घर फर्किए। त्यो बेला उनीहरु दुवैको मनमा एउटै प्रश्न थियो, ‘अब के गर्ने ?’
किनभने नेपालगञ्जमा अवस्था सामान्य थिएन। दिनप्रति दिन कोरोना तिव्र गतिमा बढ्दै गइरहेको थियो। बिरामीहरु बेड नपाएर भुईमै सुतिरहेको, मरिरहेको दृश्य उनीहरुले पनि देखेका थिए। त्यसैले हतपत्त उनीहरुले अस्पताल जाने आँट गरेनन्।
उषाका श्रीमानले भने, ‘जब श्रीमतीले फोन गरिन्। त्यसपछि म तत्काल नेपालगञ्ज पुगेँ। त्यो बेला यहाँ अस्पतालहरुमा निकै भयावह अवस्था थियो। बेड, अक्सिजन नपाएर मान्छेहरु मरिरहेका थिए। त्यही भएर मैले उनलाई घरमै राखेँ।’
श्वास फेर्न गाह्रो भएको थिएन। त्यसकारण उनीहरुलाई लाग्यो, अस्पतालमा जानुभन्दा घरमै उपचार गर्नु ठिक। घरमा बस्ने तर चिकित्सकसँग परामर्शमा नै रहने उनीहरुले निर्णय गरे।
साथीभाइको सुझावमा उनले भेरी अस्पतालका एक चिकित्सकको नम्बर पाए। ती चिकित्सकले पनि फोनमै परामर्श गरे र केही औषधि पनि खान सल्लाह दिए। त्यसपछि कोरोना संक्रमित उषा सात दिन होम आइसोलेसनमै बसिन्।
सुरुवाती दिनमा उनलाई खोकी मात्र लागेपनि दोस्रो साताबाट भने गाह्रो बनाउन थाल्यो। शरीरमा अक्सिजनको मात्रा पनि घट्दै गयो। श्वास फेर्न समस्या हुनुका साथे गाह्रो हुँदै गएपछि उषालाई नेपालगञ्जको वडा नं ४ मा स्थापना गरिएको आइसोलेसन सेन्टरमा लगियो।
एक स्वस्थ मानिसको शरीरमा अक्सिजनको स्याचुरेशन ९५ प्रतिशतभन्दा बढी हुनुपर्छ। तर आइसोलेसन सेन्टरमा पुर्याउँदा उषाको शरीरमा अक्सिजनको मात्रा ८४ प्रतिशतमा झरिसकेको थियो।
आइसोलेसन सेन्टरको पहिलो दिन उषालाई औषधि मात्र दिइएको थियो। स्वास्थ्यमा कुनै सुधार नभएपछि आइसोलेसन सेन्टरमा खटिएका डा दीपक गुप्ताले छातिको एक्सरे र रगत परीक्षण गर्न भने।
छातिको एक्सरे गर्न उनीहरु एम्बुलेन्स मार्फत एक अस्पतालमा पुगे।
उषाको अवस्था निकै जटिल बनिसकेको उनका श्रीमान बताउँछन्।
भन्छन्, ‘छातिको एक्सरे गर्ने बेला मलाई त अब यति नै रहेछ। सबै सक्यो भन्ने लागि सकेको थियो।’
उनका श्रीमानका अनुसार दोस्रो दिन त अक्सिजनको मात्रा ७० प्रतिशतमा झरिसकेको थियो। त्यसपछि उषाको उपचार अक्सिजनमै राखेर सुरु भयो। आइसोलेसन सेन्टरमा उषाको उपचार संभव नहुने पनि भनिएको थियो। तर अस्पतालमा पनि सहजै शय्या र अक्सिजन पाउने अवस्था थिएन। आइसोलेसन सेन्टरमै राखेर उपचार गर्नुपर्ने उनीहरुको बाध्यता थियो।
उषा र उनका श्रीमान निकै आत्तिएका थिए। उषालाई त अब म नबाँच्ने भए भन्ने समेत लागिसकेको थियो। तर आफ्नो श्रीमान र डा गुप्ताले मनोबल बढाउन निकै मद्दत गरेको उनीहरु सम्झन्छन्।
‘जब म निकै आत्तिएँ। दीपक डाक्टर साबले मेरो श्रीमतीको खुट्टा समातेर दिदी तपाई नआत्तिनुहोस्। हामी छौँ। हामी तपाईलाई केही हुन दिदैनौ भन्नुभयो’ उषाका श्रीमानले भने।
श्रीमानकै कुरा नसकिदै उषा थप्छिन्, ‘त्यसपछि मेरो हौसला बढ्यो। मलाई केही हुँदैन। म बाँच्छु भन्ने आश पनि मनमा जाग्यो।’
अक्सिजनमै राखेर उषाको आइसोलेसन सेन्टरमा उपचार भइरह्यो। उषाको स्वास्थ्यमा पनि विस्तारै सुधार हुँदै गयो। त्यसपछि पाँचौ दिनमा उषा डिस्चार्ज भइन्।
उनले भनिन्, ‘मेरो आइसोलेसन सेन्टरमै उपचार भयो। नभन्दै मेरो स्वास्थ्यमा राम्रो सुधार भयो। पाँचौ दिनमा त म डिस्चार्ज भएँ।’
एउटा बिरामीका लागि आफन्तको हौसला र चिकित्सकको राम्रो व्यवहार निकै महत्वपूर्ण हुने उषा सुनाउँछिन्।
‘मेरो श्रीमान र डाक्टरहरुले केही हुँदैन। नआत्तिनुस् भनिरहनु हुन्थ्यो। त्यसपछि नै मेरो आत्मबल बढेको हो। त्यही आत्मबलले मैले दोस्रो जीवन पाएँ’ उनले भनिन्।
कोरोना हुँदैमा नआत्तिन उषा सबैलाई आग्रह गर्छिन्। आत्मबल बलियो भए कोरोनालाई जित्न सकिने उनको अनुभव छ।
हाल उनी संक्रमण मुक्त भएपनि थकाई लाग्ने र स्वाँ–स्वाँ हुने समस्या भने देखिएको छ।