अबको पालो मेरै थियो। साथी समकक्षीहरुलाई अलि सजिलै बिषय परेको जस्तो मलाई भान भइरहेको थियो। हुनत आफ्नो बिषय वा आफ्नो व्यथा सबैलाई ठूलो लाग्छ। अर्काको ठूलो लाग्ने त केबल पस्केको भातको थुप्रो मात्र हो। मन एकदमै अस्थिर भइरहेको थियो। के कस्ता कुराहरु बारे व्याख्या गर्नुपर्ने हो। म छनौट हुने हो कि हैन। अनेकौं कुरा खेल्दाखेल्दै एक्कासी मेरै नाम उच्चारण गरेको सुनें। कालो टोपी लगाएका दाईले गेटबाट नेत्र अर्याल भन्दै बोलाउनु भएको रहेछ।
म झसंगै भएँ र हतार हतार ढोका निर लागेँ, अनुमती लिई भित्र छिरेँ। अलि फरक विषय जसमा त्यति खास ज्ञान पनि थिएन, मात्र थाहा थियो त सरुवा रोग, यसको औषधि छैन, खोप छ तर कति प्रभावकारी भन्न नसक्ने। तर माहोल त्यस्तो थिएन। विषयबस्तु कल्पना गरे बमोजिमका थिएन। तर पनि अन्तर्वातामा भाग लिएर उत्कृष्ट हुने आशाका साथ सहभागी भएपछि हिम्मत हार्ने त कुरा पनि भएन। आफूलाई हौसला प्रदान हुने किसिमको सोच बनाई मनोबललाई बलियो बनाएँ अनि अन्तर्वाताका लागि तयार भएँ।
हेर्दा अलि उमेर पाकेको, चुस्स दारी फुलेको एक जना गुरुले आफ्नो बारेमा केहि भन्न भन्नु भयो। मैले 'म एक स्वास्थ्यकर्मी राष्ट्रमा परेको बिपदको बेला सेवा गरि केहि योगदान गरौं भनेर आएको' मैले कुरा टुङ्गयाउन नपाउँदै गुरु हास्नु भो, अनि भन्नु भयो ल सेवा गर्ने भए नि:शुल्क स्वयं सेवा गर्न सक्छौ त? म त्यसै कालो मान्छे अनुहार झन् कालो भएछ। तर पनि मुस्कुराउने कोशिश गर्दै थिएँ। उहाँले कुरा बुझिहाल्नु भयो। मेरो मौनतामा कति कुरा लुकेका थिए। खै कति चै बुझनुभयो? तर मेरो मनले चाँहि धेरै कुरा भन्दै थियो। नि:शुल्क सेवा गरेर मेरो पापी पेटलाई आहार कसले देला? मेरो परिवारलाई रासन पानी कसले पुर्याकइदेला? मैले पढ्ने बेलाको ऋण कसले तिरदेला ? मेरो छोराको स्कुल फी कसले भर्देला? मेरी आमाको औषधि हप्ता हप्तामा कसले पुर्या इदेला? मेरो बालाई त्यो अम्मल छोड्ने आयुर्वेदिक धुलो कसरी ल्याईदिने होला? भर्खर जन्मिएकी भान्जीलाई कानका मुन्द्री कसले बनाइदेला? काम गर्ने क्रममा केहि भए कसले जिम्मा लेला? कान्छो छोराका लागि सेर्लेक्स कसले किनिदेला? मनमा लाखौं कुरा खेल्न लागे। त्यो प्रसंग सेलाउन नपाउँदै उमेरले मेरै हाराहारीको ओठको तल चुच्चो दारी पालेको एकजना गुरुले डराउनु भयो क्या हो? फ्रि मा हैन तलब पाइन्छ भन्दा म फेरि झसंग भए। अनि बडा फुर्तीसाथ जवाफ दिएँ- किन डराउनु सर, सेवा गर्नका लागि नै पढेको हो। देश र जनताको सेवाका लागि फ्रि मै भएपनि सेवा गर्ने हो।
अघि मुसुक्क हाँसेको सर मजाले हाँस्नु भयो। अलि बढिनै बोलेछु क्यारे मेरो भनाईमा स्वार्थको गन्ध मिसिए झै लागिरहेको थियो। हुन पनि हो मलाई यो समाज, समय, परिस्थितीले स्वार्थी बनाएको थियो। त्यतिकैमा ति सरले मलाई कोभिड रोगको बारेमा केही भन्नु भनेर प्रश्न राख्नुभयो। त्यस बिषयमा मसंग खासै रेडिमेड उत्तर नभएपनि मैले चित्त बुझ्दो जवाफ दिएँ जस्तो लाग्छ।
कोरोना भाइरसको कारणले लाग्ने श्वासप्रस्वास सम्बन्धी रोग हो। यो भाइरसले सामान्य ज्वरो खोकीदेखि लिएर गम्भीर समस्या पनि ल्याउन सक्छ। उच्च ज्वरो आउने, खोकी लाग्ने, श्वास फेर्न कठिनाई हुने यसका मुख्य लक्षणहरु हुन्। हुनत यो भाइरसले आफ्नो रुप परिवर्तन गरेसंगै यो रोगका लक्षणहरु पनि फरक फरक देखिदैछन् भन्ने सुनेको छु।
ति गुरु अलि पुर्वाग्रही भएर मलाई प्रश्न सोधेको हो जस्तो लाग्यो। मेरो जवाफ सुनेर उहाँको त्यो दारी माथीको ओठ खुलेकोखुलै रह्यो।
अब उहाँले प्रश्न सोध्ने त कुरै भएन एक त मुख खुलेकोखुलै थियो। अर्को कुरा अपेक्षा गरिएको भन्दा कयौं गुणा सहि उत्तर आएको झैं लाग्थ्यो।
एकैछिन मन्चमा आसिन सबैजना गुरुहरु एकअर्कामा हेराहेर गर्न थाल्नुभयो। त्यहि समयमा सटको बटन उछिट्टिएर मेरो आँखामै लाग्ला जस्तो पुट्ट भुँडी बाहिर निस्कीएको सरले बटन र बटन बस्ने घरलाई मिलाउँदै गर्दा मैले बुझिहाले अबको प्रश्न सोध्ने पालो उहाँको हो। सायद अरुहरुले पनि बुझ्नु भएरै होला कोही बोल्ने तरखर गर्नु भएन।
त्यतिकैमा उहाँले मलाई प्रश्न गर्नुभयो। ल त्यसो भए यो रोग नियन्त्रण तथा रोकथाम कसरी गर्ने?
यही प्रश्न मलाई लेख्न दिइएको भए मैले एकदमै उत्कृष्ट तरिकाले लेख्न सक्थें तर पनि यो खासै नौलो बिषय भने भएन। मैले शुरु गरेँ- यो रोग एक व्यक्तिबाट अर्को व्यक्तिमा श्वासप्रश्वासको माध्यमबाट सर्दछ। नजिक हुँदा खोक्दा, हाच्छिउँ गर्दा थुकका छिटाहरुबाट यो रोग सर्दछ। त्यसैले यो रोगबाट बच्न एक अर्का बिच कम्तिमा २ मिटरको दुरी कायम गर्ने, नियमित मास्कको प्रयोग गर्ने साथै बेला बेलामा साबुन पानीले वा अल्कोहलयुक्त स्यानिटाइजरले हात धुने गर्नुपर्दछ।
मैले कुरा अन्त्य गर्नै पाएको थिएन, हेर्दा कुनै दक्षिण भारतको चलचित्रका नायक जस्तो देखिने सरले मलाई बिचैमा रोक्नुभयो। मैले त्यति मेसो चाँही पाईन, मेरो जवाफ एकदमै प्रसंग भन्दा बाहिर गयो वा मैले भन्न खोजेका कुरा लगभग प्रसंग अन्तर्गत नै थिए। एक्कासी मलाई रोकनुमा केही दुविधा भने उत्पन्न भएकै हो। तर उहाँहरुको अनुहारको चमक साथै हाउभाउ हेर्दा चाहीँ म ट्रयाकमै छु भन्ने विश्वास जाग्यो।
दक्षिण भारतको चलचित्रका नायक धनुष जस्ता देखिने सरले मलाई प्रश्न राख्नुभयो। यो रोगका बारेमा विभिन्न नकारात्मक धारणाहरु छन् नि हैन ?
मैले अबेर नगरी उत्तर दिन शुरु गरेँ- सामाजिक संजाल रङ्ग्याउनका लागि मात्रै भएपनि विभिन्न व्यक्तिले विभिन्न किसिमका गलत धारणा र अफवाह फैलाउने गरेको पाइन्छ। अवैज्ञानिक, कुनै अध्यन नै नभएका तथा अकल्पनिय कुराहरु ल्याएर समाजमा नकारात्मक सन्देश फैल्याउने गरेको पाइन्छ। कोरोना केही पनि हैन यो चाइनाले बनाएको हो भन्ने जस्ता गलत कुरा पनि फैलाइएको छ। यस्तै यो त मास्क, स्यानिटाइजरको व्यापार हो भन्ने जस्ता कुरा पनि गरेको पाइन्छ। अझ यसको आषधि यस्तो हो, कागतीले कोरोना मार्छ, हाच्छु गरे कोरोना भाग्छ बेसार र बेलौतीको पात सेवन गर्नाले कोरोना मार्छ.. यति कुरा भन्न नपाउँदै गलल्ल हाँसोको आवाज आउछ। सबैले एक अर्कामा हेर्न थाल्नुभयो। सायद यो वाक्य चाँही तात्तातो भएरै होला।
कुनै दलसंग आवद्द हुनुहुन्छ? कुन कुन नेता चिन्नुहुन्छ?
छैन सर म कुनै दलमा आवद्द छैन र रह्यो कुरा नेता को, खै चिनेछु भन्ने कि चिनेको छैन भन्नु रातारात मन्त्री फेरिन्छन यहाँ।
यो जवाफ अलि चित्तबुझ्दो लाग्यो या प्रसङ्गसंग मेल खायो, मैले जवाफ दिँदै गर्दा उहाँ मुस्कुराई मात्र रहनु भएको थियो।
अब भन्नुहोस त त्यसोभए नकारात्मक धारणाहरुलाई चिर्दै व्यवहाङ्गा परिवर्तन ल्याउन कत्तिको सजिलो छ त ? यो प्रश्न चाहीँ कुनामा बसेर एकपल्ट पनि नबोल्नु भएका मुखभित्र केहि मिठो चिज चपाइरहनुभएका झण्डै टाउकाको दुई तिहाई भाग निदार भएका सरको थियो।
व्यवहार परिवर्तन त्यति सजिलो विषय भने होइन। कोभिड-१९ ले लगातार साबुन पानीले हात धुन तथा मास्क लगाउने बानीको विकास गरायो। जसले गर्दा अन्य संक्रामक रोगहरुमा कमी आएको छ। नेपाल सरकार तथा अन्य विभिन्न संघसंस्थाहरुले हात धुने बिधि र मह्त्वको बारेमा निरन्तर तालिम कार्यक्रमहरु संचालन गर्दा पनि त्यति उल्लेखनिय मात्रामा व्यवहार परिवर्तन भएको पाइएको थिएन।
व्यवहार परिवर्तन खासगरी दुई प्रकारले हुन्छ भन्ने मान्यता छ। एक हो- विवेकशिलतामा आधारित र अर्को हो- पिडा वा असुविधामा आधारित। मानिस ज्ञान हासिल गर्दैमा परिवर्तन हुन्छ भन्न सकिन्न तर पिडा वा असुविधा महशुस गरेको अवस्थामा भने परिवर्तन हुन सक्दछ। व्यवहार परिवर्तन आफैंबाट शुरु गरिनु पर्दछ। ज्ञान, शिक्षा र सुझाव प्रदान गर्दैमा परिवर्तन हुन्छ भन्ने विश्वास गरिँदैन र त्यसो भएको पनि पाइएको छैन। आफैंले प्रण गर्नु पर्दछ। व्यवहार परिवर्तन गर्न त्यति सजिलो नभए पनि असम्भव भने छैन।
मेरो जवाफ सुनेर त्यो कुटुकुटु चपाइरहनु भएको मठो चिज घुटुक्क निल्नुभयो र केही असहज महशुस गरेझैं गर्दै हुनुहुन्थ्यो ति कुनामा बस्ने सरले।
त्यसैबिच सबैले एक अर्कामा हेराहेर गर्दै हुनुहुन्थ्यो। मलाई लाग्दैथ्यो अब प्रश्नहरु सकिए, मेरो पालो पनि सकियो। तर ति शुरुमै प्रश्न गर्नुभएका उमेर ढल्केका सरले मलाई अर्को प्रश्न तेर्स्याहाल्नुभयो- ल तपाईंले हरेक प्रश्नको एकदमै राम्रो उत्तर दिनुभएको छ। अब अन्तिम एउटा कुरा सोध्छु है। यदि तपाईंले मानिसहरुलाई यो रोगबाट बच्ने बारेमा केही सन्देश दिने अवसर पाएको खण्डमा के सन्देश दिनुहुन्छ?
यसपाली भने उहाँले अली नम्र भएरै प्रश्न राख्नुभाथ्यो। लाग्थ्यो मसंग अलि डराउनु भो या बिचरालाई कति सताउने भन्ने मनमा लागेकोथ्यो।
हामी छलफल गरेको धेरैनै बेर भैसकेको थियो, अन्तिम प्रश्न भनेको हुनाले केहि उत्साहका साथ मैले मेरो जवाफ सुरु गरेँ।
कोभिड-१९ को बारेमा र यसबाट बच्ने उपाएका बारेमा सकारात्मक सन्देश प्रवाह गर्दै सम्पुर्ण नागरिक तथा सरोकारवालाहरु एकजुट भएर लाग्नु पर्दछ। आ-आफ्नो स्तरबाट राज्यलाई सहयोग गर्नपर्दछ। सरकारले गर्छ भनेर मात्र हुँदैन। यो देश हाम्रो हो, सरकार हामी हो, संक्रमण नियन्त्रण गर्न हामी सबैको उत्तिकै भुमिका रहेको हुन्छ। हामीले जनस्वास्थ्यका मापदण्ड पालना गर्नु आवस्यक छ र यस्ता कृयाकलापमा अग्रसर भयो भने हामी यो रोग नियन्त्रण गर्न अवश्य सफल भइन्छ। यति भन्दै मैले मेरो उत्तर समाप्त गरेँ।
एकजना सरलाई त मेरो उत्तर सार्है मन परेछ क्या हो ताली बजाउन थाल्नु भयो। एक जना सरले ताली बजाउँदा अर्को सरले आँखाको इसाराले तपाईं अब जान सक्नुहुन्छ भन्ने भाव प्रदर्शन गर्नुभयो अनि कुरा थप्दै भन्नुभयो। यदि तपाईं छनौट हुनुभयो भने कार्यस्थल कता रोज्नुहुन्छ ?
प्रश्न सकिन नपाउँदै मनमा अनेकौं कुरा खेल्न थाले, मलाई छनौट हुने पक्का जस्तै भान भयो, ठाँउ छनौट गर्दा पर्ने हो या नपाईने हो भन्ने डरले मैले देशभर जहाँ पठाएपनि जाने प्रतिबद्दता जाहेर गरेँ र एउटा जिज्ञाशा राख्ने अनुमती मागेँ।
सर म संघ, प्रदेश र स्थानीय तहमध्ये कताको कर्मचारी हुन्छु?
मेरो प्रश्नले त्यहाँ एक किसिमको तरङ्ग पैदा गर्यो।
तपाईं कहाँ जाने इच्छा छ? मुखमा केही चपाइरहेका सरले मलाई सोध्नुभयो।
मैले फेरि पहिलेकै दुविधा सम्झें र पहिलेकै उत्तर दोहोर्याएँ।
सरले फेरि मलाई प्रश्न तेर्स्याउनु भयो। तपाईंले संघ, प्रदेश र स्थानीय तहका कर्मचारीको बारेमा के बुझ्नु भाछ ? तपाईंलाई कुन राम्रो लाग्छ ?
मैले धेरै बुझेको छैन, स्थानीय तहमा जनप्रतिनिधिले भनेझै गरेन भने टिक्न गार्हो हुन्छ रे कुरा मिल्ने खालका भए भने चै काम धेरै नै गर्न सकिन्छ रे, प्रदेशमा अलि चार्मिङ् कम छ। अधिकारहरु कम छन्। स्थानीय तहले खासै गन्दैनन रे। अनि संघमा चै पहिला जस्तो छैन रे। पहिला गाउँमा जाँदा केन्द्र, मन्त्रालय, विभागबाट आएको भनेर लस्करै फूल मालाले स्वागत हुन्थ्यो रे। रात्री भोजमा गाँउ घरको विशेष परिकार बन्थ्यो रे। स्वस्थकर अस्वस्थकर सबै प्रकारका खानपिन हुन्थे रे। जमाना त्यस्तो रहेन आजकाल। हुनत अहिले गाँउगाँउमा सिंहदरवार पुगेर पनि होला पुरानो सिंहदरवारको भ्यालु घटेको।
तपाईंलाई त धेरै कुरा आउदो रहेछ। त्यसो भए तपाईंलाई संघीयता पहिलाको स्वास्थ्य प्रणाली राम्रो कि पछिको? दक्षिण भारतको चलचित्रका नायक धनुष जस्ता देखिने सरले मलाई प्रश्न गर्नुभयो।
स्वास्थ्य प्रणालीको कुरा गर्दा गाँउगाँउमा स्वास्थ्य संस्था थिए। कृयाकलाप तथा सेवा सुविधा एकद्वार थियो। विभिन्न तह तप्कामा स्वास्थ्यका संरचना थिए। कर्मचारीमा अंशबंडा थिएन। पुर्वको मान्छे पश्चिममा पश्चिमको मान्छे पुर्वमा खुसीले काम गरेका थिए।
त्यसो भए तपाईंलाई पहिलाकै स्वास्थ्य प्रणाली ठिक लाग्थ्यो? सरले फेरि थप्नुभयो।
त्यसो भन्दा अहिले धेरै कामहरु नभएका चाँही होइनन्। स्थानीय तह मजबुद छ। योजना तर्जुमा र कार्वान्यन गर्ने अवसर छ। आवश्यकता अनुसारको बजेट विनियोजन गर्ने अवसर छ। पुर्वाधारको विकास तिब्र गतिमा भएको छ। अलि कर्मचारीको समायोजनमा भने केही तिक्तता आयो। तर तपाईं नै भन्नु त सर संघीयता पहिला पनि स्वास्थ्यमा राम्रो प्रणालीथ्यो। म त भन्छु स्वास्थ्यमा पहिलेनै संघीयता आइसकेथ्यो। एउटा सिफारिस लिन सदरमुकाम जानु पर्थ्यो तर गाँउ गाँउमा सिटामोल थियो। मैले अलि उत्साहित हुँदै थपे। स्वास्थ्य जस्तो संवेदनशिल क्षेत्रलाई यसरी खण्डिकरण नगरी, उ संघको फलानो प्रदेशको अनि ढिस्कना स्थानीयको भनि बिल्ला भिराइदिनु भन्दा सिङ्गो राष्ट्रको स्वास्थ्यकर्मी, सिङ्गो राष्ट्रको कर्मचारी भन्ने र सबै एउटै प्रणालीमा अटाउन सक्ने हो भने अहिलेको भन्दा धेरै उत्कृष्ट कार्यसम्पादन हुन्छ र यस्तो बिपद् परेको बेला कर्मचारी व्यवस्थापन गर्न धेरै नै सहज हुन्छ।
म निस्कने तरखरमा थिएँ, एक पल्ट पनि प्रश्न नसोधी हल्का निद्रामा भएजस्तो भान भएका 'कमेडी च्याम्पियन शो'का जज जस्ता देखिने सरले ताली बजाउदा मलाई उहाँ प्रतिका सबै नकारात्मक धारणाहरु हटे, एक्कासी पुरै डाईहार्ट फ्यान हुनु भएछ क्यारे। अन्तिम प्रश्न भनिसकेपछि पनि एउटा प्रश्न सोध्ने अनुमती राख्नु भयो।
हालको अवस्थालाई नियन्त्रण तथा व्यवस्थापन गरि समृद्ध राष्ट्र निर्माणमा क कसको अझ भन्नु पर्दा तपाईं जस्ता युवाको के योगदान रहन्छ?
एक्स्ट्र प्रश्न त्यही माथि खुला प्रश्न परेछ, धेरै बोलौं समय बढि भइसक्यो, बोल्दा बोल्दै अलि बढी जान्छ कि भन्ने पिर। तर पनि इम्प्रेसन पार्नु थियो मैले शुरु गरें।
योगदानको कुरा गर्दा हरेक सरोकारवालाको योगदान हुन जरुरी छ। ठुला व्यापारीहरुले देशमा आपत परेको बेला सहयोग गर्नुपर्दछ। विभिन्न् संघ संस्थाले आ-आफ्नो क्षेत्र अनुसारको सहयोग गर्नु पर्दछ। विभिन्न मठ मन्दिर, धार्मिक स्थल, गुठी, ट्रस्ट, कोष तथा समूहहरुमा जम्मा रहेको पुँजी यस्तै बेला खर्च गर्नुपर्दछ।
सबैजना मिल्यो भने एकदमै सहज हुन्छ। युवा वर्ग त देशका गहना हुन् उनीहरुमा शक्ति जोश इच्छाशक्ति उच्च हुन्छ, हामी जस्ता युवाहरु अग्रपंतीमा अभिनु जरुरी हुन्छ।
सर रिजल्ट कहिलेसम्म निस्कन्छ? मैले अत्यन्तै भावुक भई प्रश्न राखें।
खोई महिनौं पनि लाग्न सक्छ, प्रक्रियाहरु लामो हुन्छन् त्यो शुरुमा प्रश्न राख्ने मोदीको जस्तो सेतो दाह्री भएको सरले अलि नमिठो स्वभावले जवाफ दिनुभयो।
'हुनत हो सर यस्तो संवेदनशिल विषयमा समय त लगाउनै पर्यो। प्रक्रिय सबै पुर्याउनु पर्छ । समय त लाग्छ नि, महामारी व्यवस्थापनका लागि कर्मचारीको छनौट हो। समय त लाग्नै पर्यो। रातारात हुनलाई त कि त मन्त्री हेरफेर गर्ने काम हुनपर्यो कि त संबैधानिक निकायको नियुक्ति गर्ने हुनुपर्यो। कर्मचारी छनौट र सामाग्री व्यवस्थापन त प्रक्रिया पुरा गरेरै गर्नुपर्छ सर भनि मैले मजाले उत्तर दिन चाहेको थिएँ' तर म चुप लागेँ। केही बोलिनँ।
धन्यबाद भन्दै बाहिर निस्केँ। ढोकाबाट के बाहिर हेरेको थिएँ, मेरा आँखामा अटाउनै नसक्ने गरि मानिसहरुको लाइन थियो। लाग्थ्यो चुनावमा मतदान गर्नेको भिड थियो, कुनै राजनैतिक दलको आमसभा थियो। अझ भन्नु पर्दा दलहरुबिचको शक्ति प्रदर्शनी थियो। बेरोजगार भएर आफ्ना शैक्षिक प्रमाणपत्र प्रदर्शन गरि आफुले हसिल गरेको सिप बिक्री गरि राष्ट्रलाई अफ्ठारो परेको बखत सहयोग गर्ने इच्छा र आशाका साथ घण्टौं लाइनमा उभिएका व्यक्तिहरुको भिड थियो त्यो।
अनि म आफैंलाई देखेर अनि ति भित्र गरेका कुरा प्रसंग र मैले भनेका शब्द “समाज रुपान्तरण र समृद्ध राष्ट्र निर्माणमा युवाको योगदान” सम्झेर झसंग भएँ। युवाजति दैनिक जसो रोजगारका लागि लाइन लाग्नु परेको छ। देशमा योगदान त खै कसकसको छ। यि त भन्ने कुरा न हुन्। यि त नारा मात्र हुन्। यहाँ त युवाको कुनै सिमा हुँदैन, कुनै उमेर समूह हुँदैन। यहाँ त युवा हुनलाई दाह्री जुङ्गा पाक्नै पर्छ। बर्षौसम्म राजनीतिमा थाक्नै पर्छ।
तर पनि राष्ट्रलाई अफ्ठारो परेको बेला कहिल्यै हार मान्नु हुँदैन……..
-(अर्याल स्वास्थ्यकर्मी हुन्)