काठमाडौं- थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलले असार २८ गतेदेखि अत्याधुनिक सुविधा तथा प्रविधियुक्त जेनेटिक ल्याबसहितको आइभिएफ एण्ड फर्टिलिटि सेन्टर संचालनमा ल्याउने भएको छ।
विभिन्न कारणले सन्तान नभएकाहरुका लागि गुणस्तरीय सेवा दिनका लागि आइभिएफ एण्ड फर्टिलिटी सेन्टर संचालनमा ल्याउन लागेको अस्पतालले जनाएको छ।
वरिष्ठ स्त्री रोग तथा टेस्टट्यूब बेबी विशेषज्ञ एवम् ल्याप्रोस्कोपिक सर्जन डा नूतन शर्मा नेतृत्वको टिमले नर्भिक आइभिएफ एण्ड फर्टिलिटी सेन्टरबाट सेवा प्रवाह गर्नेछ।
डा शर्माका अनुसार नर्भिक अस्पतालको आइभिएफ एण्ड फर्टिलिटी सेन्टर नेपालका अस्पतालहरुमध्येकै अत्याधुनिक एवम् सुविधायुक्त हुनेछ। विश्वमा पछिल्लो समय अभ्यासमा आएका अत्याधुनिक उपकरण तथा प्रविधिहरुको प्रयोग गरी स्तरीय सेवा दिने तयारी अन्तिम चरणमा पुगेको डा शर्माले जानकारी दिइन्।
यो सेन्टरमा वंशाणुगत रोगको पहिचान गर्ने प्रि–जेनेटिक डाइग्नोसिस सेवासहितको ल्याब समेत संचालन हुनेछ। नेपालमा हालसम्म कुनै पनि आइभिएफ सेन्टरमा प्रि–जेनेटिक डाइग्नोसिस सेवा उपलब्ध नभएको अस्पतालले जनाएको छ।
प्रि–जेनेटिक डाइग्नोसिसमार्फत स्वस्थ भू्रणको अवस्था पहिचान गरी गर्भाधारण गराउने गरिन्छ। जसका कारण भविष्यमा जन्मिने बच्चाहरुमा हुनसक्ने विभिन्न खाले वंशाणुगत रोगको जोखिम निराकरण गर्न सहयोग पुग्नेछ।
नर्भिकको यो सेन्टरमा आधुनिक सुविधासहित स्त्रीरोग, प्रसूति सेवाका साथै निसन्तान दम्पत्तिहरुका लागि उपचार सेवा उपलब्ध हुनेछ।
परिवर्तित जीवनशैली, वातावरणीय अवस्था र बढ्दो तनाव लगायतका कारणले अधिकांश महिलामा बाँझोपन अर्थात निसन्तान सम्बन्धी समस्या विकराल बन्दै गएको छ।
बढ्दो उमेर, ढिलो विवाह, धुम्रपान तथा मादक पदार्थको सेवन, यौन सम्बन्धी रोग, पाठेघरको संक्रमण, असुरक्षित गर्भपतन, महिनावारी रोक्ने औषधिको अधिक सेवन, लामो समयसम्म गर्भनिरोधक अस्थायी साधनको प्रयोग, अधिक मोटोेपन, सुगर तथा थाइराइडको समस्या लगायतका कारणले पनि महिलाहरुमा बाँझोपन हुने अध्ययनहरुले देखाएका छन्।