विश्व महामारीको रुपमा रहेको कोभिड-१९ को संक्रमण हाल नेपालभरी नै फैलिएको अवस्थामा छ। यो समयमा विशेषगरी बढी जोखिमयुक्त मानिएका उमेर समूह र दीर्घ रोग भएकाहरुलाई संक्रमणबाट जोगान आवश्यक छ। यसका साथै अन्य समूह पनि संक्रमणबाट जोगिन उत्तिकै आवश्यक छ। समयमा नै कोभिड-१९ भएको पत्ता लगाई उपचार तर्फ जोड दिनु नै महत्वपूर्ण हुन्छ।
कोभिड-१९ नयाँ रोग हो। यो भाइरसबाट सर्ने रोग हुनाले यसको जाँच शुरुमा मोलिकुलर लेबलको मात्र हुने गरेको थियो। विस्तारै अहिले अरु निदानका विधिहरु समेत आइसकेको अवस्था छ।
कोभिड-१९ को लागि गरिने केही निदानका विधि:
• पिसिआर (आरटी पिसिआर)
• आरडिटी (एन्टीजेन)
• लेम्प
• इलाइजा
• किलिया
माथी उल्लेखित अलवा रेपिड एन्टिबडी टेस्ट (आरडिटी,एन्टिबडी) अर्को जाँच गर्ने विधि हो। शुरुवाती अवस्थामा एन्टीजेन किट बनी नसक्दा नै प्रयोग गरेर धेरै विवादस्पद बनेकोले हाल प्रयोगमा आएको देखिँदैन। एन्टीजेन भनेको रोग गराउने अणु हो, यसैले शरीरको रोग प्रतिरक्षा प्रणालीलाई एन्टीबडी बनाउन सक्रिय बनाउदछ। त्यसैले रोगबाट संक्रमित भएको अवस्थामा एन्टीजेन टेस्ट गर्न सकिन्छ। एन्टिबडी टेस्ट शुरु मै भन्दा पनि संक्रमित भइसकेको केहि समयपछि मात्र गर्नुपर्ने हुन्छ। त्यतिबेला एन्टीजेनको कारणले शरीरको रोग प्रतिरक्षा प्रणालीले एन्टिबडी बनाउन शुरुवात गरिसकेको हुन्छ। शरीरमा एन्टिबडी बन्ने र टेस्ट गर्ने समयको तालमेल नमिल्दा पनि यो टेस्ट उपयोगी बन्न नसकेको हुन सक्छ।
हाल नेपालमा एन्टिबडीको मात्रा कती छ भनेर नाप गर्न सकिने एन्टिबडी टेस्ट (क्वान्टिटेटिभ) पनि शुरु भैसकेको छ। जुन टेस्टले कोभिड १९ भएको/नभएको भन्दा पनि कोभिड १९ पोजिटिभ भइसकेको या भ्याक्सिन लगाएको केहि हप्ता पछी शरीरको रोग प्रतिरोधी क्षमताले गर्दा कोभिड १९ भाइरसविरुद्ध लड्ने एन्टिबडी कति बनायो भनि हेर्न सकिन्छ। त्यसो त पिसिआर टेस्ट पनि अझै परिस्कृत खालको नि हुन्छ जुन निदानको विधिबाट भाइरसको लोड (क्वान्टिटेटिभ) नै पत्ता लगाउन सकिन्छ।
के हो पिसिआर?
पिसिआर (पोलिमरेज चेन रियाक्सन) भनेको भाइरसलाई धेरै गुणा बड्ने अवस्था बनाएर त्यसको उपस्थिती पहिचान गर्नु हो। पिसिआर गर्दा भाइरस दोब्बर हुँदै जान्छ। मानौं १ वटा छ भने २, ४, ८, १६ हुँदै जान्छ र १००० भन्दा माथि पुगेपछि उपस्थिति पहिचान हुन थाल्छ। मोलिकुलर लेभलमा जाँच गरिने पिसिआर टेस्टलाई हामीले गोल्ड स्टान्डर्ड (उत्तम्) जाँच मान्दछौं।
यो टेस्ट गर्दा लिइएको नमुना (नाजल/थ्रोट स्वाब)मा भाइरसको उपस्थिती रहेको पत्ता लगाइन्छ। जुन उपस्थिलाईलाई जाँच गर्दा धेरै र थोरै मात्रामा भनेझै त्यसलाई वर्गिकरण गरी पोजिटिभ/ नेगेटिभ भन्छौं। २, ४, ८, १६ हुँदै जादा यो दोब्बर भइरहेको पटक चाँही यही सिटी (साईकल थ्रेसहोल्ड) भ्यालु हो। त्यो मात्रा जती छिटो आयो, पोजिटिभ भन्न त्यती सजिलो हुन्छ। यदि धेरै पटक दोब्बर गराउने क्रममा मात्र पोजिटिभ भए, त्यती भाइरसको उपस्थिती कम रहेछ भनेर थाहा पाउन सकिन्छ। सामान्यतह ४० देखी ५० पटक सम्म दोब्बर बनाउने काम पिसिआर विधिले गर्दछ। कुन किट प्रयोग भएको हो, सोही अनुसार कती भन्दा कम सिटी भ्यालुमा पोजिटिभ दिने भन्ने हुन्छ। त्यसैले कहिलेकाहीँ सिमानामा सिटी भ्यालु आएमा “दोहोराउने अवस्था आयो” भन्ने या “पक्का भन्न नसकिने”(इन्कन्क्लुसिभ) लेखी रेपोर्ट दिने गरिन्छ।
के सिटी भ्यालुले बिरामीको अवस्था मुल्याङ्कन गर्न सकिन्छ?
सिटी भ्यालु थोरै आउदा अवस्य भाइरसको मात्रा धेरै छ भन्ने बुझिन्छ। तर केही व्याक्तिमा धेरै सिटी भ्यालु सहित पोजिटिभ आएमा भाइरसको मात्रा कम छ भन्ने निश्चित हुँदैन। हामीले यो बुझ्नुपर्छ कि, पिसिआरले देखाउने भाइरसको मात्रा निकालिएको नमुनाको हो। त्यसैले एकाध व्याक्तिको शरीरमा रहेको भाइरसको उपस्थितिसँग नमिल्न पनि सक्छ। हामीले लिने नमुना नाक या घाँटीको स्वाब हुनाले त्यहाँ के कती भाइरस छ भन्ने पनि हुन्छ, ता की बिरामीको फोक्सोमा या फरक समयमा फरक मात्रामा भाइरसको उपस्थिति हुन सक्दछ। अर्को कुरा, पिसिआर विधिले भाइरसको अणु चिन्छ, तर त्यो मरेको या जिउदो कुन हो भनेर छुट्टाउदैन। त्यसैले सिटी भ्यालु लक्षण हराउदै जाँदा नि बढेको हुन सक्छ। कुनै व्याक्ति पोजिटिभ हुँदा सिटी भ्यालु कम हुनु र केहि दिनमा बढी हुने पनि पाइएको छ। हामीले कोभिड-१९ को लागी प्रयोग गर्ने औषधि भाइरसलाई सिधै कम गर्ने/मार्ने खालको होइनन्, त्यसैले भिटामिन, एन्टिवायोटिकको प्रयोग हुँदैमा सिटी भ्यालु घट्नै पर्छ भन्ने चाँही बुझ्नु हुँदैन।
पिसिआर टेस्ट नै गराउनुपर्छ?
पिसिआर गोल्ड स्टान्डर्ड (उत्तम्) जाँच हो। यो टेस्ट अलि खर्चिलो र समय लाग्ने पनि हुन्छ। नेपाल जस्तो भौगोलिक विकटता भएको देशमा लगभग प्रत्येक जिल्लामा एउटा पिसिआर प्रयोगशाला हुँदा पनि अझै हामीले प्रयाप्त जाँच गर्न सकेका छैनौं। जनसङ्ख्यालाई आधार मान्ने हो भने यो सङ्ख्या अरु देशको तुलनमा धेरै हो। यो जाँच विशेष व्यवस्था गरी बनाएको मोलिकुलर प्रयोगशालामा र सो समबन्धी तालिम प्राप्त विज्ञ व्याक्ति सहितको टोलिले मात्र गर्नु पर्दछ।
प्रयोगशाला नै रोग सार्ने कारक नहोस र प्रयोगशालाका कर्मचारी नै रोगबाट संक्रमित नहुन र बिरामीले गुणस्तरीय रिपोर्ट पाउन भनेर राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले सो समबन्धी मापडन्ड पुरा गरेपछि मात्र अनुमती दिन्छ र लगातार आफ्नो सम्पर्कमा राख्ने र क्वालिटी जाँच गरिरहने गर्दछ। त्यसैले यो जाँच सजिलै र जहाँ तही गर्न सकिँदैन। हालसम्म नेपाल भरी ९१ वटा पिसिआर प्रयोगशाला सन्चालनमा छन्। पिसिआर टेस्ट जस्तै एन्टीजेन (आरडिटी) टेस्ट कोभिड १९ को विश्वासिलो र धेरै प्रयोगमा आएको निदानको विधि हो। पिसिआर टेस्टको सजिलै पहुँच नभएको अवस्था या टेस्ट बढाउन साथै कन्ट्याक्ट ट्रेसिङको गर्नुपरेमा एन्टीजेन जस्ता बढिमा आधा घण्टामा हुने टेस्ट गरौं।
के हो एन्टीजेन (आरडिटी) टेस्ट ?
यो छिटो छरितो हुने टेस्ट हो। हामी धेरैले देखेको किट टेस्टहरु (जस्तै: गर्भवती (प्रेगनान्सी) टेस्ट) जस्तो विधिबाट नै यो टेस्ट गरिन्छ। पिसिआरले हजारौं गुणा बढी बनाएर पत्ता लगाउन सहयोग गर्दछ भने एन्टिजेन टेस्टले भाइरसको मात्रा जती छ त्यही पहिचान गर्दछ। यो टेस्ट गर्न पिसिआर टेस्टको लागि झैं नाक मुखबाट नै नमुना लिइन्छ। सो नमुनालाई किटमा टेस्ट गर्न बढिमा ३० मिनेटको विधि पश्चात पोजिटिभ छ कि छैन भनि हेरिन्छ। यदि पोजिटिभ आएमा कोभिड १९ संक्रमित भन्ने बुझ्नुपर्दछ। यदि नेगेटिभ आयो भने त्यो व्यक्तिमा कुनै लक्षण नभएको (क्लिनिकल्ली मुल्यांकन गर्दा नि कोभिड १९ हुन-सक्ने भन्न नसकिने) अवस्थामा त्यो नेगेटिभ मान्न सकिन्छ। तर, क्लिनिकल्ली मुल्यांकन गर्दा कोभिड १९ हुन-सक्ने देखिएमा त्यस्तो व्यक्तिलाई भने पिसिआर टेस्ट विधि बाट नै निर्क्यौल गरिनुपर्दछ। त्यसैले यदि एन्टिजेन आरडिटी टेस्टलाई सबै ठाउँमा गर्न सकियो भने पिसिआर टेस्टको आवश्यकता कम देखिन्छ।
विशेष गरेर क्याम्प, आश्रम, ब्यारेक, नाका जस्ता ठाउँमा यो टेस्ट गर्न सकिन्छ। पिसिआर गर्न जति धेरै टेकनिकल विज्ञ पनि यो विधिमा नचाहिनुका साथै आर्थिक भार नि कम पर्दछ। यो टेस्टलाई धेरै प्रयोगमा आओस भन्ने हेतुले हालको नियम अनुसार स्ट्यान्ड एलोन प्रयोगशाला तथा सय बेड भन्दा बढी भएका सबै अस्पतालहरुले प्रयोग गर्न अनुमती पाउनेछन्। त्यसको लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट अनुमती भने लिनु पर्दछ र आफूले गरेको जाँचको रेपोर्ट नियमित रुपमा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखामा पठाउनु पर्दछ।
नेपाल सरकारले स्थानीय तहसम्म एन्टीजेन किट प्रदान गरिसकेको छ र यो टेस्टलाई अझ धेरै सहझै पहुँच दिने नीति लिएको छ। प्राइभेट प्रयोगशाला तथा अस्पतालमा भने यो टेस्टको रु १००० लाग्दछ। अब हामी नजिकको प्रयोगशाला या अस्पताल गइ एन्टीजेन टेस्ट गराउन सक्छौं। तर, आफूले टेस्ट गराउने प्रयोगशाला राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा सुचिकृत हो या होईन, मान्नेता प्राप्त किट प्रयोग भएको छ या छैन भन्ने बारे सचेत हुनुपर्दछ।
निचोड:
• पिसिआर टेस्ट र एन्टीजेन (आरडिटी) टेस्ट दुवै कोभिड १९ का विश्वासिला र धेरै प्रयोगमा आएका निदानका विधिहरु हुन्। पिसिआर टेस्टको जस्तै एन्टीजेन टेस्टको पनि डाटा पूर्ण रुपमा इडिसिडिमा पठाउनै पर्नेमा कडाइ गर्नु पर्ने देखिन्छ।
• टेस्ट बढाउन साथै कन्ट्याक्ट ट्रेसिङको लागि एन्टीजेन प्रयोग गरी स्क्रीनिङ कार्यक्रम गरौं र आवस्यक परेमा पिसिआर टेस्ट गरौं।
• टेस्ट गराएर तपाईं प्रयोगशाला/अस्पतालबाट फर्कदा पनि तपाईं बाटोमा संक्रमित हुन सक्ने सम्भावना हुन्छ। तसर्थ टेस्ट मात्र गरेर आफूलाई सुरक्षित छु भन्ने सोच्नु हुँदैन। त्यसैले हामीले मास्क लगाउन, हात धुन र सामाजिक दूरी कायम गर्ने कामलाई बिर्सनु हुँदैन।
• राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा सुचिकृत नभएका र दर्ता नगरेका गुणस्तरहिन किटहरु प्रयोगमा ल्याएमा या फोहोरको उचित व्यवस्थापन भएको छैन भने स्थानीय पालिका लगायत समबन्धीत निकायको ध्यान जानु पर्दछ।
(डा काफ्ले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा कार्यरत कन्सल्टेन्ट प्यथोलोजिस्ट हुन्)