काठमाडौं - अधिकांश घरहरु लेदोभित्रै हराइसके। केही घरको माथिल्लो भाग मात्र देखिन्छ। खेत जमिनको नामोनिशान छैन। एक साताअघिसम्म घरै घरले बाक्लिएको बजार अहिले बगरमा परिणत भएको छ। हरिया खेत जमिनमा अहिले माटोको लेदो बाहेक केही छैन।
असार १ गतेको बाढीले सिन्धुपाल्चोकको मेलम्चीको स्वरुप नै परिवर्तन गरिदिएको छ। मेलम्ची र हेलम्बुलाई त्यो डरलाग्दो बाढीले तहसनहस पारिदियो। सडक तथा पुलहरु ध्वस्त भए।
वर्षा अझै रोकिएको छैन। बाढी अहिले पनि गइरहेको छ। जोखिम अझै टरिसकेको छैन। बाढीपछि मेलम्ची र हेलम्बु दुवैमा ठुलो संख्यामा मानिसहरु विस्थापित भएका छन्। जिल्ला स्वास्थ्य कार्यालय सिन्धुपाल्चोकका अनुसार मेलम्चीमा करिब ६ सय र हेलम्बुमा करिब पाँच सय स्थानीय विस्थापित भए।
एक साताअघिसम्म घरमा बस्ने स्थानीयहरु अहिले अस्थायी शिविरमा बस्न बाध्य छन्। हेलम्बुबाट तल बाढी आउँदैछ भन्ने सूचना पाउने बित्तिकै त्यहाँको स्वास्थ्य संयोजक, स्वास्थ्यकर्मीहरुसँग समूहमा फोन गरेर पूर्व तयारीको लागि अनुरोध गरिएको जिल्ला स्वास्थ्य कार्यालय सिन्धुपाल्चोकका प्रमुख दुर्गादत्त चापागाईंले बताए। बाढी मेलम्ची नपुग्दै पूर्व सूचना दिइएकाले भौतिक क्षति भएपनि धेरै मानवीय क्षति हुनबाट जोगिएको उनी बताँछन्।
बाढीले स्वास्थ्य क्षेत्रमा क्षति नपुर्याएको बताउँदै उनले भने, ‘हामीले स्वास्थ्य क्षेत्रमा, स्वास्थ्यकर्मी, स्वास्थ्य संस्थामा कुनै क्षति भएको छ की भनेर तथ्यांक पनि संकलन गर्यौं। तर त्यस्तो क्षति भएको भेटिएन।’
मेलम्चीमा विस्थापित भएकाहरु इन्द्रेश्वरी माध्यमिक विद्यालयमा राखिएको छ। तर हेलम्बुको परिस्थिति भने मेलम्चीको भन्दा जटिल छ। हेलम्बुमा विस्थापित भएका पाँच सय जनालाई करिब चार वटा स्थानमा अस्थायी रुपमा बनाइएको शिविरमा राखिएको छ।
बाढीले हेलम्बुको विभिन्न सडक तथा पुलहरु पूर्ण रुपमा क्षति भएका छन्। जसले गर्दा हेलम्बुको प्रवेश विन्दु नै अवरुद्ध छ।
हाल हेलम्बु प्रवेश गर्ने एक मात्र विकल्प छ, ‘त्यो हो हेलिकोप्टर’
त्यो पनि मौसमी खराबीका कारण संभव छैन। हेलम्बु नगरपालिका भित्रकै वडाहरु एकापसबाट सम्पर्क विच्छेद भएका छन्। त्यहाँ एक भागबाट अर्को भागमा जान पनि निकै गाह्रो भएको कार्यालय प्रमुख चापागाईंले बताए।
उनले भने, ‘हेलम्बुमा अरुबाट नभई हेलिकोप्टरबाट मात्र जान संभव छ। हेलम्बु भित्र पनि विभिन्न वडाहरु एकापसमा सम्पर्क विच्छेद जस्तो भएको छ। हेलम्बुमा एक भागबाट अर्को भागमा जान अहिले निकै गाह्रो छ।’
कोरोनासँगै अन्य संक्रामक रोगको जोखिम
कोरोना भाइरसको जोखिम अझै पनि कम भइसकेको छैन। बाढीले निम्त्याएको र निम्त्याउने जोखिम त छदैछ। यो सँगै सिन्धुपाल्चोकका स्थानीयलाई कोरोनासँगै विभिन्न संक्रामक रोगको जोखिम पनि बढेर गएको छ।
कोरोना भाइरसबाट बच्ने मुख्य तीन वटा उपायहरु हुन्, सामाजिक दूरी कायम गर्नु, मास्क र सेनिटाइजरको प्रयोग। अर्थात् मानिसको हुल, भीडभाड र नजिकको सम्पर्क नै कोरोना संक्रमण फैलाउने मुख्य कारण हुन्। तर बाढीका कारण सिन्धुपाल्चोकमा जनस्वास्थ्यका यही मापदण्डहरु पालना गर्न सहज देखिदैन।
कोरोनासँगै विस्थापित भएकाहरुलाई पानी तथा खानाजन्य रोगको जोखिम पनि छ। एकै ठाउँमा सामूहिक रुपमा बसिरहँदा विभिन्न रोगको जोखिम हुनु सामान्य पनि हो। कोरोना संक्रमण र अन्य रोगको नियन्त्रण नै आफूहरुको लागि चुनौतीपूर्ण भएको चापागाईंले बताउँछन्।
उनका अनुसार अब दुई वटा स्वास्थ्य समस्या निम्तन सक्छन्, जसलाई नियन्त्रण गर्नु चुनौतीपूर्ण छ।
एक, ‘कोरोना भाइरस फैलने डर’
दोस्रो, ‘अन्य संक्रामक रोग’
उनी भन्छन्, ‘शिविरमा ठूलो संख्यामा एकै ठाउँमा बसिरहँदा यदी कसैलाई कोरोना संक्रमण रहेछ भने मासमा फैलने संभावना बढी हुन्छ। सरसफाई, फोहोर व्यवस्थापनको कुराहरु हुन्छन्। यसले पनि विभिन्न संक्रामक रोगहरु फैलने संभावना पनि हुन्छ।’
देखिन थाल्यो संक्रामक रोग/सुत्केरीको गरियो हवाई उद्धार
बाढीपछि मेलम्चीमा पानीजन्य रोगको संक्रमण देखिन सुरु भएको छ। चापागाईंका अनुसार मेलम्चीमा एकै परिवारका पाँच जनामा झाडापखालाको समस्या देखियो। उपचारपछि हाल उनीहरुको स्वास्थ्य अवस्था सामान्य छ।
बाढीपछि त्यहाँ हालसम्म झाडापखाला बाहेक अन्य स्वास्थ्य समस्या नदेखिएको उनले बताए।
उनले भने, ‘एकै परिवारका पाँच जनामा झाडापखाला देखिएको थियो। तर औषधिपछि उहाँहरुको अवस्था अहिले ठिक छ। यो बाहेक सिन्धुपाल्चोकमा अहिलेसम्म अन्य स्वास्थ्य समस्या देखिएको छैन।’
झाडापखालाको समस्या देखिएपछि त्यहाँ हाल पानी परीक्षण गर्ने तयारी भएको छ। जिल्लामा रहेको पानी परीक्षण गर्ने मेसिन काम लाग्ने थिएन। त्यसैले धुलिखेलबाट मेसिन र काठमाडौंबाट रिएजेन्ट खरिद गरेर ल्याएपछि मात्र स्वास्थ्यकर्मीको टोली सहित उक्त मेसिन मेलम्ची पठाइयो।
‘खानेपानी प्रदुषित हुन सक्छ की भनेर हामीले पानी जाँच्ने मेसिन टोली सहित हामीले मेलम्ची पठाएका छौँ।’ उनले भने, ‘पानी प्रदुषित छ भने शुद्धिकरण गर्ने र अन्य काम हुन्छ। तर पानी प्रदुषित छैन भने झाडापखालाको अन्य कारण बारे हेर्छौं।’
शनिबार मात्रै मेलम्चीस्थित दुवाचौरमा एक गर्भवतीको हवाई उद्धार समेत गरिएको छ। २३ वर्षीया ती महिलाको सुत्केरी हुने समय कटिसकेको थियो। तर बाटो तथा पुलहरु बाढीले ध्वस्त बनाएपछि उनलाई हवाई उद्धार गरेर नै काठमाडौं पठाइएको चापागाईले बताए।
शिविरमा बसेकामध्येलाई कोरोना देखियो भने...
मेलम्चीमा एउटै विद्यालयमा ६ सय जना मानिसहरु बसिरहेका छन्। सामूहिक रुपमा शौचालयको प्रयोग गर्नुपर्ने बाध्यता छ।
सामाजिक दूरी कायम गर्न पनि मुश्किल पर्छ। यसले गर्दा पनि शिविरहरुमा सामाजिक दूरी कायम गराउन समस्या हुने गरेको उनले बताए। यद्यपि स्वास्थ्यकर्मीहरुलाई मास्क लगाएर सामाजिक दूरी कायम गराउन भनिएको उनले बताए।
मेलम्चीमा धुलिखेल अस्पतालको बाहुने पाटीमा एउटा स्वास्थ्य संस्था सञ्चालित छ। त्यहाँ कार्यालयले १० शय्याको आइसोलेसन सेन्टरको स्थापना गरेको थियो। शिविरमा तत्काल कुनै संक्रमित देखिए उनीहरुलाई ती आइसोलेसन सेन्टरमा राखेर व्यवस्थापन गरिने उनले बताए।
यदी ती आइसोलेसन सेन्टर पनि संक्रमितले भरिए मेलम्ची प्राथमिक स्वास्थ्य केन्द्रमा पनि आइसोलेसन सेन्टर बनाउनका लागि सबै सामग्री तयारी अवस्थामा राखिएको उनले बताए। हाल संक्रमितहरु नभएकाले आइसोलेसन सेन्टर भने बनाइएको छैन।
‘अहिले केसहरु नभएको हुनाले आइसोलेसन सेन्टर नबनाइएको हो’ उनले भने, ‘केसहरु आए भने तत्काल सञ्चालन गर्न सक्ने गरी अक्सिजन सिलिण्डरदेखि लिएर आवश्यक पर्ने सबै सामग्रीहरु तयारी अवस्थामा छ।’
हेलम्बुमा पनि यसअघि स्थापना गरिएको आइसोलेसन सेन्टर खाली रहेको उनले बताए। राहत वितरण गर्न आउने व्यक्तिहरुबाट पनि कोरोनाको जोखिम हुने भएकाले आफुहरुले राहत वितरणलाई व्यवस्थित गरिएको छ।
हेलम्बुमा छैनन् चिकित्सक, आकस्मिक स्वास्थ्य सेवा दिन समस्या
बाढीले मेलम्ची तथा हेलम्बुको विभिन्न बाटो अवरुद्ध भएकाले एम्बुलेन्स पनि असंभव देखिन्छ। यसले गर्दा आकस्मिक स्वास्थ्य सेवा लिने बिरामीहरु मर्कामा परेका छन्।
सुत्केरी लगायत आकस्मिक सेवाका लागि समस्या भएको कार्यालय प्रमुख चापागाईं बताउँछन्। यसले गर्दा घरमै असुरक्षित सुत्केरी हुने हो की भन्ने उनको चिन्ता छ।
उनी भन्छन्, ‘सुत्केरी लगायत आकस्मिक सेवाका लागि समस्या भएको छ। बाटो अवरुद्ध भएका कारण एम्बुलेन्स जान पनि मिल्दैन। यसले घरमै असुरक्षित रुपमा सुत्केरी हुने अवस्था आउने हो की भन्ने चिन्ता छ।’
आकस्मिक स्वास्थ्य सेवालाई सहज बनाउन प्रदेश सरकारसँग समन्वयका लागि आग्रह गरिएको उनले बताए। हेलम्बुको माथिल्लो भेगमा हाल मौसम खराबका कारण हेलिकोप्टर पठाउन पनि समस्या भइरहेको उनले बताए।
‘प्रदेश सरकारलाई एयर एम्बलुेन्स या हेलिकप्टरबाट के हुन्छ, तुरुन्त स्वास्थ्यकर्मी ती क्षेत्रमा लैजान मिल्ने खालको समन्वयका लागि आग्रह गरेका छौ’, उनले भने, ‘हेलम्बुको माथिल्लो भागमा अरु सुविधा पहुँच केही छैन। हेलिकोप्टर पठाउन पनि मौसमको कारणले समस्या भइरहेको छ।’
हेलम्बुमा तत्काल केही गम्भीर समस्या देखिए हेलिकोप्टरबाट ल्याउनु बाहेक अन्य विकल्प नरहेको उनी बताउँछन्। उनका अनुसार हेलम्बुमा हाल चिकित्सक पनि छैनन्। पारामेडिक्स, नर्सिङ स्टाफहरु भएपनि चिकित्सक नरहेको उनले बताए।
उनले भने, ‘त्यहाँ तत्काल केही गम्भीर समस्या भयो भने हेलिकोप्टर बाहेक अरुबाट आउने अरु उपाय छैन। त्यसैले हेलम्बुमा तत्काल चिकित्सकको परिचालन गर्नुपर्छ। हामीले प्रदेश सरकारसँग यसको लागि अनुरोध गरेका छौँ।’
मेलम्चीमा ६२ र हेलम्बुमा ४७ जना स्वास्थ्यकर्मीहरु परिचालित
संभावित संक्रमण फैलन सक्ने भएकाले आफुहरु सतर्क भएर बसेको उनले बताए। बागमती प्रदेश सरकारबाट ३१ किसिमको अत्यावश्यक औषधिहरु प्राप्त गरेको उनले जानकारी दिए। अत्यावश्यक औषधि र स्वास्थ्यकर्मीहरु मेलम्ची र हेलम्बुमा खटाइएको उनले बताए।
उक्त शिविरहरुमा विभिन्न दीर्घ रोगहरु तथा बिरामीहरु, बालबालिका, सुत्केरी तथा गर्भवतीहरु हुन सक्छन्। शिविरमा दीर्घ रोगी, बालबालिका वा कुनै औषधि सेवन गरिरहेका व्यक्तिको संख्या संकलन गर्न समेत भनिएको उनले बताए।
अत्यावश्यक स्वास्थ्य सेवाका लागि स्थानीय स्वास्थ्यकर्मीलाई परिचालन गरी मेलम्चीमा हेल्थ डेस्क स्थापना गरिएको छ। कोभिडबाट बच्नका लागि मास्क, सेनिटाइज, साबुन लगायत स्वास्थ्य सामग्री, विभिन्न अत्यावश्यक औषधिहरु उपलब्ध गराइएको उनले बताए।
उनले भने, ‘अत्यावश्यक औषधिहरु हामीले पुर्याइसकेका छौं। पछिल्लो समय औषधिको अभाव छैन भन्ने कुरा आएको छ।’
स्वास्थ्य कार्यालयले मेलम्चीमा तीन जना चिकित्सक सहित ६२ जना, हेलम्बुमा चिकित्सक बाहेक ४७ जना स्वास्थ्यकर्मीहरु परिचालित गरिएको उनले बताए। यद्यपि यी स्वास्थ्यकर्मीहरु जिल्लाबाट पठाइएको होइन। हालको अवस्थामा त्यही स्थानीय तहमा रहेका स्वास्थ्यकर्मीलाई परिचालित गरिएको प्रमुख चापागाईले बताए। सिन्धुपाल्चोकमा सबै गरी १३० वटा स्वास्थ्य संस्थाहरु छन्।
अहिले केन्द्रलाई गुहार्नु पर्ने अवस्था आइसकेको छैन
जिल्ला स्वास्थ्य कार्यायल सिन्धुपाल्चोकले हाल जनशक्तिका लागि प्रदेश सरकासँग माग गरेको छ। हाल प्रदेश सरकारबाटै सबै औषधि र स्वास्थ्य सामग्री पाएको कार्यालयले जनाएको छ।
स्वास्थ्य कार्यालयले कोरोना परीक्षणका लागि प्रदेशबाट २ सय किट प्राप्त गरेको उनले बताए। यसअघि हेलम्बु र मेलम्चीमा ५÷५ सय किट समेत पठाइसकेको उनले बताए।
उनले भने, ‘जनशक्तिका लागि हामीले प्रदेश सरकारसँग अनुरोध गरेका छौँ। अरु तत्काल ठुलो सहयोगको आवश्यक परेको छैन। हामीले जिल्ला र स्थानीय तहले व्यवस्थापन गर्न सक्ने अवस्थामै छौँ।’
दाताहरुले सिधै विस्थापित व्यक्तिहरुलाई राहत वितरण गर्न पाउँदैनन्। शिविरमा बाहिरी मानिसहरु जान निषेध गरिएको छ। त्यहाँ हेल्थ डेस्कका स्वास्थ्यकर्मी मात्र जान पाउँछन्। राहतलाई व्यवस्थित गर्न स्थानीय जनप्रतिनिधिको समन्वयमा मात्र एकद्धार प्रणालीबाट वितरण गर्न पाउने उनले बताए।
सिन्धुपाल्चोकका विभिन्न खोलाहरुमा बाढी आउने क्रम अझै रोकिएको छैन। जोखिम उस्तै छ। जोखिम अझै पनि कायम भएकाले पूर्व सूचना प्रणाली व्यवस्थित बनाउनुपर्ने उनी बताउँछन्। राहत स्वरुप दिइने विभिन्न खाद्य सामग्रीहरुबाट संक्रमण फैलने या बिरामी पर्न सक्ने अर्को जोखिम रहेको उनले बताए।