काठमाडौं– बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मंगलबार मदिरा सेवन गरेर वार्ताका लागि पुगेका उपकुलपति प्राडा ज्ञानेन्द्र गिरीले उक्त दिन भएको घटनाका विषयमा प्रष्टीकरण दिएका छन्।
डा गिरीले विज्ञप्ति जारी गर्दै उक्त दिन भौतिक र मानसिक चिन्ताका कारण आफ्नो शारीरिक अवस्था कमजोर भएको प्रष्टीकरण दिएका हुन्।
प्रतिष्ठानका आन्दोलनरत स्वास्थ्यकर्मीसँग वार्ताका लागि पुगेका डा गिरीले मदिरा सेवन गरी अस्वाभाविक अवस्थामा पुगेपछि उनलाई कर्मचारीले कार्यकक्षमै थुनिदिएका थिए। मदिरा सेवन गरी कार्यालयमा पुगेका उनले अस्वाभाविक व्यवहार देखाएको भिडियो समते सार्वजनिक भएको थियो ।
उनले आफूले वार्ताको समयमा कसैलाई पनि कुनै प्रकारको दुर्व्यवहार नगरेको बताएका छन्। आफ्नो विषयमा भ्रामक समाचार फैलाइएको भन्दै खेद प्रकट गरेका डा गिरीले आफूले मदिरा सेवन गरेको विषयमा भने विज्ञप्तिमा कुनै कुरा उल्लेख गरेका छैनन्।
डा गिरीले प्रतिष्ठानमा भएका गतिविधिको विषयमा आफूले पदाधिकारी तथा प्रतिष्ठानका सरोकारवालासँग निरन्तर संवाद गरिरहेको समेत जनाएका छन्।
उनले मंगलबार नै संघर्ष समितिसँग छलफल भएको र छलफलमा संघर्ष समितिका तर्फबाट आफ्नो धारणा राखेपछि आन्दोलनरत स्वास्थ्यकर्मी वार्ताबाट निस्केको समेत दाबी गरेका छन्।
उपकुलपति गिरीले प्रतिष्ठानको तर्फबाट औपचारिक रुपमा वार्ताका लागि पहल भइरहेको समेत बताएका छन्।
यता आन्दोलनरत स्वास्थ्यकर्मीले भने अनियमिततामै मुछिएका प्रतिष्ठानका उपकुलपति, रजिष्ट्रार लगायतका पदाधिकारीसँग वार्ता नबस्ने बताएका छन्।
आन्दोलनरत पक्षका वार्ता समितिका सदस्य डा अमृत जैशीले उपकुलपति डा गिरीले मदिरा सेवन गरेर वार्तामा आएकाले आफूहरुले वार्ता बहिष्कार गरेको बताए।
प्रतिष्ठानका कुलपति एवं प्रधानमन्त्रीले नै उच्चस्तरीय वार्ता टोली गठन गरेमात्र आफूहरु छलफलमा सहभागी हुने डा जैशीको भनाइ छ।
‘मंगलबार वार्ता गर्ने भनेर हामी वार्तामा गयौं, तर मदिरापान गरेर आउनुभएको रहेछ, त्यसैले अब उहाँहरुसँग वार्ता बस्दैनौं, किनकी उहाँहरुसँग समस्या समाधानको कुनै एजेण्डा नै छैन,’ डा जैशीले भने, ‘उहाँहरु नै अनुसन्धानको दायरामा हुनुहुन्छ त्यसैले अनुसन्धानको दायरामा भएकासँग नै हामी वार्ता गर्दैनौं।’
यो पनि :
'बिपी प्रतिष्ठानका उपकुलपति डा गिरी मदिरामा लठ्ठिएपछि भाँडियो वार्ता' [भिडियो]
उपकुलपतिलाई बर्खास्त गर, बिपी प्रतिष्ठान जोगाऊ