पुतलीसडक हाइटमा डा अवनीभूषण उपाध्यायको घर र नजिकै क्लिनिक थियो। त्यहाँ म बराबर गइरहन्थेँ। उहाँले एक दिन यसरी नबस, क्लिनिक चलाउ भन्नु भयो। उहाँले ‘म, डा लोहित, डा बमलगायत १०/१५ जना राम्रै प्राक्टिस गरिरहेका छौँ। हामीकहाँ आउने मानसिक रोगका बिरामी तिमीकहाँ पठाइ दिन्छौँ काम शुरु गर’ भन्नु भयो। त्यसवेला बिरामीको फि कन्सल्टेन्टको २० रुपियाँ र मेडिकल अफिसरको १५ रुपियाँ थियो।
म रसियामा पढ्न जाँदा नेपालमा आएर काम गर्छु भनेर शर्तनामा गरेर गएको थिएँ। तर सरकारले जागिर दिन नसकेकाले मलाई त्यो शर्तबाट मुक्त गरिदेउ भनेर मुद्दा हाल्छु र रुसको प्रोफेसरसँग कुरा गरेर काम गर्न क्युवातिर जान्छु भन्ने सोचाइ आइरहेको थियो। क्युवाले पुरै ल्याटिन अमेरिकाभरि डाक्टर पठाउँथ्यो।
मलाई निकै तनाव भइरहेकोले यस्तो सोच्न थालिसकेको थिएँ। त्यही वेला डा अवनीले त्यसो भनेपछि मैले ‘बिरामीसँग पैसा लिएर खान त सक्तिन, मेरो मनले दिदैन डा साब’ भनेँ। उहाँले त्यसरी सोचेर हुँदैन भन्नु भयो।
पुतलीसडकमा प्रधानजीको कालिन्चिोक भन्ने औषधि पसल थियो। त्यहीँ उहाँको क्लिनिक थियो।
यसरी नाइ नाइ भन्दा भन्दै एक दिन उहाँले ‘भोली तिमी क्लिनिकमा आउनुपर्छ, गाउँतिरको एक जना बिरामी महिलालाई बोलाइदिएको छु। मैले नयाँ डासाब आउनु भएको छ नसाहरु हेर्ने’ (मानसिक भन्न नमिल्ने) भन्नुभएछ। उहाँले ‘फि पनि लिनुपर्छ। मैले उहाँ भर्खर पढेर आएको भेट्नै गाह्रो छ, उहाँलाई स्पेसल बोलाएकोले ३० रुपियाँ फि तिर्नुपर्छ’ भन्नु भएछ। चार बजे विबरामी बोलाएको छु। साँढे चारतिर आउनु भन्नु भयो।
उहाँले त्यति भनिसके पछि म जाने भएँ। आखिरी कति दिन घुमेर बस्ने? बिरामीलाई टाइम दिएर बोलाइ सकेकाले जानुपर्छ भन्ने विचार आयो।
पहिलो बिरामी जाँच्दा
रसियन बिरामी त धेरै हेरिएको थिएँ। तर नेपालमा यो पहिलो बिरामी थियो। पहिलो पटक बिरामी जाँच्न क्लिनिकमा जान लागेकोले के गरौँ कसो गरौँ भयो। बिहान सेभिङ गरेको भए पनि फेरि गरेँ। रुसबाट ल्याएको कालो सुट लगाएँ। रातो टाइ, सेतो शर्ट लगाएर ब्रिफकेस बोकेर टिपटप भएर गएँ। मलाई निकै गाह्रो भइरहेको थियो।
सरासर डा अवनीकै रुममा पसेँ। बिरामी बाहिर कुरिरहेको रहेछ। ‘ल डा साब आउनु भो’ भने त्यहाँ। उहाँले आप्mना बिरामीलाई बाहिर राखेर, मलाई बिरामी ल्याएर भेटाइदिनु भयो र आपूm एकछिन बाहिर निस्कनु भयो।
पोखराकी महिला, जीउ ढाक्ने गरी सुनै सुन लगाएर आएकी थिइन्। उमेर ५५ वर्ष जति थियो। हिस्ट्री लिएँ। यता दुख्छ उता दुख्छ जताततै दुख्छ भनिन्। मलाई न्यूरोको पनि ज्ञान थियो। त्यसबेला सिटी स्क्यान होइन कि पिनले घोचेर, बु्रसले छोएर समस्या पत्ता लगाउँनु पथ्र्यो। आधा घण्टा लगाएर न्यूरोलोजिकल परीक्षण गरेँ। खासै रोग देखिएन, सामान्य मानसिक समस्या थियो। साधारण औषधि लेखिदिएँ।
३० रुपियाँ फि तिरे पनि उनी खुसी थिइन्। तर मलाई त्यो ३० रुपियाँ खल्तीमा हाल्ना साथ पोलेको अनुभव भयो। मेरो लागि त्यो निकै ठूलो कमाइ थियो। त्यो पैसा म घर लान्न भनेँ। डा अवनिले गाली गर्नुभयो। मैले त्यो साँझ डा अवनी र अरु ४/।५ साथीहरुलाई कर लगाएरै खिचापोखरीको आनआन रेष्टुराँमा लगेँ र खुवाएँ। सस्तो थियो, त्यो पैसा सबै खर्च भएन।
त्यसवेला काठमाडौंका सडक प्रायः सुनसान जस्तै थिए। गाडीहरु पातला थिए। सडक साँघुरै भए पनि त्यहीँ पार्किङ गरेर काम गर्न मिल्थ्यो। मोटरसाइकल पनि ज्यादै कम थिए। त्यसवेला सिजी १२५ होण्डा जापानिज मोटरसाइकल निकै राम्रो मानिन्थ्यो। कुनै दिन पैसा भयो भने म पनि त्यस्तै मोटरसाइकल किन्छु भनेर सोच्थेँ। हेर्दा निकै आकर्षक थियो। त्यसवेला अधिकांश नयाँ डाक्टरहरुको सपना त्यो मोटरसाइकल हुन्थ्यो।
एक दिन एकजना आफन्तकहाँ गएको थिएँ। घरमा मान्छेले ल डा साब आउनु भो भने। एउटा बच्चाले ‘खै त मोटरसाइकल ?’ भनिदियो। डाक्टर भनेकै मोटर साइकल चढ्ने हुन्छ भन्ने हुन्थ्यो। थोरै विशेष किसिमका त्यसमा पनि शाही डाक्टरहरुको चाहिँ गाडी हुन्थ्यो, नत्र त आम डाक्टरको मोटरसाइकल नै हुन्थ्यो।
-(डा विश्वबन्धु शर्माको पुस्तक 'मान्छेको मन'को एक अंश)