अछाम– शुक्रबार दिउँसो ३ बजे सुत्केरी व्यथाले च्यापेपछि अछामको मेल्लेख गाँउपालिका–३ ठाँटी दर्बाकी सविता बुढा (२४) लाई रनाहा छुटिरहेको थियो। नजिकै स्वास्थ्य संस्था छैन। सडक पुगे पनि वर्षामा गाडी गुड्दैन। बोकेरै दर्बास्थित बर्थिङ सेन्टर पुर्याउन आफन्तले स्टेचर खोजे। त्यो पनि उपलब्ध भएन।
सविता दोश्रो सन्तान जन्माउने तयारीमा थिइन्। आफन्तले उनलाई कपडाको झोलुङ्गोमा राखेर बर्थिङ सेन्टर पुर्याए। सुत्केरी व्यथा लागेको बेला झोलुङ्गोमा हाल्दा असहज र जोखिम दुवै हुन्छ। आफन्तसँग अन्य उपाय पनि थिएन।
तर, बर्थिङ सेन्टरमा समेत उनले सेवा पाइनन्। दर्बामा पाँच महिनाअघि मात्र बर्थिङ सेन्टरको सेवा सुरु भएको हो। गाँउपालिकाले अनमी, अहेब र सहयोगी गरेर तीन जना कर्मचारी भर्ना गरेको छ। तर, उनहरुले सुत्केरी गराउन नसकिने भन्दै सवितालाई बगुडा स्वास्थ्य चौकी लैजान सुझाए।
बगुडा स्वास्थ्य चौकी अरु एक घन्टा टाढा पर्छ। आफन्तले सवितालाई फेरि झोलुङ्गोमा राखेर स्वास्थ्य चौकी पुर्याए। सविताका ससुरा पर्ने कुशल बुढा भन्छन्, ‘एम्बुलेन्स र गाडी त छैन नै, सुत्केरी बोक्न स्टेचर पनि पाइएन। गाउँमै बर्थिङ सेन्टर खुलेपछि खुसी भएका थियौं। त्यसले पनि सेवा दिन सकेन।’
बर्थिङ सेन्टरमा आवश्यक पर्ने सबै स्वास्थ्य सामग्री, उपकरण र कर्मचारी राखेको गाउँपालिका अध्यक्ष लोकबहादुर बोहरा बताउँछन्। तर, आफूहरुसँग उपकरण नभएका कारण सुत्केरी गराउन नसक्ने जवाफ बर्थिङ सेन्टरका कर्मचारीले दिएको कुशल बताउँछन्।
अध्यक्ष बोहोराका अनुसार गाउँपालिकाले यसअघि व्यवस्था गरेको स्ट्रेचर भाँचिएको छ। ‘केही दिनअघि स्ट्रेचर भाँचिएकाले खबर पाएपछि पालिकाले नयाँ किनेर पठाइसकेको छ,’ उनले भने।
अछामका दुर्गम क्षेत्रका स्वास्थ्य संस्थामा स्वास्थ्य सामग्री र उपकरणको अभाव छ। अधिकांशमा दक्ष कामदार पनि छैनन्। जिल्लाका सबै पालिका सडक सञ्जालसँग जोडिएका छन्। प्रायः सबै पालिकामा एम्बुलेन्स छन्। तर, भनेको बेला जनताले सेवा पाउन नसकेको स्थानीय बासिन्दाको गुनासो छ।
स्वास्थ्य कार्यालय अछामका प्रमुख वरिष्ठ जनस्वास्थ्य अधिकृत झनक ढुंगानाले स्वास्थ्य संस्थाको जिम्मेवारी सम्बन्धित पालिकाको नै भएको बताए। ‘स्वास्थ्य कार्यालयले आवश्यकता अनुसार समन्वय गर्ने र भइरहेका कामको अनुगमन गरी सुझाव मात्र दिने हो। स्वास्थ्य सेवाको आवश्यक व्यवस्था गर्ने जिम्मेवारी पालिकाकै हो,’ ढुंगाना भन्छन्।