डडेल्धुरा- सुदूरपश्चिम प्रदेशमा संघीय सरकार मातहतको एक मात्र डडेल्धुरा अस्पतालमा अक्सिजन प्लान्ट जडानको काम सुरु भएको छ। दोस्रो लहरको कोरोना महामारीमा अक्सिजनको अभाव झेलेको अस्पतालले अब दैनिक दुई सय सिलिन्डर भर्न सकिने प्लान्ट जडान गरिहेको हो।
सुदूरपश्चि प्रदेशको पहाडी ७ जिल्लाको केन्द्र बिन्दु डडेल्धुरा अस्पतालमा ठूलो अक्सिजन प्लान्ट जडानको कार्य तिब्र पारीएको छ। कोरोना महामारीको दोस्रो लहरमा अक्सिजन अभावले ज्यान गएको तथा अक्सिजन अभाव भएपछि सरकारले अस्पतालमा अक्सिजन प्लान्ट निर्माणका लागि ४ करोड रुपैयाँ उपलब्ध गराएको थियो। सोही रकम पाएपछि अक्सिजन प्लान्ट जडानको काम शुरु गरिएको अस्पताल विकास समितिका अध्यक्ष करुणाकर ओझाले बताए। उनले भने, ‘नेपाल सरकारले संघीय अस्पताललाई प्लाट जडान गर्न ४ करोड दिएको थियो त्यसबाट जडानको काम अन्तिममा पुगेको छ।’
डडेल्धुरा अस्पतालमा रहेको पुरानो अक्सिजन प्लान्टको क्षमता दैनिक २७ सिलिण्डर भर्ने रहेको थियो। हाल जडान भइरहेको अक्सिजन प्लान्टको क्षमता दैनिक २ सय सिलिन्डर भन्दा बढी रहेकोले डडेल्धुरा अस्पतालमा मात्रै नभई सुदूरपश्चिमभरी नै अक्सिजनको अभाव नहुने भएपछि यहाँका नागरिक हर्षित छन्।
अमरगढी ५ डडेल्धुराका स्थानीय राजेन्द्र मगरले भने, ‘कोरोना महामारीमा अक्सिजन अभावले समस्या भएको थियो, घर नजिकको अस्पतालमा अक्सिजन छैन भने कहाँ जाने होला भन्ने तनाव थियो। अब भने ढुक्क भएका छौं।’
गत असार मसान्तसम्म अक्सिजन प्लान्ट जडानको काम सक्ने गरि सम्झौता भएको भए पनि नेपाल सरकारले नै सम्झौताको म्याद थप गर्दा केही ढिलाइ भएको छ। साउन महिनाभित्र मेसिन जडानको सम्पुर्ण काम सम्पन्न गरी भदौ महिनाबाट अक्सिजन उत्पादन गर्ने निर्माण कम्पनीको दाबी छ।
तेस्रो लहरमा अक्सिजन अभावको समस्या आउन नदिन प्लान्ट निर्माण छिटो गर्न यहाँका जनप्रतिनिधीहरु पनि दबाव दिइरहेका छन्। अमरगढी ५ डडेल्धुराका वडाध्यक्ष खेमराज पाठकले भने, ‘छिटो निर्माण तथा जडान गर्ने निर्माण स्थलमै दिनकै ३/४ पटक पुग्छु। छिटो निर्माण हुनेमा आशाबादी छु, हुनु पनि पर्छ।’
नेपाल सरकारले डडेल्धुरा अस्पतालका लागि आईसीयू, भेन्टिलेटर र अक्सिजन ट्यांक निर्माणका लागि ६ करोड ८० लाख, एचडीयू स्थापनाका लागि ३ करोड १२ लाख ७० हजार र अक्सिजन प्लान्ट निर्माणका लागि ४ करोड रकम विनियोजन गरेको थियो।
अक्सिजन प्लान्ट जडानको काम अन्तिम चरणमा पुगेको र अक्सिजन ट्यांकी पनि खरिद गरेर अस्पतालमा राखिनुका साथै आईसीयू, एचडीयू स्थापनाको काम पनि सुरु गरिएको अस्पतालका निमित्त मेडिकल सुपरिन्टेन्डेन्ट डाक्टर जगदीशचन्द्र बिष्टले बताए। उनले भने, ‘तेस्रो लहर आउनु अघि नै सबै जडान सक्ने प्रयासमै छौं।’