डडेल्धुरा- लोकराज पनेरु, डडेल्धुराको अमरगढी नगरपालिकाका सिनियर अर्थात् ज्येष्ठ स्वास्थ्य कर्मचारी हुन्। उनी २०५१ सालमा सरकारी सेवामा प्रवेश गरेका थिए। अहिले पनेरु घटाल स्वास्थ्य चौकी अमरगढी–३ मा कार्यरत छन्।
तर, तीनै सिनियर कर्मचारी पनेरु अहिले आफूमाथि अन्याय भएको बताइरहेका छन्। कर्मचारी समायोजन ऐन २०७५ को धारा ८ (२) को (क) अनुसार कर्मचारीलाई पदीय ज्येष्ठताको आधारमा समायोजन गर्ने प्रष्ट व्यवस्था गरेको भएपनि अमरगढी नगरपालिकाले भने त्यसको विपरीत कर्मचारी समायोजन गरेको छ।
कर्मचारी समायोजनको समयमा ज्येष्ठताको आधारमा आफूले अमरगढी नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख पाउनुपर्ने बताएपनि आफूभन्दा दुई वर्ष जुनियर कर्मचारीलाई स्वास्थ्य शाखा प्रमुखको जिम्मेवारी दिइएको पनेरुको आरोप छ।
अहिले अमरगढी नगरपालिकाको स्वास्थ्य शाखा प्रमुखमा गणेश विष्ट रहेका छन्। विष्ट २०५३ सालमा सरकारी सेवामा प्रवेश गरेको पनेरुले बताएका छन्। पनेरु आफूमाथि अन्याय हुँदै छ भनेर जनप्रतिनिधि र अमरगढीका प्रमुख प्रशासकीय अधिकृतसँग बारम्बार आग्रह गरको बताउँछन्।
पनेरुले तीन वर्ष तत्कालीन जनस्वास्थ्य कार्यालयमासमेत काम गरिसकेका छन्। १९ माघ २०६९ देखि २० माघ २०७२ सम्म उनले जनस्वास्थ्य कार्यालयको बालस् वास्थ्य फाँटसमेत सम्हालिसकेका छन्।
तत्कालीन डडेल्धुराका प्रमुख जिल्ला अधिकारी जनकराज भट्टको निर्देशनमा स्वास्थ्य कार्यालयले २१ असार २०७४ मा अमरगढी नगरपालिकामा काजमा खटाएको थियो। सो समयमा प्रत्येक स्थानीय तहमा दुई÷दुई जना स्वास्थ्यकर्मी पठाउने नीति अनुसार विष्ट र पनेरुलाई अमरगढी नगरपालिकाको जिम्मेवारी दिइएको थियो।
सो पत्रमा संयोजक नतोकिए पनि ज्येष्ठ कर्मचारीको हिसाबमा पनेरु संयोजक र विष्ट सह–संयोजक भएर अढाई वर्ष काम समेत गरेका थिए। पछि देश संघीयतामा गएपछि तीन जना कर्मचारीको नीति आयो। सुरुमा अमरगढीको स्वास्थ्य शाखा प्रमुखकका लागि चार जनाले आवेदन दिए।
तर, दुई जनाले फिर्ता लिइसकेपश्चात विष्ट र पनेरुको उम्मेदवारी पर्यो। प्रमुख प्रशासकीय अधिकृत उपाध्याय र सूचना अधिकारी लालबहादुर साउँदले आफूलाई बोलाउँदा ज्येष्ठताको आधारमा आफूले पाउनु पर्ने बताएपनि पहुँच छैन भन्दै घटाल स्वास्थ्य चौकीमा खटाइएको उनको भनाइ छ।
घटाल स्वास्थ्य चौकीमा खटिएको दिनदेखि विरोधका कार्यक्रम सुरु गरेका पनेरु विभिन्न निकायमा न्यायका लागि पुगिसकेका छन्। तर, आफ्नो कुरा कसैले नसुनेको उनको दुखेसो छ। जिल्ला प्रशासन र जिल्ला समन्वयमा समेत न्यायका लागि उनको निवेदन पुगेको छ।
दुवै ठाउँबाट सत्यतथ्य छानबिन गरि आवश्यक कारबाहीका लागि नगरपालिकालाई आग्रह गर्दा पनि काम नभएको उनी बताउँछन्। आफूभन्दा जुनियर कर्मचारी आफ्नो कार्यको अनुगमन गर्न आउँदा आत्मगलानी हुने उनको भनाइ छ।
पनेरुको जस्तै पीडा छ, चित्रा भट्टको। भट्ट उग्रतारा स्वास्थ्य चौकि पोखरामा कार्यरत छिन्। भट्टले पनि आफूमाथि अन्याय भएको बताएकी छन्। अमरगढी नगरपालिकाको स्वास्थ्य शाखामा तीन जनाको दरवन्दी छ। दुई जना पारामेडिक्स र एक जना नर्सिङ।
स्वास्थ्य शाखा नर्सिङ दरबन्दीमा आफ्नो पदस्थापना हुनुपर्नेमा त्यसो नगरेर भूमिराज स्वास्थ्य चौकिमा काजमा पठाएको उनी बताउँछिन्। त्यसपछि फेरि काजमा आफूलाई उग्रतारा स्वास्थ्य चौकिमा पठाएको उनको भनाइ छ। आफूमाथि अन्याय गरेर मनोबल गिराउने काम भएको उनको भनाइ छ।
अमरगढी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत उपाध्यायले विष्ट र भट्टको पदस्थापन आफूले गर्न नसक्ने बताएका छन्। पनेरु र भट्टले पुनारावेदन अदालत महेन्द्रनगरमा रिट समेत दायर गरेको छन्। अदालतलाई समेत प्रभावमा पर्ने काम अमरगढी नगरपालिका प्रमुख विशेश्वर प्रसाद ओझाले गरिरहेका उनीहरुको आरोप छ।