काठमाडौं- कोरोना संक्रमितको उपचार हुने विभिन्न अस्पतालमध्ये एक हो, टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल।
कुनै बेला यो अस्पतालमा कोरोनाका बिरामीले शय्या पाउन निकै मुश्किल हुन्थ्यो। शय्या पाउन कयौँ घण्टा र केही दिनसम्म अस्पतालको पेटीमा पर्खनुपर्थ्यो। बिरामीको भीडले अस्पताल नै भरिभराउ हुन्थे।
तर, हाल शुक्रराज अस्पतालमा अहिले यो समस्या घट्दो छ। अस्पतालको इमर्जेन्सी कक्ष अहिले खाली हुँदै गएका छन्। कोरोनाका बिरामीले सहजै शय्या पाउन थालेका छन्। देशभर कोरोना संक्रमितको संख्यामा कमी आउँदा शुक्रराज अस्पतालमा पनि बिरामीको चाप घट्न थालेको हो।
टेकुस्थित शुक्रराज अस्पतालको इमर्जेन्सीमा कोभिडका लागि ४० शय्या छुट्याइएको छ। तर, शुक्रबार मध्याह्नसम्म चार वटा शय्यामा मात्र कोभिडका बिरामी छन्। बाँकी ३६ शय्या खाली छन्।
इमर्जेन्सीमा आउने कोरोना संक्रमितको संख्या भदौबाट घट्न थालेको इमर्जेन्सी विभागका इन्चार्ज लीलानाथ भण्डारीले बताए।
उनले भने, ‘अहिले शुक्रराज अस्पतालमा बिरामीको चाप घटेको छ। साउनमा बिरामीको चाप थियो। तर भदौ लागेपछि घट्न थालेको छ।’
उनका अनुसार साउनमा इमर्जेन्सी मात्र कोरोनाका बिरामी दैनिक २० देखि ३० जना पुग्थे। हाल भने दैनिक १० जनाभन्दा पनि कम बिरामी अस्पताल आउने गरेको उनले बताए। कोभिड-१९ विरुद्धको खोप नलगाएका संक्रमितहरुमा कोरोनाले निम्त्याउने जटिलता बढी देखिएको उनले बताए। तर खोप लगाएकाहरुमा भने जटिलता देखिएको छैन।
‘खोप लगाएकाहरु पनि संक्रमित भएका छन्। तर उनीहरुमा कोरोनाले निम्त्याउने जटिलता भने कम छ। उनीहरुको अस्पताल बसाइ पनि कम छ। एक/दुई दिनमै डिस्चार्ज हुने गरेका छन्,’उनले भने।
हाल शुक्रराज अस्पताल भर्ना हुनेहरुमा अधिकांशजसो खोप नलगाएका र दोहोरिएर संक्रमित हुनेहरु बढी छन्। धेरै व्यक्तिहरुमा हाल एन्टिबडी बनेको र कोरोना खोपको कारणले पनि संक्रमितको संख्या घट्न थालेको भण्डारीको अनुमान छ। संक्रमित हुने व्यक्तिहरु युवा समूहका व्यक्तिहरु नै बढी छन्।
साउनमा संक्रमितको संख्या बढ्न थालेपछि शुक्रराज अस्पतालले बाहिरी भागमा १० शय्या थप गरेको थियो। इमर्जेन्सीमा रहेका ४० शय्यामध्ये १४ वटा शय्यामा मनिटरको व्यवस्था गरिएको छ। मनिटरको सहायताले बिरामीको श्वासप्रश्वास, अक्सिजन, रक्तचाप, तापक्रम र अवस्था थाहा पाउन सकिन्छ।