काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दशैं सहितका मुख्य चाडलाई लक्षित गरी विदेशबाट नेपाल आउने व्यक्तिको कोरोना (एन्टिजेन) परीक्षण गर्न आग्रह गरेको छ।
मन्त्रालयअन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले सबै प्रदेशका सामाजिक विकास एवम् स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, देशभरका सबै हेल्थ डेस्क, नगर तथा गाउँपालिका, स्वास्थ्य कार्यालय र स्वास्थ्य निर्देशनालाई पत्र लेख्दै सीमा नाका वा समुदायमा एन्टिजेन परीक्षणको व्यवस्था गर्न भनेको हो।
कोभिड-१९ महामारीको वर्तमान सन्दर्भमा जोखिम अवस्था कायमै रहेको र निकट भविष्यमा आउँदै गरेका चाडवाडहरुलाई समेत मध्यनजर गर्दै विदेशबाट नेपाल प्रवेश गर्ने यात्रुहरुको सकेसम्म सीमा नाकाका हेल्थ डेस्कहरुमै एन्टिजेन परीक्षण गर्न भनिएको छ।
यस्तै, सीमा नाकाका हेल्थ डेस्कमा छुटेकाहरुको समुदायमा तथा देश भित्रकै उच्च जोखिम क्षेत्रहरुबाट आएका यात्रुहरुको पनि समुदायमा एन्टिजेन परीक्षणको व्यवस्था मिलाउन पनि पत्रमा भनिएको छ।
महाशाखाका निर्देशक डा कृष्ण प्रसाद पौडेलले पठाएको पत्रमा एन्टिजेन परीक्षणबाट पोजेटिभ देखिएका केसहरुको उचित व्यवस्थापन गर्न पनि भनिएको छ।