पोखरा– पोखरा महानगरपालिका–३१ कि महिला स्वास्थ्य स्वयंसेविका मिना तिवारी केही समयअघि बेगनास ताल नजिकैको क्षेत्रमा स्थानीय नागरिकको रक्तचाप र रगतमा सुगरको मात्रा जाँच गरिरहेकी थिइन्।
स्वयंसेविका तिवारीले रक्तचाप, सुगर र शरीरको उचाइँ तथा तौल (बीएमआई– बडी मास इन्डेक्स) जाँच गर्ने तालिम लिएकी छिन्। उनीसँग यी तीन कुराको जाँच गर्न उपकरण तथा किट पनि छ। सोही अनुसार उनले आफ्नो क्षेत्रमा जोखिम समूहमा रहेका व्यक्तिहरूको पहिचान गरेर रक्तचाप, सुगर र बीएमआई जाँच गरिरहेकी थिइन्।
उनले जाँच गरिरहेको स्थानमा बेगनास तालमा डुंगा चलाउँदै आएका एक ६५ वर्षीय पुरुष आइपुगे। ती पुरुषले स्वंसेविका तिवारीसँग आग्रह गरे, ‘नानी मेरो पनि रक्तचाप र सुगर जाँचिदिनुहोस् न।’
उनको आग्रहपछि स्वंसेविका तिवारीले भनिन्, ‘बुबा सुगर जाँचका लागि किटको अभाव छ। म तपाईंको रक्तचाप चाहिँ जाँचिदिन्छु नि है।’
ती पुरुषले पनि सहमति जनाउँदै ‘हुन्छ’ भने।
स्वयंसेविका तिवारीले यसअघि पनि रक्तचाप र सुगर जाँच गरे/नगरेको विषयमा उनीसँग सोधपुछ गरिन्। ती पुरुषले अहिलेसम्म जाँच नगरेको बताए। केही समय आराम गरेपछि तिवारीले ती पुरुषको रक्तचाप जाँच गरिन्।
जाँचका क्रममा ती पुरुषमा माथिको रक्तचाप (सिस्टोलिक) २२० र तलको रक्ताचाप (डायस्टोलिक) १५० देखियो। रक्तचाप बढी देखिएपछि तिवारीले उनलाई नजिकै रहेको मेडिकलमा गएर पुनः जाँच गर्न सुझाव दिइन्। अनि, त्यहाँ जाँचका क्रममा कति देखिन्छ त्यो पनि लेखेर ल्याउन भनिन्। तिवारीकै सुझाव अनुसार ती पुरुषले त्यही नजिकै रहेको एक मेडिकलमा पुगेर रक्तचाप जाँच गरे। त्यहाँ पनि उनको रक्तचाप बढी देखियो। उनको रक्तचाप माथिको (सिस्टोलिक) १८० भन्दा माथि नै आएपछि तिवारीले उनलाई चिकित्सककहाँ जान सुझाव दिइन्।
‘उहाँले चिकित्सकको सल्लाह अनुसार नै सुझाव खान थाल्नु भएको छ,’ तिवारीले स्वास्थ्य खबरपत्रिकासँग भनिन्, ‘अहिले उहाँको रक्तचाप सामान्य अवस्थामा नै छ। औषधि भने खाइरहनु भएको छ।’
नेपाल विकास समाजबाट रक्तचाप, सुगर र बीएमआई जाँचका लागि तालिम लिएकी स्वयंसेविका तिवारीले पछिल्लो तीन वर्षमा धेरैको रक्तचाप जाँच गरिसकेकी छिन्। उनले सुगर जाँचका लागि उपलब्ध भएको ग्लुकोमिटरका आधारमा ८० जनाभन्दा बढीको सुगर जाँच गरिसकेकी छिन्। जाँचका क्रममा धेरैजनालाई समयमा नै सुगर र रक्तचापको समस्या पहिचान गरेर उचित सल्लाह दिन सफल भएकोमा उनी खुशी छिन्।
भन्छिन्, ‘स्वास्थ्य जाँच नै नगरी बसेका धेरै मानिसहरूको स्वास्थ्य अवस्था बारेमा जानकारी दिन सफल भएँ। तीमध्ये केहीको समयमा नै समस्या पहिचान भयो भने केही जोखिममा पर्न लागेको पत्ता लाग्यो। मैले तालिम लिएर धेरैको सेवा गर्न पाएकोमा खुशी छु।’
सुरुमा उनी स्थानीयको घरमा तथा मानिसहरू जम्मा हुने स्थानमा पुगेर रक्तचाप तथा सुगर जाँच गर्थिन्। अहिले स्थानीयहरू आफैं उनलाई खोज्दै रक्तचाप र सुगर जाँच गर्नुपर्यो भन्दै आउन थालेका छन्।
तिवारीले कोरोना संक्रमण फैलिएर लकडाउन हुनुभन्दा पहिला नजिकै रहेको एक मन्दिरमा पुगेर हरेक १५/१५ दिनमा वृद्धवृद्धाको रक्तचाप जाँच गर्थिन्। सुगरका लागि भने ग्लुकोमिटरको संख्या कम भएकाले उनले जोखिमको पहिचान गरेर नाम टिपाएकाहरूको मात्र जाँच गर्थिन्।
मन्दिरमा नै रक्तचाप नाप्ने क्रममा एक जना ७५ वर्षीया वृद्धाको १८०/१२० रक्तचाप समेत भेटिएको उनले सुनाइन्। ‘उहाँ मन्दिरमा सत्संगमा सहभागी हुनुहन्थ्यो। मैले जाँचका क्रममा रक्तचाप बढेको पाएपछि उहाँलाई तपाईंलाई रिंगटा लाग्ने केही भएको छैन? भनेर सोधेको थिएँ,’ तिवारीले भनिन्, ‘मैले सोधेपछि त उहाँले हो नि नानी बेला बेलामा त घँचेटेको घँचेट्यै गर्छ भन्नु भयो।’
उच्च रक्तचापको समस्या देखिएपछि तिवारीले ती वृद्धालाई चिकित्सककहाँ जना सल्लाह दिइन्। यसका साथै परिवारका सदस्यलाई पनि उक्त विषयमा जानकारी दिइन्। ‘अहिले त उहाँ औषधि खाइरहुन भएको रहेछ,’ तिवारीले भनिन्, ‘उहाँसँग बेला बेला भेटका क्रममा नानी तिमीले समयमा नै जाँचेर जानकारी दिएछौं। डाक्टरकहाँ गएर देखाएपछि अहिले त धेरै सन्चो भएको छ भन्नु भयो। उहाँको कुरा सुनेपछि निकै खुशी लाग्यो।’
तिवारीजस्तै पोखरा महानगर–२९ प्रगति टोलकी स्वयंसेविका भगवती कँडेल पनि स्थानीयको रक्तचाप, सुगर तथा बीएमआई नाप्न व्यस्त हुन्छिन्। २०७० सालदेखि स्वयंसेविकामा लागेकी उनले स्थानीयको रक्तचाप नाप्न थालेको चार वर्ष भएको छ। यसबीचमा उनले धेरैको रक्तचाप नाप गरिसकेकी छिन्।
‘अहिलेसम्म कति जनाको रक्तचाप नापेँ भनेर गनेको त छैन। तर, धेरै जनाको जाँच गरिसकेको छु,’ उनले भनिन्, ‘पहिला पहिला चाहिँ गनेर राखेको थिएँ। तर, अहिले सँधैजसो नाप्न आउने भएकाले गन्न छाडेको हुँ।’ सुरु–सुरुमा ४० वर्षभन्दा माथिका मानिसहरूको रक्तचाप नाप्ने गरेकी उनले पछिल्लो समय भने स्थानीयकै माग अनुसार २० वर्षभन्दा माथिका युवाको पनि नाप्न थालेकी छिन्।
उनले चार वर्षको अवधिमा रक्तचाप जाँचेका स्थानीयमध्ये सबैभन्दा बढी एक जनाको माथिको रक्तचाप २०० सम्म भेटेकी छिन्। रक्तचाप जाँचका लागि आएका सबैलाई उनले सामान्य मानिसमा हुनुपर्ने रक्तचाप माथिको १२० र तलको ८० हुनुपर्ने भन्दै जानकारी दिन्छिन्।
‘मेरो त टाउको भारी भएको छ, टाउको दुखेजस्तो भएको छ, कस्तो रिंगटा लागेजस्तो भएको कतै प्रेसर त बढेको होइन जाँचिदिनु न भन्दै आउँछन्,’ उनले भनिन्, ‘अनि, त्यसरी जाँच्न आएकालाई सामान्य अवस्थाको बारेमा जानकारी दिनुका साथै जाँचका क्रममा बढी देखिएकालाई चिकित्सककहाँ गएर फेरि जाँच गर्न सुझाव दिने गरेकी छु।’
एसएलसीसम्म अध्ययन गरेकी उनले सुगर पनि जाँच गर्छिन्। नेपाल विकास समाजले उनलाई सुगर जाँचका लागि ग्लुकोमिटर उपलब्ध गराएको छ। रक्तचाप जाँच गर्ने मेसिन पनि उनलाई समाजले नै उपलब्ध गराएको हो।
‘तालिम लिएका कारण यी जाँचहरू त मजाले गर्न सक्छु,’ उनले भनिन्, ‘मैले जाँचेर समयमा नै समस्या पहिचान भएकाहरू धेरैले रक्तचाप तथा सुगर नियन्त्रणमा राख्न सकेका छन्। धेरै जनाले समयमा नै पत्ता लगाएर गुण लगाउनु भयो नानी भनेर आशिर्वाद दिन्छन्।’
नगरपालिकाकै माच्छापुच्छ्रे टोलकी स्वयंसेविका शर्मिला नेपालले पनि धेरै जनाको रक्तचाप जाँच गरिसकेकी छिन्। उनले आफ्नो टोलमा रहेका १२० जनाको सुगर जाँच गरेकी छिन्। जाँचका क्रममा ७ जनामा सुगरको समस्या भेटिएको उनले जानकारी दिइन्। ‘धेरैको बोर्डर लाइनमा रहेको देखियो,’ उनले भनिन्, ‘७ जनाको भने सुगर नै बढी रहेको देखियो। उहाँहरूले पछि चिकित्सककहाँ गएर देखाएर औषधि तथा आवश्यक अन्य सतर्कता अपनाउनु भएको छ।’
१२ कक्षा उत्तीर्ण नेपालले स्थानीयले पाठेघर तथा थाइराइड पनि जाँच गर्दिनु आग्रह गर्ने गरेको बताउँछिन्। ‘सुगर र प्रेसर जस्तै पाठेघर र थाइराइड जाँचको पनि तालिम पाउने हो भने त हामीले जाँच गर्न सक्छौं,’ उनले भनिन्, ‘स्थानीय तहमै यसरी समयमा नै रोग तथा समस्याको पहिचान हुनु राम्रो कुरा हो।’
स्वयंसेविकाले स्वास्थ्य जाँच गरेर समयमा नै समस्या पहिचान गरिदिएकोमा स्थानीय पनि खुशी छन्। प्रगती टोलका ६५ वर्षीय प्रेमबहादुर पुनले तीन/तीन महिनामा स्वयंसेविकाले सुगर जाँच गर्ने गरेको जानकारी दिए।
‘स्वयंसेविकाले घर नजिकै आएर सुगर र रक्तचाप जाँचिदिनुहुन्छ,’ उनले भने, ‘उहाँले जाँच गर्दा समयमा नै आफ्नो शरीरको अवस्थाका बारेमा जान्न पाइएको छ।’ उनले आफ्नी श्रीमती मधुमेहको बिरामी भएकाले समय समयमा रगतमा सुगरको मात्रा जाँच गरिदिएर स्वयंसेविकाले राम्रो काम गरेको पनि जानकारी दिए।
५ हजार ४८७ जनाको सुगर परीक्षण
तिवारी, कँडेल र नेपालजस्तै पोखरा महानगरपालिकाका १६८ जना महिलाले मधुमेह र रक्तचाप जाँचको तालिम लिएका छन्। उनीहरूलाई नेपाल विकास समाजले तालिम दिएको हो। समाजले महानगरपालिकाको २६ देखि ३३ वडामा रहेका स्वयंसेविकालाई तालिम दिएको हो। तालिम दिएकामध्ये समाजले जोखिम मूल्यांकन अध्ययन गरेको समाजको मधुमेह व्यवस्थापन कार्यक्रमका कोअर्डिनेटर पवित्रबाबु सोतीले जानकारी दिए।
उनका अनुसार जोखिम मूल्यांकन अध्ययनमा भने तालिम लिएकामध्ये ९६ जना स्वयंसेविका मात्र खटाइएको थियो। मूल्यांकन फारम भर्न सक्ने र अध्ययन गरेका स्वयंसेविकालाई मात्र जोखिम मूल्यांकनका लाठी खटाइएको उनले जानकारी दिए।
‘आठवटै वडाको गरेर जोखिम मूल्यांकन अध्ययनपछि ५ हजार ४८७ जनाको सुगर परीक्षण गरिएको छ,’ उनले भने, ‘उनीहरूमध्ये दोस्रो पटक ५ हजार ८३ जनाको र तेस्रो पटक ४ हजार ८०३ जनाको सुगर परीक्षण भएको छ।’
सोतीका अनुसार समाजले मधुमेहको अवस्था पत्ता लगाउन छनोटमा परेका व्यक्तिको तीन पटक सुगर परीक्षण गरेर विवरण राखेको थियो। ग्लुकोमिटरबाट परीक्षण गरिएकामध्ये ३ सय जनाको एचबीएवानसी परीक्षण समेत गरिएको थियो। सो क्रममा १७ प्रतिशतमा मधुमेहको समस्या पहिचान भएको थियो।
‘स्वयंसेविकाले जाँच गर्दा केही स्थानीयले आफैं स्वास्थ्य संस्थामा गएर जाँच गरेर चिकित्सकको सल्लाह लिएका छन्,’ उनले भने, ‘केहीलाई हामीहरूले सिसुवामा रहेको अस्पतालमा लगेर निःशुल्क रुपमा रगतमा सुगरको मात्रा जाँच्न एचबीएवानसी परीक्षण समेत गरेका थियौँ।’
उनका अनुसार स्वयंसेविकाले जाँच गरिएका व्यक्तिको रक्तचाप, सुगर र तौलको विवरण एउटा फारममा भरेर संकलन गर्ने गरेका छन्। सो क्रममा स्वयंसेविकाले उनीहरूलाई सुझाव पनि दिने गरेका छन्। स्वयंसेविकाले दिने सुझावमा धूम्रपान र मद्यपान नगर्ने, नुन र चिनीको सेवन कम गर्ने, नियमित व्यायाम गर्ने, तनाव नलिने, चिल्लो बोसोयुक्त खानेकुरा नखाने, सागसब्जी र फलफूल धेरै खाने, समय समयमा रक्तचाप र सुगर जाँच गर्ने विषय हुन्छन्। यसका साथै सामान्य अवस्थाभन्दा बढी रक्तचाप र सुगर देखिएकालाई नजिकैको स्वास्थ्य संस्थामा अनिवार्य रुपमा जाने सुझाव पनि हुने छ।
समाजले सुरुमा उच्च रक्तचापको अवस्था पहिचान गर्न ‘नेपालमा उच्च रक्तचाप घटाउन समुदायमा आधारित पहिचान’ (कम्युनिटी बेस्ड इन्टरभेसन फर ब्लड प्रेसर रिडक्सन इन नेपाल–कोबिन) नामक कार्यक्रम चलाएको थियो। उक्त कार्यक्रममा समाजले महिला स्वास्थ्य स्वयंसेविकालाई तालिम दिएर रक्तचापको परीक्षण गरेको थियो। कार्यक्रममा स्वयंसेविकाले राम्रोसँग परीक्षण गर्न सकेपछि समाजले रक्तचाप जाँच गर्ने कार्यक्रमलाई ‘कोबिन–एच’ र मधुमेहको अवस्था पत्ता लगाउन गरिने जाँचलाई ‘कोबिन–डी’ भनेर नामाकरण गरेको हो।
शिक्षक र विद्यार्थीलाई पनि तालिम
सोही कार्यक्रम अन्तर्गत समाजले रक्तचाप र सुगरको जाँचसहित जनचेतना फैलाउने काम पनि गर्दै आइरहेको समाजकी कार्यकारी निर्देशक डा स्वेता कोइरालाले जानकारी दिइन्। उनका अनुसार जनचेतना फैलाउनका लागि यी कार्यक्रम अन्तर्गत विद्यालयका शिक्षकदेखि विद्यार्थीलाई समेत तालिम दिइएको छ। यसका साथै नसर्ने रोगका विषयमा जानकारी दिन पोष्टर, पम्प्लेट, क्यालेन्डर लगायतका प्रचार सामग्री समेत बनाएर वितरण गरिएको छ।
‘हामीले ४३ वटा विद्यालयका ४६ जना शिक्षक र पाँच हजार पाँच सय विद्यार्थीलाई समेत तालिम दिएका छौं,’ कार्यकारी निर्देशक कोइरालाले भनिन्, ‘शिक्षक र विद्यार्थीलाई सचेत गराउँदा अझ बढी प्रभावकारी हुन्छ भनेर विद्यालय लक्षित कार्यक्रम पनि गरेका हौँ।’
समाजका रिसर्च म्यानेजर कालिदास न्यौपाने तालिम लिएका स्वयंसेविकाले अहिलेसम्म गरेको कामको नतिजा हेर्दा सुगर र रक्तचाप जाँच गर्न सफल देखिएकाले यस्तो कार्यक्रम सरकारले नै देशव्यापी बनाउनु पर्ने सुझाव दिन्छन्।
‘हामीले गरेको कामको नतिजा हेर्दा समुदायमा नै मानिसहरूले आफूलाई रक्तचाप, सुगर तथा नसर्ने रोगको जोखिम रहे/नरहेको कुरा समयमा नै जानकारी पाएका छन्,’ उनले भने, ‘स्वायंसेविकाले जाँच गरेर समयमा नै पहिचान हुनसक्ने नसर्ने रोगको जोखिमबाट जोगाउन सकिने यस्तो कार्यक्रम सरकारले नै देशव्यापी बनाउन आवश्यक छ।’
यो कामले समाजमा धेरै सकारात्मक प्रभाव परेको छ
मिना तिवारी, महिला स्वास्थ्य स्वयंसेविका
नेपाल विकास समाजले तालिम दिएपछि पहिला रक्तचाप नाप्ने काम गरेको थिएँ। त्यसपछि रगतमा चिनीको मात्रा पनि हेर्न थालेको हो। रक्तचाप त धेरै जनाको हरिसकेको छु। १५/१५ दिनमा मन्दिरमा गएर वृद्धवृद्धाको नियमित जाँच गर्दै आएको छु। कोरोना संक्रमणका कारण केही समय मन्दिरमा गएर जाँच्ने काम रोकियो। मेरो घरमा नै नानी मेरो प्रेसर जाँच्नु पर्यो भन्दै पनि आउनु हुन्छ। सुगर पनि ८० जनाभन्दा बढीको जाँच गरेको छु। सुगर जाँच तीन/तीन महिनामा गर्ने गरेका छौं। एक जना व्यक्तिको तीन पटकसम्म सुगर हेर्ने गरेका छौं। जाँच गरेपछि तालिममा सिकेको कुराका आधारमा खानपान र जीवनशैली सुधार गर्न सुझाव पनि दिने गरेको छु। म डाक्टर, नर्स त होइन तर, मैले जानेको कुरा भनिदिँदा धेरै जनाको स्वास्थ्यमा सुधार आएको छ। यो कामले समाजमा धेरै सकारात्मक प्रभाव परेको छ। म एक्लैले यति गर्न सकेको छु भने यो कार्यक्रम त देशभर पुग्यो भने कति धेरै मानिसको स्वास्थ्यमा सुधार आउँथ्यो होला। प्रत्येक स्वयंसेविकालाई तालिम दिने हो भने त धेरै नागरिकले समयमा नै आफ्नो स्वास्थ्यबारे जानकारी पाउने थिए।
यो कार्यक्रम सहरी क्षेत्रमा मात्र नभई ग्रामिण भेगमा पनि पुर्याउन आवश्यक छ
दिनानाथ अधिकारी, सेवाग्राही, पोखरा महानगरपालिका– ३१, वेगनास ताल
आफ्नै टोलमा सुगर र रक्तचाप जाँच्न पाएको छु। म पहिलादेखि नै सुगरको बिरामी हो। सुगर तथा रक्तचाप जाँच गर्न मेडिकलमा टाढा जानु पर्ने थियो। तर, स्वयंसेविका दिदीले नै गर्ने भएपछि निकै सहज भएको छ। आफूलाई रक्तचाप वा सुगर बढेको जस्तो शंका लाग्यो भने खै दिदी जाँच गरौं त भन्न पाइएको छ। यो कार्यक्रम सहरी क्षेत्रमा मात्र नभई ग्रामिण भेगमा पनि पुर्याउन आवश्यक छ। गाउँमा समेत यो कार्यक्रम विस्तार हुने हो भने अझ बढी उपयुक्त हुने थियो।
जाँच गरेर हेर्दा मलाई पनि सुगर देखियो
पूजा विश्वकर्मा, सेवाग्राही
उमेर अनुसार मेरो तौल निकै बढी नै छ। म २८ वर्षको छु तर तौल भने ८३ केजी छ। मेरो घरमा अन्य सदस्यहरू सुगरको बिरामी भएकाले यसका बारेमा मलाई जानकारी त थियो। तर, अहिले नै भाइहाल्छ भन्ने चाहिँ थिएन। दिदीले मलाई तौल बढी छ जाँच गरौँ भनेर भन्नु भएको थियो। त्यही अनुसार जाँच गरेर हेर्दा मलाई पनि सुगर देखियो। अहिले त खाना र जीवनशैली परिवर्तन गरेको छु।
समयमा नै रोग पहिचान भएर ठूलो जोखिमबाट जोगाउन सकिन्छ
भगवती कँडेल, स्वयंसेविका
तालिम लिएपछि धेरै जनाको घरघरमा गएर जाँच गर्ने गरेको थिएँ। अहिले त धेरैजसो आफैं मेरो घरमा जाँच गर्नुपर्यो भन्दै आउनु हुन्छ। सुगर र रक्तचापको तालिम जस्तै सरकारले अन्य तालिम दिने हो भने पनि हामी काम गर्न सक्छौं। अक्सिजनको मात्रा जाँच्ने, ज्वरो जाँच्ने जस्ता तालिम र उपकरण दिने हो भने पनि हामी घरघरमा गएर सेवा दिने थियौँ। सरकारले हामीलाई थप केही तालिम दिएर रोग तथा समस्याको पहिचानमा खटाउने हो भने धेरै नेपालीको समयमा नै रोग पहिचान भएर ठूलो जोखिमबाट जोगाउन सकिन्छ।
अन्य विषयमा पनि तालिम दिने हो भने सेवा गर्न तयार छु
शर्मिला नेपाल, स्वयंसेविका
सुगर र रक्तचाप जाँच गर्न आएका स्थानीयहरू अहिले हामीसँग पाठेघर र थाइराइडको जाँच पनि गर्न पाए हुन्थ्यो भन्दै आउनु हुन्छ। सुगर र रक्तचाप त धेरैको जाँच गरिसकेको छु। अब अन्य विषयमा पनि तालिम दिने हो भने सेवा गर्न तयार छु। घर टोलमै जाँच हुने भएपछि स्थानीयले पनि रोग तथा समस्या नलुकाएर भन्नु हुँदोरहेछ।