जडिबुटीको गुणले भरिपूर्ण हो, च्वयनप्रास। रोग प्रतिरोधात्मक क्षमता बढाउन र शरीरका विकार तत्व बाहिर निकाल्न च्यवनप्रासको महत्वपूर्ण भूमिका हुन्छ।
च्यवनप्रास च्यवन नामका एक ऋषिबाट राखिएको हो। उहाँको स्वास्थ्य अवस्था नाजुक बन्दै गएपछि विभिन्न जडिबुटीहरु मिश्रण गरेर खुवाउँदा स्वस्थ र यौवन हुनु भएको इतिहास छ। त्यसैले च्यवन नामको ऋषिबाट नै च्यवनप्रास नाम राखिएको हो। च्यवनप्रासमा ४८ भन्दा बढी जडिबुटीको मिश्रण हुन्छ। यसको मुख्य जडिबुटी भनेको अमला हो।
आयुर्वेदिक हिसाबले च्यवनप्रासलाई रसायन भन्छौं। जसले शरीर भित्र प्रवेश गरेपछि शरीरभित्रका विकारहरु हटाउँछ। च्यवनप्रास मुख्य गरी भिटामिन (सी) को स्रोत भएपनि यसमा शरीरलाई आवश्यक पर्ने मिनरल्स तथा भिटामिनहरु उपलब्ध हुन्छन्। शरीरलाई आवश्यक पर्ने तत्वहरु च्यवनप्रासमा हुने भएकाले यसले रोग प्रतिरोधात्मक क्षमता पनि बढाउँछ।
शरीरलाई बलियो, स्वस्थ्य र आकर्षक बनाउन च्यवनप्रासको महत्वपूर्ण भूमिका हुन्छ। च्यवनप्रास खाने मानिसहरु छिटो बुढो हुँदैनन्। अर्थात बुढ्यौलीपनलाई पनि यसले कम गर्छ।
चिसो मौसममा च्यवनप्रासको महत्व
बढ्दो चिसो मौसममा च्यवनप्रासको महत्व झनै बढि छ। भिटामिन सी ले चिसो मौसममा छालाको सुरक्षा र रोग प्रतिरोधात्मक क्षमता बढाउन मुख्य भूमिका हुन्छ। चिसोमा श्वासप्रश्वास सम्बन्धी रोगको जोखिम पनि बढी हुन्छ। रुघाखोकी लगायत भाइरल संक्रमण हुँदा पनि त्यसविरुद्ध लड्न चाहिने शक्ति र तत्वहरु च्यनवप्रासमा हुन्छ।
डाबर च्यावनप्रासले केही समयअघि एक अध्ययन गरेको थियो। जसमा च्यावप्रासको सेवनले रोग प्रतिरोधात्मक क्षमता बढाएको पाएको थियो। त्यसैले उनीहरुले यसलाई ‘इम्युन बुस्टर’ भनेर पनि लेख्न थाले। नेपालमा पनि ‘इम्युन इनह्यान्सर’ भनेर लेख्ने गरिएको छ। कम्पनीको अध्ययन भन्दा पनि युगौदेखि आयुर्वेदमा उल्लेख गरिएको र विभिन्न अनुसन्धानले पनि यसलाई प्रमाणित गरिसकेको छ।
आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागले पनि कोरोनाकालमा रोग प्रतिरोधात्मक क्षमता बढाउन च्यवनप्रासको सेवनका लागि देशभर प्रोटोकाल मार्फत जारी गरेको थियो।
सबैले खान मिल्छ?
औषधि भन्ने बित्तिकै सबैले खान मिल्छ भन्ने हुँदैन। त्यसैले च्यवनप्रास बहुउपयोगी भएपनि सबैले खान मिल्दैन। केही विशेष अवस्था भएकाले च्यवनप्रास खान हुँदैन। मधुमेह रोग भएका बिरामीले खान मिल्दैन। किनभने यसमा सख्खर मिसाइएको हुन्छ। त्यसैले मधुमेहका बिरामीले सख्खर नभएको खानेकुराहरु खानुपर्छ। उच्च रक्तचाप औषधि सेवन गरिरहेका बिरामीले पनि खान हुँदैन।
च्यवनप्रास खान सुरु गर्नुअघि एक पटक चिकित्सकसँग परामर्श गर्नु राम्रो हुन्छ किनभने सबै व्यक्तिलाई एउटै मात्रा आवश्यक पर्छ भन्ने हुँदैन। विज्ञापनमा देखाए जसरी बिहान बेलुकी एक÷एक चम्चा सबैलाई खान उपयुक्त हुन्छ भन्ने हुँदैन।
कसरी खाने?
बालबालिका र वृद्धवृद्धाहरुले च्यवनप्रासको सेवन गर्दा एकदमै ध्यान दिनुपर्छ। सामान्यतया एक स्वस्थ व्यक्तिले च्यवनप्रास बिहान र साँझ खाली पेटमा दूधसँग मिसाएर खाँदा हुन्छ। दूध बाहेक यतिकै पनि खान पनि मिल्छ। धेरैजसोले साँझ खाना खाएको दुई घण्टापछि सुत्नुअघि खाने पनि गर्छन्। जुनसुकै माध्यमबाट जाँदा पनि यसले शरीरलाई नराम्रो र हानी गर्दैन।
अहिले बजारमा पाइने भिटामिनको नाममा धेरैले फूड सप्लीमेन्ट तथा भिटामिनहरु खाइरहेका छन्। दर्ता र स्वीकृत बिना बजारमा रहेका ती सप्लीमेन्ट तथा भिटामिनहरु खानु हुँदैन। यी फूड सप्लीमेन्ट र भिटामिनको सट्टा च्यवनप्रास खाँदा शरीरलाई धेरै फाइदा हुन्छ।
(नेपाल आयुर्वेद चिकित्सक संघका अध्यक्ष डा प्रकाश ज्ञवालीसँग स्वास्थ्यखबरकी कमला गुरुङले गरेको कुराकानीमा आधारित)