काठमाडौं- नेपालमा हाल नर्सिङ क्षेत्रमा दुई किसिमको दरबन्दी मात्र छ।
एक, ‘जनरल’
र, दोस्रो, ‘कम्युनिटी’
नेपालमा विशिष्टीकरण अनुसार नर्सिङ क्षेत्र छुट्याइएको छैन। त्यसैले टिका रावत जस्ता नर्सहरु पनि जनरल दरबन्दीमै सीमित भएका छन्।
टिका रावत मानसिक नर्स हुन्। उनले मानसिक नर्सिङको विषयमा स्नातोकोत्तरसम्मको अध्ययन पुरा गरेकी छिन्।
हाल उनी मानसिक अस्पताल लगनखेलमा निमित्त नर्सिङ प्रमुखको रुपमा कार्यरत छिन्।
मानसिक नर्सिङको अध्ययन पुरा गरेपनि उनको दरबन्दी जनरल नर्सिङ अन्तर्गत छ। नेपालमा विशिष्टीकरण अनुसार नर्सिङ क्षेत्र नछुट्याईदा उनले त्यही जनरल नर्सिङ दरबन्दी अन्तर्गत नै काम गर्नुपर्ने बाध्यता छ।
भन्छिन्, ‘मैले साइकियाट्रिक्स नर्सिङमा मास्टर गरें। तर मेरो लाइसेन्स जनरल नर्सिङ अन्तर्गत नै छ। मिडवाइफ्री नर्सिङमा मात्र स्पेशलाइजिङ गरिएको छ।’
चिकित्सकीय क्षेत्रमा जस्तै नर्सिङमा पनि क्षेत्र अनुसार नर्सिङ सेवाहरु दिन थालिएको छ। जस्तै, मेडिकल, सर्जिकल नर्सिङ, पेडियाट्रिक, कम्युनिटी, क्रिटिकल केयर नर्सिङ लगायत हुन्। तर बाहिरी मुलुकमा जस्तो नेपालमा यो अवधारणा धेरै विकसित भइनसकेको उनको अनुभव छ।
‘बाहिरी देशमा त हरेक रोगको नर्सिङ विशेषज्ञ हुन्छन्। क्यान्सर हेर्ने, ज्येष्ठ नागरिकका लागि छुट्टै नर्सहरु हुन्छन्। यतिसम्म की बिरामी हुँदा भेनमा क्यानुला राख्ने नर्स मात्र पनि हुन्छन्। तर नेपालमा यो अवधारणाको विकास भइसकेको छैन’ उनले भनिन्।
नेपाल नर्सिङ काउन्सिलसँग पनि मानसिक नर्सहरु कति छन् भन्ने यकिन तथ्यांक नभएको उनी बताउछिन्। तर देशभर साढे दुई सयदेखि पाँच सयको हाहारीमा मानसिक नर्सहरु हुन सक्ने उनको अनुमान छ।
होटल म्यानेजमेन्ट पढ्ने चाहना, भइन् नर्स
बर्दियाको मधुवन नगरपालिकामा जन्मिएकी रावत सानैदेखि पढाईमा अब्बल थिइन्। एसएलसीमा जिल्ला टप नै गरिन्। पिसिएल, ब्याचलर अफ नर्सिङ र मास्टरमा पनि उत्कृष्ट अंक ल्याउँदै अध्ययन पुरा गरिन्।
उनलाई नर्स बन्ने चाहना कहिल्यै थिएन। उनलाई होटल म्यानेजमेन्टमा रुचि थियो। होटल म्यानेजमेन्टको अध्ययनका लागि उनी भर्ना समेत भइन्। एक दिन उनको नजिकको दाईले उनलाई नर्सिङ अध्ययन गर्न सुझाव दिए। सुरुमा त उनी अन्यौलमा परिन्। तर ‘प्रयास गरौँ न के हुन्छ र ?’ भन्ने सोचले उनले पिसिएल नर्सिङ अध्ययनका लागि भर्ना भइन्। राम्रो अंक ल्याएर उनी उत्तीर्ण समेत भइन्।
उनले भनिन्, ‘म खासमा झुक्किएर नर्सिङ क्षेत्रमा आएको हो। मलाई पहिलेदेखि होटल म्यानेजमेन्टमा रुचि थियो। म भर्ना भएर करिब एक वर्ष समेत पढें। एक दिन मेरो नजिकको दाईले तिम्रो पढाई पनि राम्रो छ। नर्सिङमा प्रयास गर न भन्नु भयो। मैले पनि गरौँ न त भनेर मात्र गरें। राम्रो भयो।’
२०६५ सालबाट त्रिभुवन विश्वविद्यालय नर्सिङ क्याम्पस नेपालगञ्जबाट पढाउन सुरु गरिन्। करिब ६ वर्षसम्म अध्यापनको काम गरेकी उनले सेवा भने दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा नर्सिङ अधिकृतको रुपमाबाट सुरु गरिन्। त्यसपछि २०७७ सालमा उनले नरदेवी आयुर्वेदिक अस्पतालमा काम गरिन्।
आफ्नै क्षेत्रमा आउन ११ वर्ष लाग्यो
नर्सिङको अध्ययन गर्दै जाँदा उनलाई मानसिक विषयमा रुचि बढ्दै गयो। उनलाई मानसिक क्षेत्रमै काम गर्ने ठूलो इच्छा थियो। साइकियाट्रिक्स नर्स भएपनि उनले सबै किसिमको बिरामीलाई हेर्नुपथ्र्यो।
‘म साइकियाट्रिक्स नर्सिङ पढेपनि मलाई आफ्नै क्षेत्रमा आउन ११ वर्ष लाग्यो,’ उनले भनिन्, ‘पढाई एक तिर हुन्छ। अभ्यास अर्को तिर। म जस्तो धेरै नर्सहरु हुनु हुन्छ जो पढाई साइक्याइट्रिक्स नर्सिङ पढ्नु भएको छ तर काम अर्को क्षेत्रमा छ।’
नर्सिङ सेवा सुरु गर्दादेखि नै उनलाई मानसिक क्षेत्र र मानसिक रोगका बिरामीहरुलाई हेरचाह गर्न रुचि लाग्थ्यो। तर सुरुमै उनले ‘डेलिभरी इन्चाजर्’को रुपमा काम गर्नुपर्यो। यसले पनि उनलाई भित्र भित्रै मन पाल्थ्यो।
उनी भन्छिन्, ‘नर्सिङ पढियो। तर आफूले पढेको विषयमा काम गर्न नपाउने, यसले पनि मन पोल्दो रहेछ।’
नेपालमा साइकियाट्रिक्स नर्सिङ क्षेत्रमा कुनै पनि किसिमको अध्ययन/अनुसन्धान नभएको उनले बताइन्। पिएचडी पनि साइकियाट्रिक्स नर्सिङमै गर्ने उनको योजना छ।
मानसिक रोग अन्य रोग जस्तो बाहिर नदेखिने भएकाले पनि यो विषयमा रुचि जागेको उनी बताउछिन्। मानिसहरु अझै पनि विभिन्न कारणले मानसिक रोग लुकाउन बाध्य भएको उनको अनुभव छ। नेपालमा अझै पनि नर्सिङ पेशालाई उचित सम्मान नगरिएको उनको बुझाई छ।
‘अझै पनि मानसिक स्वास्थ्यको विषयलाई समुदायमा बुझाउन सकिएको छैन। धेरै बुझाई अहिले पनि गलत नै छ। त्यसैले पनि यसको विकास नभएको हुन सक्छ,’ उनले भनिन्।
नेपालमा मानसिक रोग बढिरहदा मानसिक विषय पढेका नर्सहरुको महत्व र आवश्यकता बढ्दै गएको उनले बताइन्। उनले थाहा पाए अनुसार साइकियाट्रिक्स नर्सिङ अध्ययन गरेका ९ जना नर्सहरु जनरल दरबन्दी अन्तर्गत रहेर काम गरिरहेका छन्।
उनले भनिन्, ‘स्पेशलाइजेशन चाहिन्छ भनेर पहिलो कुरा सरकारले नबुझेकै हो। र, दोस्रो कुरा स्वास्थ्य प्रणालीमा पनि योजना र कार्यान्वयन भएको हो। सरकारले साइकियाट्रिक्स नर्सिङमा पनि ध्यान दिनु आवश्यक छ।’