चितवन- चितवनस्थित भरतपुर अस्पतालमा ‘प्रदेश स्तरीय सरुवा रोग अस्पताल’ निर्माणको काम सुरु भएको छ। बागमती प्रदेश अन्तर्गत रहने गरी भरतपुर अस्पतालस्थित जग्गामा प्रदेश स्तरीय सरुवा रोग अस्पताल निर्माणको काम सुरु भएको हो।
आगामी दुई वर्षमा निर्माण कार्य सम्पन्न हुने गरी काम भइरहेको अस्पतालका निमित्त प्रमुख मेडिकल सुपरिटेन्डेण्ट प्राडा कृष्ण पौडेलले जानकारी दिए। सरुवा रोगको रोकथाम, नियन्त्रण, उपचार र व्यवस्थापनको तयारीसहित प्रत्येक प्रदेशमा ५० शय्याको प्रदेश स्तरीय सरुवा रोग अस्पताल निर्माण गर्ने सरकारको नीति छ।
सोही नीति अनुसार बागमती प्रदेश अन्तर्गत ५० शय्याको प्रदेश स्तरीय सरुवा रोग निर्माणको काम सुरु भएको हो। अस्पताल निर्माणका लागि सरकारले १८ करोड बजेट छुट्याएको उनले जानकारी दिए।
‘नेपालमा कोरोना महामारी सुरु भएपछि प्रत्येक प्रदेशमा एउटा सरुवा रोग अस्पताल बनाउने सरकारको नीति अनुसार बागमती प्रदेशको यहाँ परेको छ। फिल्ड क्लियर भइसक्यो। काम सुरु भएको १५ दिनजति भयो।’, उनले भने। सरुवा रोग अस्पताल बनेपछि कोभिड जस्ता सरुवा रोग र नसर्ने रोगको उपचार गर्न सहज हुने उनले बताए। उनले भने, ‘अहिले कोभिडका बिरामी बढ्ने बित्तिकै ननकोभिडका बिरामीले दुख पाए। सबै खाली गर्नुपर्यो। अब सरुवा रोग अस्पताल बनेपछि यो अवस्था आउँदैन। सर्ने र नसर्ने रोगका बिरामीको उपचार र व्यवस्थापन गर्न सहज हुन्छ।’
आगामी दिनमा आउन सक्ने महामारीसँग जुध्न पनि यसले सहयोग पुग्ने उनको अपेक्षा छ। यसअघि जग्गा विवादका कारण अस्पताल बनाउन केही ढिलाई भएको थियो। चितवन सहित मकवानपुर, नवलपरासी, गोरखा लगायत छिमेकी जिल्लाबाट समेत उपचारका लागि बिरामी आउने भएकाले सरकारले भरतपुर अस्पताललाई सरुवा रोग अस्पताल निर्माणका लागि छनोट गरेको थियो।