काठमाडौं - गत माघ ८ गते कोरोना संक्रमणदर ५० प्रतिशतसम्म पुगेको थियो। जुन नेपालमा ओमिक्रोन भेटिएपछि यताकै सबैभन्दा उच्च थियो।
हाल नेपालमा कोरोना संक्रमणदर एक प्रतिशत तल झरेको छ। गत २४ घण्टा ९ हजार ७१० जनाको परीक्षण हुँदा संक्रमणदर १ दशमलव १४ प्रतिशत मात्र छ। यो संख्या पुस महिना यताकै सबैभन्दा कम हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक केलाउँदा फागुनको ५ गतेदेखि नेपालमा कोरोना संक्रमणदर पाँच प्रतिशतभन्दा तल झर्न थालेको देखिन्छ।
स्वास्थ्य मन्त्रालय र विज्ञहरुले कोरोना संक्रमणदर पाँच प्रतिशतभन्दा कम भए मात्र संक्रमणको अवस्थालाई सामान्य मान्ने गरेको छ। शनिबार पनि ५ हजार १५२ जनाको परीक्षण हुँदा कोरोना संक्रमण दर ३ प्रतिशत मात्र थियो।
यसअघि शुक्रबार ८ हजार ६२८ जनाको परीक्षण हुँदा कोरोना संक्रमणदर ३ दशमलव १९ प्रतिशत थियो।
१२ गते संक्रमणदर ४ दशमलव ११, ११ गते ३ दशमलव ५९, १० गते ५ दशमलव ५, ९ गते ४ दशमलव ७७, ८ गते २ दशमलव ६७, ७ गते ४ दशमलव ९३, ६ गते ४ दशमलव ८१ र ५ गते ५ दशमलव ८२ प्रतिशत थियो। यद्यपि फागुनको सुरुवातदेखि नै संक्रमणदर १० प्रतिशतभन्दा कम भने थियो।
कोरोना संक्रमणको जोखिम कम हुँदै गएपनि जनस्वास्थ्यका मापदण्ड पालना गर्नुपर्नेमा सुक्ष्म जीवाणु विज्ञ डा सन्तोष दुलाल जोड दिन्छन्। लापबारही गर्दा कोरोनाको अर्को नयाँ भेरियन्ट आउने जोखिम सधै रहने उनले बताए।
‘यो भाइरस अप्रत्याशिल र परिवर्तनशील छ। त्यसैले भाइरसको अर्को परिवर्तित स्वरुप आएर पुनः संक्रमण फैलिने र महामारी हुँदैन भन्न सकिदैन। त्यसैले जनस्वास्थ्यका मापदण्ड अनुशासित भएर पालना गर्नुको विकल्प छैन’ उनले भने।
संक्रमणदर पूर्ण रुपमा शून्य भइसकेको छैन। त्यसैले भीडभाड, सभा, सम्मेलन हुने ठाउँमा जनस्वास्थ्यका मापदण्ड पालना गर्नुपर्ने उनले बताए। भाइरसले आफ्नो स्वरुप परिवर्तन गरिरहने भएकाले सधै सतर्क रहनुपर्ने उनले बताए।
‘अहिलेसम्म अल्फा, गामा, बिटा, डेल्टा, ओमिक्रोन लगायत भेरियन्ट देखिसकेका छौँ। भाइरस आफुलाई स्थापित गर्न आफ्नो स्वरुप परिवर्तन गरिरहन्छ।’ उनले भने, ‘त्यसैले यसले कसरी स्वरुप परिवर्तन गर्न सक्छ? कसरी जान्छ भनेर अनुमान गर्न कठीन छ।’